अमेरिकामा चिनियाँ एपको लोकप्रियता…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख १७, २०७६

  • काठमाडौं, १७ वैशाख ।     पछिल्ला केही वर्षयता अमेरिकामा चिनियाँ प्रविधि कम्पनीले विकास गरेका मोबाइल एपको लोकप्रियता बढ्दो छ । अमेरिकी उपभोक्तामाझ टिकटक लगायत चिनियाँ एप लोकप्रिय बनिरहेका छन् । यसले घरेलु बजार र एशियाबाहेक अन्यत्र चिनियाँ कम्पनीको विस्तार कसरी भइरहेको छ भन्ने उजागर गरेको छ ।

    बजार अनुसन्धाता संस्था सेन्सर टावरले संकलन गरेको तथ्यांकअनुसार सन् २०१९ को पहिलो त्रैमासमा चिनियाँ कम्पनीले विकास गरेका एपले अमेरिकामा ६७ करोड ४८ लाख डलर आम्दानी गरेका छन् । सेन्सर टावरले एपको आम्दानी र एप्पलको एपस्टोर तथा गूगलको प्लेस्टोरमा डाउनलोडका आधारमा सर्वाधिक ठूला सय एपको कुल विक्रीको तथ्यांक मात्रै लिएको थियो । आम्दानीको यो आकार गतवर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशत धेरै हो ।

    दुई देशबीच व्यापारयुद्ध चलिरहेको भए पनि चिनियाँ प्रविधि कम्पनीहरू अमेरिकामा आनो व्यापार विस्तार गर्न सफल भइरहेका छन् । जनवरी–मार्च महीनामा फेसबुकको म्यासेन्जर र कलर बम्प थ्रीडी नामक गेमपछि टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । टिकटक चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको एप हो ।

    अमेरिकी उपभोक्ताहरूको माग बुझेर सोहीअनुरूप एप विकास गर्न चिनियाँ कम्पनीहरू सफल भइरहेका छन् । त्यसको राम्रो उदाहरण बनेको छ टिकटक र पब्जी मोबाइल गेम । पब्जी मोबाइल बजार पूँजीकरणका आधारमा चीनको सबैभन्दा ठूलो कम्पनी टेनसेन्टले विकास गरेको हो । अधिकांश प्रयोगकर्ताले यी एप चिनियाँ कम्पनीले बनाएको होे भन्ने थाहा नभई नै प्रयोग गरिरहेका छन् । चिनियाँ प्रविधि कम्पनी योजनाबद्ध रूपमा नै अमेरिकाको व्यापारमा विस्तारमा लागेको विज्ञहरूको भनाइ छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार