दोलखा जाँदै गर्दा बाटामा भेट भएका यी बाजे सँगको अनुभव…


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, माघ १८, २०७४

  • डा. तोसीमा कार्की

    दोलखास्थित भिमेश्वर बहिरा प्राथमिक विद्यालयका ५० जना कान नसुन्ने, कोहि टुहुरा त कोहि विपन्न छात्र छात्राहरुका निम्ति यस वर्ष कुनै पनि सामाजिक संस्थाबाट केही सहयोग नआएको खबर प्राप्त भयो ।

    त्यति मात्र होईन त्यहाँ चिसोका कारण बाल बच्चाहरुलाई पढ्न, लेख्न, बस्न कठिनाई भईरहेको खबर प्राप्त भईरहेका थिए । रुघा मर्कि ज्वरोले पनि सताईरहेको खबर दोलखाबासी एक सामाजिक अभियान्ता जय रेग्मी जि (जो आफै पनि कान सुन्नुहुन्न) बाट पाइयो । त्यो खबर सुनेपछि, जाडोको राहत तथा निशुल्क स्वास्थ्य शिविर लिएर हाम्रो चिकित्सकको टोली काठमाडौँबाट दोलखातर्फ हिंड्यो ।

    ‘जाडोमा न्यानो अभियान’ नाम दिइएको हाम्रो अभियान, ती बच्चाहरुका लागि न्यानो ज्याकेट, थर्मोकोट, उनि टोपी र मोजा सहित औषधिहरु बोकि हाम्रो चिकित्सा टोली बाटो लम्किरहेको थियो । बाटोमा एकछिन बस रोकियो । बाटामा पर्ने पुलमा फोटो खिच्न थाल्दा केही  परबाट दुबै हातले बैशाखि टेक्दै हामी नजिकै आएर एक बाजेले हामीलाई हेरिरहे ।

    म : ‘बुवा पनि फोटो खिच्नुहुन्छ ?’
    ती बाजे : ‘खिच्ने नि खिचाईदिने भए ।’
    हामी : ‘ल आउनुस्, आउनुस् ।’

    फोटो खिच्ने बित्तिकै ती बाजेले भने : ‘अब फोटो खिचेपछि, केही पैसो दिनुपर्‍यो नि । मौसम एकदम चिसो थियो । कुहिरो लागेको । शितले गर्दा होला ठाउँ-ठाउँमा हिलो थियो । उहाको खुट्टमा चप्पल थिएन । खुट्टा हिलिएको अनि चिसोले सुन्निएको थियो । तर नजिकैबाट रक्सीको गन्ध भने प्रष्टै आईरहेको थियो ।

    हामीले सोच्यौं ‘पैसा त दिउँला, तर फेरि रक्सी खाएरै सक्ने त होलान् यिनले । बरु चप्पल किनिदिऊँ है ।’डा. मदन र म चप्पल किन्न दोकान खोज्दै हिंड्यौं । थोरै अपाङ्गताका कारण वैशाखि चाहिने र फित्तावाला चप्पल लगाउँन नमिल्ने रहेछ । यस्तो जाडोमा बरु यहि न्यानोवाला चप्पल ठिक होला भनेर किनिदियौं । बाजे पनि ‘न्यानो जुत्ता’भन्दै सानो बालक जसरी रमाउनुभयो । उहाँको खुट्टामा हिलो थियो । नजिकै कतै खुट्टा धुने पानी थिएन ।

    त्यसैले जुत्ताको भित्री न्यानो भागमा हिलो नहोस् भनेर तत्कालको लागि, प्लाष्टिकले खुट्टा बेरेर जुत्ता लगाईदियौं । र, भन्यौं ‘खुट्टा धोएर, सुख्खा पारेर लाउनुस् है । अनि फेरि रक्सी नखानुस् नि ।’दुबै वैशाखी भुईमा बिसाएर त्यहि दोकान छेऊको सानो टुलमा जुत्ता लगाउन बसेका उहाँले लगाउनुभएको मैलो ज्याकेटको टोपी भित्र देब्रे हात छिराई कपाल कन्याउँदै केही छिन पछि यत्ति भन्नुभयो :
    ‘हवस् ।’

    अनि फेरि उहाँ हामीसँगै फर्केर आउनुभयो । र, हामीले पुन: उहाँसँग अर्को फोटो खिच्यौं, उहाँको अद्भुत मुस्कान सहित ।

    अनि हामी बिदा भएर बाटो लाग्यौं । हाम्रो गन्तव्य दोलखाको विद्यालयतिर ।

    अहिले दुई हप्ता बितेछ । सौच्दै छु, ‘दोलखातिर हिउँ पर्‍यो रे ! ती बाजेले त्यो जुत्ता लगाईरहेका होलान् त ? ती बाजेले रक्सी खान छाडे होलान् त ?

    त्यस दिन हामीले उहाँलाई पैसो पनि दिएको भए ? रक्सी नै खान्थे होलान् त ? कि केही खाना पो खान्थे कि ? खै… ती बाजे अहिले के गर्दै होलान् है ।’ म सोचिरहेको छु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार