प्रम कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ १५, २०८०

  • काठमाडौँ, १५ माघ : गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बन्न सफल भएको हो । यससँगै पुलिसले सातौँ खेलमा साताँै जित निकाल्दै दुई खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको छ । पुलिस १४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । पराजित गण्डकी भने आठ खेलमा चार अङ्क जोड्दै अङ्क तालिकाको आठौँ स्थानमा छ ।

    गण्डकी प्रदेशले प्रस्तुत गरेको एक सय ७१ रनको लक्ष्य पुलिसले २४ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । पुलिसको जितमा दिलिप नाथले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र चार छक्काको मद्दतले ५७ रन बनाएका हुन् । अर्जुन साउदले अविजित ४४ रन बनाउँदा आरिफ शेखले अविजित २७, कुशल भुर्तेलले २२ र शङ्कर रानाले १२ रन बनाए ।

    गण्डकीका लागि सन्दीप पराजुलीले दुई विकेट लिए भने कमल परियार र कप्तान विपिन खत्रीले समान एक÷एक विकेट लिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७० रनको योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनले ३९ बलमा आठ चौका र दुई छक्काको मद्दतले ५० रन जोडेका हुन् । यसैगरी किरण पंगेनी र कमल परियारले समान ३०÷३० रन बनाए भने समिर कँडेलले २९ र कृष ऐरले १० रन बनाए ।

    बलिङतर्फ पुलिसका राशिद खानले पाँच विकेट लिए भने करण केसी र ललितनारायण राजवंशीले समान दुई÷दुई विकेट झारे । कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार