रोनाल्डो बिना कमजोर रियल मड्रिड र जिदान…


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन ११, २०७६

  • काठमाडौं । साउन  ११  ।   नयाँ सिजनको तयारीमा रहेको स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजनमा खराब प्रदर्शन गरेको छ। अमेरिकामा रहेको रियल मड्रिड नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग ७–३ को लज्जास्पद हारको सामना गर्न बाध्य भयो ।

    रियल मड्रिड अमेरिकामा भएको खेलमा बार्यन म्युनिखसँग ३–१ ले पराजित भयो । त्यसपछिको खेलमा निर्धारित समयमा आर्सनलसँग २–२ को बराबरीमा रोकियो । तर पेनाल्टीमा उनले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

    तर एथ्लेटिको मड्रिडसँगको खेलमा पहिलो रोजाइका खेलाडीसहितको रियल मड्रिड ७–३ को हारको सामना गर्न बाध्य भयो । रियल मड्रिडको प्रशिक्षकका रुपमा पहिलो कार्यकालमा सफल रहेका जिनेदिन जिदान गएको सिजन पुनः दोस्रो कार्याकालका लागि क्लब आए । तर उनी यो कार्यकालमा समस्यामा देखिएका छन् ।

    खेलपछि उनले खेलमा कहिले काहिँ यस्तो हुने बताए । आफ्नो टिमको खेल कमजोर रहेकाले नै धेरै गोल खाएको उनको आशय थियो । रियल मड्रिडको लज्जास्पद हारपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । धेरैले क्रिष्टियानो रोनाल्डो बिनाको रियल मड्रिड कमजोर बनेको बताएका छन् ।

    जिदान र रोनाल्डो हुँदा क्लबले राम्रो गरेको थियो । तर रोनाल्डो बिना जिदानको प्रयासले काम नगरेको सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् । रोनाल्डो बिना जिदानको अस्तित्वमा कमजोर रहेको पनि केहीले बताएका छन् ।

    रोनाल्डो अघिल्लो सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका हुन्। प्रशिक्षकका रुपमा जिदान कमजोर रहेको र उनी रोनाल्डोका कारण सफल देखिएको भन्दै सामाजिक सञ्जालमा धेरैले जिदानको विरोध गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार