‘अष्ट्रेलिया–नेपाल इकोनोमिक समिट’ आयोजना हुँदै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन २३, २०८१

  • अष्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सले ‘अष्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन’ आयोजना गर्ने भएको छ । डिसेम्बर २०२४ मा आयोजना हुने सम्मेलनले नेपालमा लगानीको अवसर र त्यसका प्रक्रियाबारे अष्ट्रेलियन लगानीकर्तालाई जानकारी गराइनेछ ।

    आयोजक संस्था अष्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलका अनुसार नेपालमा विदेशी लगानीको अवसर र विदेशी लगानी भित्र्याउन हाल देखिएका समस्या समाधानका उपाय पहिल्याने विषयमा सम्मेलनमा बृहत् छलफल हुनेछ । सिड्नीमा आयोजना हुने सम्मेलनमा अष्ट्रेलियन उद्योगी व्यवसायीहरुका माझमा नेपालमा लगानीको अवसर, लगानीका क्षेत्र र प्रतिफलका सम्बन्धमा छलफल हुने अध्यक्ष खरेलको भनाइ छ ।

    उनका अनुसार सम्मेलनमा अष्ट्रेलियाका अर्थमन्त्री र त्यहाँको केन्द्रीय बैंकका प्रतिनिधिसहित नेपालबाट अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनर सहभागी हुनेछन् । नेपालबाट निजी क्षेत्रको समेत सहभागीता सुनिश्चित गर्न उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलाई औपचारिक रुपमा निमन्त्रणा पठाइने अध्यक्ष खरेलले बिजनेश पानालाई जानकारी दिएका छन् । सँगै, लगानी बोर्डबाट समेत प्रतिनिधित्व हुने आयोजकको भनाइ छ ।

    ‘समग्रमा दुइ देशका उद्योगी व्यवसायीसहित दुइ देशका सरकारका अधिकारीहरुसमेत सहभागी गराउने र नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने विषयमा सम्मेलनमा केन्द्रित हुनेछ’ अध्यक्ष खरेलले भने, ‘दुइ देशकै उद्योग वाणिज्य क्षेत्रका व्यक्तित्वहरुबीच बृहत् छलफल हुनेछ ।’

    उनका अनुसार सम्मेलनकै क्रममा आयोजकले एउटा अष्ट्रेलियाली स्टार्ट अप कम्पनीलाई सम्मान पनि गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट