छोरीहरू बाबुको काजकिरिया गर्दै !


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन ७, २०८०

  • काठमाडौं । छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई बल्खुका तीन दिदी–बहिनी सीता,रीता र ईभाले तोडेका छन् । बुबाको निधनपछि उनीहरू अन्तिम संस्कारका लागि घाटसम्म पुगेका थिए । आमासँगै तीन छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । उनीहरूले घाटमै पुगेर बाबुलाइ दागबत्ती दिएका थिए । रुढीबादी र गलत संस्कार तोड्दै आफूहरूले बाबुको किरिया गरिरहेको सीताले बताइन् ।

    छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो,’ उनले भनिन्, ‘उहाँका सन्तान हामी ४ जना थियौ भाइ वैदेशिक रोजगारको क्रममा बाहिर छ उसले घर आउने विदा पाएन । बुवाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै भाइ नभए हामी नै किरिया बस्ने निर्णय गरेका हौं ।’ बुवाको किरिया गरेर आफूहरूले पितृसत्तात्मक समाजलाई चुनौती दिएको रीताले बताइन् । ‘बाबुआमाका लागि सन्तान सधैं बराबर हुन्छन्,’ उनले भनिन्, ‘बुवाले हामीलाई छोरासरह माया गरेर हुर्काउनु भयो, त्यसैले छोरासरहकै जिम्मेवारी पूरा गर्न किरिया सुरु गरेका हौं ।’ बाबुको किरिया गर्न पाउँदा गर्व लागेको उनको भनाइ छ । समाज परिवर्तनशील भएकाले धार्मिक परम्परालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने उनले बताइन् ।

    सानु थापा २००९ सालमा जन्मिनु भएर हिमाल सिमेन्टमा काम गरी बल्खुमा स्थायी बसोबास गरिरहनु भएको पुरानो बासिन्दा हुनुहुन्छ । आफ्ना तीन छोरी सीता रिता र इभा, छोरा राजु थापा अनि श्रीमतीसँग खुसीसाथ जीवन बिताइरहेनु भएको थियो । यस कुमारी क्लबभित्र बसोवास गर्ने सानु थापा अंकल सबैसँग मिलनसार सहयोगी व्यक्ति हुनुहुन्थ्यो । केही समय देखि क्यान्सरको बिरामी भएर पाटन अस्पतालमा २०८० माघ २८ गते उहाँको निधन भयो । बुबा विरामी भए देखि उहाँहरुलाई हस्पिटल लाने ल्याउने देखि सम्पूर्ण काम दुई छोरीले नै गरेका थिए ।

    नेपाली समाजमा प्रायः छोराले नै आमाबुबाको काजकिरिया गर्ने चलन छ। छोरी भएर पनि बुवाको किरिया बस्दा सबैको सहयोग पाएको उनीहरूको भनाइ छ। दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार