क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख १७, २०७७

  • बाजुरा, १७ बैशाख । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बनाइएका क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो आएको छ । गाउँपालिकाले दशरथ मावि, मष्टेश्वरी मावि, देवस्थलीलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिहेको छ । सोही गाउँपालिका–२ माटेसाँघुमा रहेको देवस्थली माध्यमिक विद्यालयमा क्वारेनटाइन निर्माण गरेको भए पनि व्यवस्थापन राम्रो नभएको क्वारेनटाइनमा बसेका यज्ञ शाहीले बताउनुभयो । बस्ने बेञ्चबाहेक अन्य कुनै पूर्वाधार नभएको र अमानवीय व्यवहार गरिएको उनीहरुले आरोप लगाउनुभएको छ ।

     

    हाल धनगढीबाट आएका २५ जना सोमबारबाट उक्त क्वारेन्टाइनमा बस्न थालेका छन् तर उनीहरुको बसाइ र सुरक्षाको अवस्था असुरक्षित र अव्यवस्थित छ । क्वारेनटाइनमा बस्दा स्वास्थ्य जाँच गर्नुपर्ने भए पनि कुनै पनि जाँच नगरेको र जाँचबिना नै क्वारेनटाइनमा राखिएको उनीहरुको गुनासो छ । २५ जनामा महिला र बालबालिका भए पनि व्यवस्थापन भने केही नभएको पाइएको छ । आफूहरुले घरबाट आफन्तसँग लुगा मगाएर बस्ने गरेको शाहीको भनाइ छ । वडाध्यक्ष मीनबहादुर शाहीले भने आफूहरुले व्यवस्थापन गर्न लागिपरेको र गलत प्रचारमा नलाग्न आग्रह गर्नुभयो ।

     

    धेरै जना एकसाथ आएकाले केही असुविधा भए पनि व्यवस्थापन तत्काल गर्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले भने त्यसबारे बुझेर व्यवस्थापनका लागि सहजीकरण गर्ने बताउनुभयो । खानेपानीको समेत अभाव पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकुको स्वामीकर्तिक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानीसमेतको अभाव हुँदा क्वारेन्टाइनमा बस्नेले दैनिक कष्ट भोग्दै आएका छन् । क्वारेन्टाइनमा खान, बस्न र लत्ताकपडाको उपलब्धताभन्दा पनि खानेपानीसमेत अभाव रहेको पाइएको छ ।

     

    जुकुमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा खानेपानीसमेत नभएको क्वारेन्टाइनमा बसेका दिनेश खत्रीले बताउनुभयो । उहाँले तीन दिनदेखि गाउँपालिका र वडा कार्यलयले क्वारेन्टाइनमा राखे पनि खान, लत्ताकपडासमेत आफ्नै घरबाट ल्याउनुपरेको गुनासो गर्नुभयो । जिल्ला बाहिरबाट आएर गाउँपालिकाका वडाले निर्माण गरेका क्वारेन्टाइनमा बसेर आधारभूत आवश्यकता खानेपानी, खान, बस्न र ओछ्याउनेसमेतको व्यवस्था नभएकाले कष्टकररूपमा दैकिनी बिताउनुपरेको नरेश खत्रीले दुखेसो गर्नुभयो । स्वामिकार्तिक खापर गाउँपालिका–३ का वडाध्यक्ष वीरजित कट्टेलले क्वारेन्टाइनमा बसेकाका लागि खानेपानी, ओढ्नेओछ्याउने, खान र बस्नका गरेको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार