‘बालोन डि‘ओरको दाबेदार मेस्सी होइनन्, रोनाल्डो हुन्’ : काहिल


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ २९, २०७६

  • काठमाडौं, जेठ २९ ।   करिअरमा दोस्रोपटक अन्तर्राष्ट्रिय उपाधि जितेपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सन् २०१९ को बालोन डि‘ओर अवार्डका लागि सबैभन्दा प्रमुख दाबेदार बनेको अस्ट्रेलियन खेलाडी टिम काहिलले बताएका छन् । गत राति आफ्नो घरमा भएको फाइनल खेलमा पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै नेसन्स लिगको पहिलो संस्करणको उपाधि जितेको थियो ।

    पोर्चुगललाई उपाधि जिताउन उच्च प्रदर्शन गरेका रोनाल्डोले कूल ३ गोलहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता खेलाडीको अवार्डसमेत जिते ।

    रोनाल्डोले करिअरमा दोस्रोपटक युरोपको दोस्रो ठूलो उपाधि जितेपछि अब बालोन डि‘ओरमा उनी सबैभन्दा अगाडि आएको काहिलले बताएका छन् ।

    ‘मेरो विचारमा कति मानिस सहमत नहुन सक्छन् । यो अर्कै कुरा हो । तर, रियल मड्रिड छाडेर युभेन्टस गएपछि रोनाल्डोले सिरी ‘ए’ लिग जिते, सिजनको उत्कृष्ट खेलाडी बने । सुपर कोपा इटालिया पनि जिते,’ काहिलले भने, ‘तर, मेस्सी बार्सिलोनामै रहेर मात्रै ला लिगा जिते । यो धेरै ठूलो फरक हो । फरक लिगबाट रोनाल्डोले पाएको सफलता सामान्य छैन ।’

    काहिलले नेसन्स लिग जितेपछि रोनाल्डोले बालोन डि‘ओर जित्न पर्याप्त गरिसकेको बताए । ‘रोनाल्डोले करिअरमा दोस्रो अन्तर्राष्ट्रिय ट्रफीसहित क्लबबाट दुई महत्त्वपूर्ण ट्रफी जिते, उनले ३० भन्दा बढी गोल गरेका छन् । बालोन डि‘ओर जित्न योभन्दा बढी के चाहिन्छ ?,’ काहिलले भने ।

    काहिलले रोनाल्डो अब बार्सिलोनाका मेस्सीभन्दा प्रमुख दाबेदार रहेको बताए । ‘हालको अवस्थामा रोनाल्डो मेस्सीभन्दा धेरै अगाडि पुगिसके । अब यदि मेस्सीले अर्जेन्टिनाबाट कोपा अमेरिका जित्न सकेनन् भने बालोन डि‘ओर रोनाल्डोले जित्छन्, यसमा कुनै शंका छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार