सबैलाई धन्यवाद – समिरा शिवाकोटी


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ७, २०७५

  • मेरो छोटो लुगा देख्दा, गिद्दे नजर लाउने, पुरुषलाई धन्यवाद,
    जसले गर्दा, आज लाज, ढाक्न सिकेकी छु
    मैले प्याच्च बोल्दा,आँखा तर्ने, पन्च भलाद्मीलाई धन्यवाद,
    जसले गर्दा, शब्दको वजनले, समाजमा बिकेकी छु !!

    सानू छदा कक्षामा, क्याप्टेन बन्छु भन्दा, नपत्याउने गुरुलाई धन्यवाद,
    जसले गर्दा, आज नेतृत्व जान्दै छु !
    हात उठाउदा नगन्ने, सामाजिक अगुवालाई धन्यवाद,
    जसले गर्दा, त्यहीँ समाजको योजना छान्दै छु !!

    निर्मलालाई न्याय नदिने, मेरो सरकारलाई धन्यवाद,
    जसले गर्दा आज त्यसको आलोचना गर्न पाएका छौं !
    नेपाली चेली बेच्ने ती,  दलाललाई धन्यवाद,
    जसले गर्दा, नारी हितको जुलुसमा अघि, सर्न पाएका छौं !

    श्रीमतीले खाना ढिला बनाइन् भन्ने बाहनाकर्तालाई धन्यवाद,
    जसले गर्दा, नारी (पुरुष बराबर हैनन्, भन्ने मानेकी छु !
    नारी बोल्दा, ‘पोथी बासेको’ भन्ने, भालेहरुलाई धन्यवाद,
    जसले गर्दा, पोथी बास्नुको, महत्त्व जानेकी छु !

    म कतै निस्कदा प्रश्न गर्ने, मेरो समाजलाई धन्यवाद,
    जसले गर्दा, आज एक्लै कतै, जाने भएकी छु !
    यतिन्जेल मलाई सुनिदिनुहुने, सम्पुर्णलाई धन्यवाद,
    जसले गर्दा, ओझेल पर्दै ताली, खाने भएकी छु !!

    प्रतिक्रिया
    सम्बन्धित समाचार