ब्राजिल भर्सेस अर्जेन्टिना : के अर्जेन्टिना फाइनलमा पुग्ला त ?


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार १७, २०७६

  • काठमाडौं । असार १७ ।  कोपा अमेरिकामा अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेका छैनन्। उनले अहिलेसम्म १ गोल गरेका छन् त्यो पनि पेनाल्टीमार्फत। ब्राजिलका डिफेन्डर थियागो सिल्भा भने मेसीले आफ्नो शक्ति बुधबार ब्राजिलविरुद्धको खेलका लागि संचय गरेको हुन सक्ने बताउँछन्।

    दक्षिण अमेरिकाका चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिना र ब्राजिलबीच बुधबार विहान सवा ६ बजे फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ। ‘मेसी विश्वकै उत्कृष्ट खेलाडी हुन्। उनले जतिबेला पनि विपक्षीलाई दबाब दिन सक्छन्’, फ्रेञ्च क्लब सेन्ट पेरिस जर्मेनका डिफेन्डर सिल्भाको भनाइ छ।

    अर्जेन्टिना कोपा अमेरिकाको पछिल्लो पाँच मध्ये चार संस्करणको फाइनलमा पुगेको छ। तर एक पटक पनि उपाधि जित्न सकेको छैन। अर्जेन्टिना सन् १९९३ यता उपाधिविहीन छ।

    पटक-पटक चुकिरहेको अर्जेन्टिनालाई बुधबार घरेलु टिम ब्राजिलविरुद्ध खेल्न सहज हुनेछैन। किनकी अर्जेन्टिनाले सुरुवाती २ खेलमा जित निकाल्न सकेको थिएन। अर्को तर्फ ब्राजिल लयमा छ भने उसलाई घरेलु मैदानको फाइदा छ।

    पहिलो खेलमा कोलम्बियासँग २-० ले पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेसँग १-१ को बराबरी खेलेको थियो। सो खेलमा मेसीले पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए।

    समूहको अन्तिम खेलमा कतारलाई २-० ले हराएपछि अर्जेन्टिनाको अन्तिम ८ मा स्थान पक्का भएको थियो। क्वार्टरफाइनलमा भेनेजुएलाविरुद्ध २-० को जित निकाल्दै अर्जेन्टिना अन्तिम चारमा पुग्यो। ३२ वर्षीय मेसीले भेनेजएलाविरुद्धको खेलमा तीन प्रहार गरेका थिए। तर तीनै प्रहार पोस्टमा थिएनन्।

    आफूले सोचेअनुरुप खेल्न नसकेको मेसी स्वीकार गर्छन्। ‘कोपामा मैले राम्रो खेल्न नसकेको कुरा सत्य हो,’ स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड मेसीले भने। बार्सिलोनाका लागि दर्जनौ उपाधि जितिसकेका मेसीले देशका लागि भने अझै उपाधि जित्न सकेका छैनन्।

    उनी भन्छन्, ‘हामी केहि नयाँ तरिकाले खेल्न चाहान्छौं। तर हामीलाई फरक कुरा देखाउन कठीन परिरहेको छ। हामी मैदानमा त्यसै अलमलिएका हुन्छौ।’

    यता ब्राजिल पनि २००७ पछि कोपा अमेरिकाको उपाधि जित्ने लक्ष्यमा छ। १२ वर्षपछि उपाधि जित्नका लागि बुधबार मेसीलाई रोक्नु पर्ने डिफेन्डर सिल्भाको भनाइ छ। ‘हामीसँग बल भएको बेला वा नभएको बेला विशेषगरी मेसीमा केन्द्रीत हुनुपर्छ,’ सिल्भाले भने।

    सिल्भाका अनुसार प्रत्येक क्षण मेसीबाट विपक्षी खेलाडीलाई डर हुनेछ। ‘उनी जतिबेला पनि मौका खोजिरहेका हुन्छन्,’ सिल्भा भन्छन्, ‘मेसी जस्ता उत्कृष्ट खेलाडीविरुद्ध खेल्न पाउनु खुसीको कुरा हो। हामी उनलाई रोक्न प्रयास गर्नेछौं।’

    ब्राजिल र अर्जेन्टिनाबीच विजयी हुने टिमले आगामी आइतबार हुने फाइनलमा स्थान पक्का गर्नेछ। फाइनल प्रवेशका लागि बिहीबार साविक विजेता चिली र पेरीबीच दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार