
काठमाडौँ । एमएस नेपाल २०२४ कि विजेता रेश्मा घिमिरेले घरेलु हिंसाविरुद्ध जनचेतना जगाउने अभियान सूरु गरेकी छिन् । शिक्षण पेशामा आवद्ध रेश्माले मीनभवनस्थित एनके सिंह मेमोरियल इंगलिश प्रिपेरेटोरी सेकेन्डरी स्कुल (इपीएस) स्कुलमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै यस अभियानलाई निरन्तरता दिने बताईन् ।
‘घरेलु हिंसा के हो र किन यसलाई न्युनिकरण गर्नुपर्छ भन्ने आवाज उठाएरै म एमएस नेपालको विजेता भएको हो ।’ रेश्माले भनिन्, ‘आगामि दिनमा पनि जनचेतनामुलक यस्ता अभियानलाई निरन्तरता दिनेछु ।’ घरेलु हिंसा महिलालाई मात्र नभई पुरुषहरुमाथि पनि हुने गरेको उनले बताईन् । घर वा स्कुलमा वालवालिकाहरुलाई घरेलु हिंसाबारे ज्ञान दिनुपर्नेमा रेश्माले जोड दिईन् । यदि वालवालिकाहरु समयमै सचेत हुने हो भने समाजमा भईरहेका नकारात्मक र दुखद घटनाहरुमा कमी आउने उनले विश्वास व्यक्त गरिन् ।
जनचेतनाका कार्यक्रमहरु स्कुलदेखी नै गरिनुपर्ने बताउँछिन्, मिसेज नेपाल वल्र्ड २०२४ कि विजेता डाक्टर डेनिला कार्की । ‘सानो उमेरदेखी नै घरेलु हिंसाबारे सिकाउने हो भने प्रभावकारी हुन्छ ।’ कार्कीले भनिन्, ‘ग्रामिण क्षेत्रमा अझै जनचेतना जगाउनुपर्छ । कानुन पनि बलियो बनाउनुपर्छ ।’ महिलाहरुले आफ्ना लागि आफै आवाज उठाउन उनले जोड दिईन् ।
मीनभवनस्थित इपीएस स्कुलका विद्यार्थीहरुले घरेलु हिंसा अन्त्यका लागि आ–आफ्नो मन्तब्य दिएका थिए । यस्तै घरेलु हिंसाका घटनाहरु न्युनिकरण गर्न बिभिन्न प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो ।


