सोह्र वर्षदेखि मलेसियामा सम्पर्कविहीन


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २३, २०८०

  • झापा, २३ पुस : वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो ।

    “२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भन्नुभयो, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।” उहाँ मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा हुनुहुन्थ्यो । विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बस्नुभएको छ भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा हुनुहुन्छ । दुईजना बहिनी रुमा र लीलाको बिवाह भइसकेको छ ।

    विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै हुनुहुन्छ । “१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन”, उहाँले भन्नुभयो । सुकमायाले रु ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाडौँको मेनपावरबाट मलेसिया पठाएको बताउनुभयो । उहाँले मलेसिया गएपछि विनोदले रु ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप रु २० हजार पठाएको बताउनुभयो । आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताउनुभएको छ । त्यसबेला विनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले बताउनुभयो ।

    मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उहाँहरुको खाना खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताउनुभयो । अवधि पुगेर हरिचन्द्र स्वदेश फर्कनुभयो । विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया जानुभएको थियो भन्ने बारेमा उहाँका बुबा र आमाले बताउन सक्नुभएन । तर, मेनपावर कम्पनीसम्म पु¥याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार