ऋचा शर्माको स्पष्टिकरण


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस १३, २०७४

  • म एक कलाकार, निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा विचार दिन पाउछु । दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान् मान्छौ । मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मूर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिंसाको विषयलाई हास्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो विचार राख्न किन्चित डग्मगाउने छैन चाहे संसारले नै मलाई बिरामी सावित गरोस्। सिनेमामा आफूलाई मन लागेको देखाउन पाइन्छ तर त्यसप्रति बिभिन्न धारणा आउछन्, तर मेकरले त्यसलाई पचाउन सक्नुपर्छ ।

    कलाका हरेक क्षेत्रमा सर्जकहरु आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन् । दर्शकहरु नै हुन्, जस्ले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन् । कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।

    म कलाकार हु, दर्शक हु तर सबैभन्दा म एक महिला हु । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउन सकिन भनेकी हु । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खादैनन् । यदि महिला हिंसामाथि बनेको फिल्म भए, ठिकै थियो ।

    तर, यो त कमेडी सिनेमा हो । र, यहि कुरा मैले एकादेश फिल्म फेस्टिभलमा चलचित्रमा महिलाको भूमिका शिर्षकको अन्तरक्रियामा दर्शकले सोधेको प्रश्नमा यो कुरा बोलेकी थिए । र, मैले बोल्दा त्यो सिनेमा हेरेर ताली बजाउने दर्शक मूर्ख हुन् पनि भनेकी थिइन । तपाईहरु भिडियो पनि हेर्न सक्नुहुन्छ। सार्वजनिक भएको भिडियोमा मैले दर्शकलाई मुर्ख भनेको कतै सुनिन्छ भने दर्शकले नै मलाई प्रश्न गरुन् ।
    मैले त आफूलाई लागेको कुरा बोलेकी थिए ।

    र, आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउनु मेरो अधिकार पनि हो । सर्जक सधैं महान हुदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउने चलन छ । टेलिभिजनका हरेक प्रोगाममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने म्यासेज पनि आइरहन्छ । फिल्म मेकरले यस्ता कुरामा ध्यान पुर्याउनुपर्छ ।

    र, कहिलेकाही आफूलाई सच्चाउनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउनु होइन । भाइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि, उसको जग बलियो हुदैन । म मा पनि धेरै कमजोरी छन् । र म सुन्छु, आफ्नो कमजोरी अङ्गाल्छु, सच्याउछु, अनि राम्रो बन्ने प्रयास जीवनभर गरिरह्न्छु।
    धन्यबाद

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट