वडा कार्यालयद्वारा स्वास्थ्य शिविर सञ्चालन


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस २१, २०८०

  • सिरहा, २१ पुस : चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बिरामी पर्न थालेपछि सिरहाको गोलबजार नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

    स्थानीय निजी अस्पताल, चिकित्सक र औषधि कम्पनीसँग समन्वय गरेर स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष सकलदेव यादवले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा एक सय ४० बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको छ ।

    त्यसैगरी स्वास्थ्य शिविरमा दाँतका बिरामी तथा दमका रोगी ज्येष्ठ नागरिकको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । चिसोले बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुन थालेपछि त्यसबाट जोगाउन शिविर सञ्चालन गरिएको वडाध्यक्ष यादवले बताउनुभयो । उहाले भन्नुभयो, “नियमित बजेट र कार्यक्रम थिएन । तर पनि सहयोग जुटाएर शिविर आयोजना गरेको हुँ । यसबाट गरिब÷विपन्न नागरिकलाई लाभ पुगेको छ ।”

    स्वास्थ्य शिविरमा डा विनोद साह र डा सोनी गुप्ताले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा उपचार गराउन आउने बिरामीलाई रु ४० हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार