मड्रिड ‘डर्बी’मा गोलरहित बराबरी


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज १२, २०७६

  • काठमाडौं । सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडविरुद्धको ‘डर्बी’मा गोलरहित बराबरी नतिजामै सीमित भए पनि रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमाथिको पकड कायम राखेको छ।

    तथापि आफूहरु जितको हकदार भएको बताउँदै रियालका प्रशिक्षक जिनेदिन जिदानले नतिजामा असन्तुष्टि व्यक्त गरे। एट्लेटिकोको वान्डा मेट्रोपोलिटानोमा सम्पन्न ‘डर्बी’ खेल जित्नका लागि आफ्नो टोलीले भरपूर मिहेनत गर्दै पर्याप्त अवसर सिर्जना गरेको जिदानको भनाइ थियो।

    समय सकिन १५ मिनेट बाँकी रहँदा एट्लेटिकोका गोलकिपर यान ओब्लाकले एउटा उत्कृष्ट बचाउ गर्दा रियाल तीन अंक लिनबाट चुकेको थियो। करिम बेन्जेमाको हेड प्रहार ओब्लाकले बडो मुस्किलले जोगाएर एट्लेटिकोलाई अंक दिलाएका थिए। यसवाहेक पनि रियालले खेलमा एट्लेटिकोको तुलनामा थुप्रै गोलका अवसर पाएको थियो।

    ‘पक्कै पनि हामी आज जितको हकदार थियौं। तीन अंक लिन नसके पनि एउटा उत्कृष्ट प्रदर्शनका लागि मैले खेलाडीहरुलाई बधाई दिनुपर्छ,’ जिदानले भने, ‘आजको खेलमा हामीले इच्छाशक्ति, प्रतिबद्धता, प्राविधिक फुटबल र उर्जाशील प्रदर्शन गरेका थियौं।’

    बराबरीपछि ७ खेलमा १५ अंक जोड्दै रियाल शीर्ष स्थानमा कायम रहँदा ग्रानाडा र एट्लेटिको समान १४ अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार