युभेन्टस जादै नेमार….


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, साउन २, २०७६

  • काठमाडौं । साउन २ ।  विवादको घेरामा पर्दै क्लब फुटबलको भविष्य नै अन्यौल देखिएका ब्राजिलियन स्टार नेमार युभेन्टस जाने चर्चा चलेको छ । यसअघि पेरिस सेन्ट–जर्मेन (पीएसजी) छोड्दै बार्सिलोना जाने इच्छा देखाएपनी उक्त स्थानान्तरणको सम्भावना पातलिएसँगै नेमारले युभेन्टस जान खोजेको खबर बाहिरिएको छ ।

    नेमारले केहिदिन अघि पीएसजीका खेल प्रमुख लियोनार्दोसँगको भेटघाटमा आफुले क्लब छोड्न चाहेको बताएका थिए । उनले आफुलाई बार्सामै फर्कने इच्छा रहेको विभिन्न माध्यमबाट जानकारी दिएका थिए ।

    बार्साले पनि उनलाई क्लबमा ल्याउने संकेत दिएपनि केहि आन्तरिक विवादका कारण उक्त स्थानान्तरण सफल हुन सकिरहेको थिएन । हालै बार्साले फ्रान्सका स्टार  ग्रिजमानलाई टोलीमा भित्र्याएसँगै नेमारलाई ल्याउन चाहिने पैसा पनि नपुग्ने देखिएको बताईन्छ । बार्साले ग्रिजमानलाई क्लबमा भित्र्याउन १ सय ८ मिलियन युरो खर्च गरेको छ ।

    गत बुधबार पीएसजीले पनि नेमारले क्लब छोड्ने र उनलाई अन्य क्लबमा बेच्न तयार रहेको बताएको छ । नेमार जाने सम्भावित क्लबहरुमा मेनचेष्टर युनाइटेड, बार्यन म्युनिख, रियल मेड्रिड र बार्सिलोना रहेको बताईएको छ ।

    तथापी पीएसजीले बार्साको सुरुवाती प्रस्ताव भने नमानेको खुलासा भएको छ । पीएजसीले २७ वर्षीय नेमारलाई भित्र्याउन १ सय ९८ मिलियन युरो खर्च गरेको र राम्रो मुल्यमा नै उनलाई बेच्ने इच्छा देखाइरहेको छ । बार्साले नेमारको लागि ४० मिलियन युरो र फिलिप कौटिन्हो र इभान राकिटिच दिने प्रस्ताव गरेपनी पीएसजीले यसलाई नस्वीकार्ने जनाइसकेको छ ।

    बार्साले भने प्रयास अझै जारी राखेको बताईन्छ । नगद धेरै दिन नसक्ने अवस्थामा भएकोले अन्य खेलाडी दिएर भएपनि नेमार ल्याउन चाहेको बार्साले दुई खेलाडी उस्मान देम्बेले र नेल्सन सेमेदो भने दिन नसक्ने बताएको छ ।

    बार्साको यस्तो प्रयास जारी रहेपनी नेमारमा चासो देखाउने क्लबहरुमध्ये इटालीयन क्लब युभेन्टस पनि अघि आएको छ । क्रिस्टियानो रोनाल्डो र मेथ्थियास डे लिटलाई क्लबमा भित्र्याउँदा मोटो रकम खर्चेको युभेन्टसले नेमारलाई किन्न नसक्ने विश्लेषण भइरहेको छ ।

    यसका बावजुद नेमारका पिता तथा एजेन्स नेमार सिनियरले युभेन्टसका प्रमुखसँग भेटगर्न लागेको खबर बाहिरिएको छ । बाहिरिएको खबर अनुसार नेमार सिनियरले युभेन्टसका खेल प्रमुख फाबियो पाराटिसीसँग टुरीनमा भेट्ने पक्का भइसकेको छ । यी दुईको भेटपछि नै नेमार इटालीमा जाने सम्भावना रहे नरहेको थाहा हुने बताईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार