थारू बहुल बस्तीमा माघी हर्षोल्लासपूर्व मनाइँदै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ १, २०८०

  • खजुरा (बाँके), १ माघ : थारू समुदायको मुख्यपर्व माघीका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा आइतबारदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ ।

    बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेसहित छिमेकी जिल्ला र भारतबाट भक्तजन यहाँ पुग्ने गरेका मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारूले जानकारी दिनुभयो । “यो मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको प्रचारप्रसारका लागि मेला आयोजना गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

    राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुवरभवानी मन्दिरको ऐतिहासिक महत्व रहेको भन्दै पुर्खौंदेखि लाग्दै आएको मेलाले यस क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक एवं धार्मिक धरोहर रहेको भन्दै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नाका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

    विसं २०१३ मा स्थापना भएको उक्त मन्दिरमा वर्षमा तीनपटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मेला आयोजक समितिले जनाएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति हुने गरेको छ ।

    माघी पर्वका अवसरमा थारू गाउँमा हर्षोल्लासका साथ मनोरञ्जनसँगै विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सहयोग पुग्ने थारू अगुवा बडघर केवलसिंह थारूले बताउनुभयो । उहाँका अनुसार थारू समुदायमा माघी पर्वको छुट्टै रौनकता छ । नयाँ वर्षका रुपमा लिइने माघीले थारू समुदाय तथा बस्ती उल्लासमय भएका छन् ।

    कञ्चनपुरका थारू गाउँमा माघीको रौनकता

    कञ्चनपुरका थारू गाउँमा माघी पर्वको रौनकता छाएको छ । रातभर आगोको धुनी जगाई डम्फु र मादलको तालमा नाचेका थारू समुदायले माघको पहिलो दिन आज बिहानै नदी, तालतलाउलगायत पानीका प्राकृतिक स्रोतमा नुहाएका छन् ।

    जाग्रामा नबसेकालाई गाउँका अरूले ‘माघ नहाई नदीया, तलवामे चलो रे’ भन्दै घरघरमा पुगेर उठाउँदै हुल बाँधेर नुहाउन नदीमा जाने प्रचलन रहेको स्थानीय रूपसिंह डगौँराले बताउनुभयो । “माघको पहिलो दिन बिहानै सामूहिक रुपमा नुहाउने चलन पुरानै हो”, उहाँले भन्नुभयो, “यसलाई जीवन्त राख्ने कार्यमा बूढापाकाहरु लागेका छन् ।”

    नदीमा कुलदेवतालाई स्मरण गर्दै दक्षिणा चढाएर पूजा गर्ने जनकलाल डगौँराले बताउनुभयो । उहाँका अनुसार नदी किनारमा गाउँका अगुवाले ढुङ्गाका देवता स्थापित गरेर पूजा गर्दछन् । “घरबाट लगिएको चामलको पीठोको टीका बनाई सबैले लगाउने गर्दछन्”, उहाँले भन्न्ुभयो, “पूजा सकेर ठूलाबडासँग आशीर्वाद लिने र सपरिवार मिलेर विभिन्न परिकार खाने परम्परा रहेको छ ।”

    गाउँगाउँमा नृत्य गर्दै सामूहिक रुपमा रमाउने गरिन्छ । नाच्नेहरुले आँखाको परेलाले पैसा उठाउने गर्दछन् । माघदेखि थारू समुदायको नयाँ वर्ष सुरु हुन्छ । यस अवसरमा नयाँ कार्यको थालनी गर्ने चलन थारू समुदायमा रहेको छ । माघ सुरु हुनुभन्दा अघिल्लो दिन घरका प्रमुखले सँुगुरको मासुको जोहो मिलाउने गर्दछन् । सुँगुर ढाल्ने कार्यलाई थारू समुदायले जिता मर्ना भन्ने गर्दछन् ।

    “हिजो बिहानै सुँगुर ढाल्यौँ”, स्थानीय रूपसिंहले भन्नुभयो, “दिनभर पकुवा बनाएर गाउँका अगुवासँग बसेर अन्तीको चामलबाट बनेको जाँड खायौँ ।” माघ लागेपछि कुनै पनि जनावरको बध गर्न नहुने जनविश्वासका कारण अघिल्लो दिन नै सुँगुर, कुखुरा, भेडा, बाख्रालगायत जनावर काट्ने तथा गच्छेअनुसार मासु खरिद गरी गर्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

    माघीमा आउने पाहुनाका लागि ढिक्री, सिन्की, खेरिया बनाउनाका साथै तरुल उसिनेर खाने गरिन्छ । कृष्णपुर नगरपालिका–२ बाणिका अस्पती चौधरीले आज बिहानदेखि पाहुना आउन थालेकाले विभिन्न खानाका परिकार बनाइएको बताउनुभयो ।

    रातभर धुनी जगाई मादल, डम्फुसँगै नाच्ने गाउने, खाने गरिएको छेदालाल डगौँराले बताउनुभयो । कोराना महामारीका कारण विगत तीन वर्षदेखि माघीलगायत चाडपर्व उल्लासपूर्वक मनाउन नपाइएको भन्दै यस वर्ष परम्परागत रुपमा माघी बनाइएको उहाँले बताउनुभयो ।

    डगौँराका अनुसार आज साँझ ढकियामा चामल, दाल, खुर्सानी, नुन सहित राखिएका निश्राउको पूजा गरी घरमा बनेका परिकार दिदीबहिनीलाई छुट्याएर राख्ने चलन छ । माघीमा भेटन नआएका दिदीबहिनीको घरमा पुगेर माघको कोेसेली दिने चलन रहेको उहाँले बताउनुभयो ।

    माघीका अवसरमा थारू समुदायले खोजनी बोझनीको कार्य पनि गर्दछन् । यस अवसरमा गाउँको नेतृत्व गर्ने वडघर, गुरुवा, केसौका, चौकीदारलगायत चुन्ने गरिन्छ । वडघरले गाउँमा विवाह, बाटोघाटो बनाउनेलगायत नयाँ कार्यको सुरुआत पनि गर्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार