काठमाडौँ । हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल चुनिएका छन् । शनिबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा हेल्प नेपालले अस्ट्रेलियालाई कर्मथलो बनाएका खरेललाई ग्लोबल कोर्डिनेटरमा छनौट गरेको घोषणा गरेको हो । इन्नोभेटिभ एशोसियट्सका सिईओ तथा प्रिन्सिपल खरेल अस्ट्रेलियामा एकाउन्टेन्ट र लेक्चररको पेशामा सक्रिय छन् ।
शनिबार वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतको प्रमुख आतिथ्यमा हेल्प नेपाल नेटवर्कले २५ औँ वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भगवान कोइराला, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, सुशीला (रुपा) केसी तथा अटिजम भएका बालबालिकाको सेवामा समर्पित सविता उप्रेतीलाई अभिनन्दन गरिएको थियो । साथै संस्थाको स्थापनाकालदेखि सघाउने व्यक्तिहरूलाई सम्मानिएको थियो ।
‘हामी व्यवहारिक र परोपकारी व्यक्ति बनौं ।’ ग्लोबल कोर्डिनेटरमा नियुक्त भएका दिला खरेलले भने, ‘म युवा अवस्थामै हेल्प नेपालमा जोडिएको हो । जीवनभर यहि संस्थाको सेवा गर्न चाहन्छु ।’ उनले संस्थाले आगामि दिनमा १० करोड रुपैंयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेको बताए ।
हेल्प नेपाल नेटवर्क नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आईरहेको कल्याणकारी संस्था हो । सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन बढी मुलुकमा शाखा छन् । “मातृभूमिका लागि महिनामा एक पाउण्ड” भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्क स्थापना गरिएको थियो ।
नेटवर्कले नेपालका एक सय बढी स्कुलहरूमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ–लाइब्रेरी स्थापना गर्नुकासाथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ ।