मन्दिरको भग्नावशेषमा मूर्ति फेला


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार १४, २०८०

  • काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेको छ । भेटिएको उक्त मूर्ति दुई फिट अग्लो छ ।

    उक्त मन्दिर क्षेत्रमा पुरातत्व विभागको टोलीले अनुगमन गर्दै भेटिएको मूर्तिसहित मन्दिर यथास्थानमा निर्माण गर्न निर्देशनसमेत दिएको छ । नगर कार्यालयले प्रशासनिक भवन निर्माणार्थ मनमती देवीकै मन्दिर हटाएर पुरातात्विक वस्तुसमेत नष्ट गर्न खोजेको जानकारी पाएपछि पुरातत्वविद्सहितको टोलीले बुधबार अनुगमन तथा अध्ययन गरेको हो । हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दीप खनाल, विभागका पुरातत्वविद् विष्णु पाठकलगायतको टोलीले अध्ययनका क्रममा नगरले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको पाइएको उल्लेख गर्नुभएको छ ।

    सत्तरी वर्षअघि निर्माण भएको उक्त मन्दिर भत्काउँदा जमिनमुनि भेटिएको उक्त मूर्ति प्राचीन रहेको पुरातत्वविद् पाठकले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक सम्पदालाई यथास्थानमै राख्न भनिएको छ ।

    यस्तै टोलीले अनुगमनका क्रममा करिब छ सय वर्ष पुरानो देवीको मूर्तिसमेत फेलापरेको थियो । उक्त मूर्ति पनि अहिले मन्दिर भएकै ठाउँमा राखिएको छ ।

    उक्त मन्दिर हाल निर्माण गरिएको नगरको भवनको उत्तरतर्फ रहेको थियो । वडाध्यक्ष विष्णुप्रसाद पौडेलले केही वर्षअघि नगर कार्यपालिकाले मन्दिर हटाउने निर्णय गरेकाले आफ्नो भूमिका नरहेको बताउनुभयो । नगरले मन्दिर बाहिर सार्न भत्काएपछि स्थानीयले विरोध गर्दै आएका छन् । केही दिनअघि स्थानीयको विरोधलाई तितरवितर पार्न सशस्त्र प्रहरी बलसमेत प्रयोग गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार