बारा-पर्सामा हावाहुरीबाट क्षति: गुडीरहेको गाडी समेत पल्टाईदिएको थियो


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र १८, २०७५

  • काठमाडौं, चैत १८ ।  सरकारले बारा र पर्साका हावाहुरीबाट प्रभावित मानिसहरुको उध्दारमा कमी हुन नदिन सबै सुरक्षा अंगलाई परिचालन गरेको जनाएको छ । उद्धार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको र मौसमले साथ दिनेबित्तिकै तत्काल उद्धारमा खट्न पनि निर्देशन दिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बारा र पर्सामा आएको  सरकारले सबै का कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

    २७ मृत्यु ४०० घाईते

    पछिल्लो जानकारी अनुसार, बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा ४०० भन्दा बढी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तर रगतको अभाव भैरहेको बुझिएको छ ।

    प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीका अनुसार बारामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । दुवै जिल्लामा गरी २७ जनाको निधन भएको जानकारी आएको छ । सुवेदीले ४०० भन्दा बढी घाइते भएका र गाउँगाउँबाट विवरण आउन बाँकी रहेको बताए।

    पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका सबै एम्बुलेन्स उद्धारका लागि गाउँगाउँमा पठाई सुरक्षाकर्मी परिचालन गरिएको छ । यस आपत्कालीन अवस्थामा घाइतेको उपचारमा कुनै कमी नहोस् भनी निर्देशन दिइएको उनले बताए।

    हावाहुरीले स्थानीय गण्डक चोकमा यात्रु सवार गाडीलाई नै पल्टाइदिएको थियो । सडकमा गुडिरहेका हलुका सवारी साधन र मोटरसाइकलले अनियन्त्रित भएका थिए ।

     मृत्यु हुनेमा प्रायः भारतीय मजदुर रहेका तथा उनीहरूको परिचय खुल्न नसकेको बताईएको छ । कलैया उपमहानगरपालिका–१२ स्थित इँट्टा उद्योगका धुवाँ फाल्ने चिम्नी भत्किँदा धेरै मजदुर घाइते भएको छन् ।

    घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको बाराका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।
    राति हावासँगै आएको असिनापानीले जिल्लाको पुरैनिया, परशुरामपुर, भरवलिया, पतौरा, मझौलिया, तेलगाई लगायतका स्थानमा धेरै क्षति भएको   छ ।  (तस्बिरहरू अन्नपुर्ण पोष्टबाट साभार)

    प्रतिक्रिया
    सम्बन्धित समाचार