म अध्यक्षमा दोहोरिने भन्ने कुरा संगठनको आवश्यकतामा भर पर्छ । महेश बहादुर सिंह – संयोजक (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन)


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र १९, २०७४

  • नेपालका अन्य राजनीतिक दल भन्दा फरक एजेन्डा सहित स्पष्ट विचार बोकेको राजनितिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी खराब चुनाबी परिणाम पश्चात् नयाँ कार्ययोजनाका साथ जनताको मन जित्नेगरि बिभिन्न कार्यक्रम ल्याउने तयारी गर्दैछ ।

    यसै क्रममा संगठनको सुदृढीकरण तथा पुन:संरचनालाई प्रमुख आबश्यकता ठानेको राप्रपाले पार्टीको महत्वपूर्ण भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेला यहि २८ र २९ गते काठमाडौंमा गर्दैछ । यसैबिच बिबिध विषयमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका संयोजक महेश बहादुर सिंहसँग छत्र खडायतले गरेको कुराकानीका सम्पादित अंश :

    २०७० सालको चुनाबमा चौथो शक्तिको रुपमा उदाएको राप्रपा २०७४ सम्म आइपुग्दा राष्ट्रिय पार्टी बन्न सकेन । यसलाइ कसरी लिनु भएको छ ?
    निश्चय पनि हामी चुनाबमा हाम्रो पक्षमा मत परिणाम ल्याउन चुकेकै हो । यसका विविध कारणहरु छन् । विभिन्न संगठनिक संरचना बलियो नहुनु प्रमुख कारण मध्य एक हो । त्यस्तै पार्टी जोडिएर एक बर्ष नपुग्दै देशी–विदेशी शक्तिको इसारामा पार्टी फुट्नु पनि प्रमुख कारण रह्यो । बलियो चुनाबी रणनीति बनाउनबाट पनि हामी अलिकति चुक्यौं भने अर्कोतिर अप्रत्याशित रुपमा बनेको बाम गठबन्धनले गर्दा पनि अपेक्षित परिणाम ल्याउन सकेनौं । हामी मात्र होईन सम्पुर्ण लोकतन्त्रबादी शक्तिकै पक्षमा खराब नतिजा आयो । राजनितिमा हारजित प्रमुख कुरा होइन । तर हाम्रो विचार, एजेन्डा, सिद्धान्त बलियो छ । र, हाम्रो विचार सिद्धान्तलाई समय आएपछी जनताले अनुमोदन गर्नेछन् भन्ने कुरामा हामी बिश्वस्त छौं ।

    अब राप्रपाको भबिष्य समाप्त भयो भनिन्छ । चुनाबी नतिजाले पनि त्यही देखायो । के भन्नुहुन्छ ?
    हेर्नुस् एउटै माघले जाडो जाँदैन । एउटै चुनाबको हारले पार्टी समाप्त हुँदैन । हामी यो चुनाबमा निश्चय पनि संसदमा राष्ट्रिय दलको मान्यता पाउन सकेनौं । तर हामी निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय दलको रुपमा यथावत नै छौं । मैले फेरि पनि भने एउटा चुनाबको हारले पार्टीको अस्तित्व समाप्त हुने होईन । पार्टी समाप्त हुन त विचार सिद्धान्त मर्नुपर्छ । तर, हामी विचार, सिद्धान्त, एजेन्डामा उत्कृष्ट र अटल छौं । हाम्रो विचार, सिद्धान्त ,एजेन्डा मजबुत छ । हामी फेरि उठने छौं । छिमेकी देश भारतकै कुरा गर्ने हो भने पनि भाजपाले लगभग ३० वर्ष पछि बहुमत ल्याएको हो, अहिले उसले त्यहाँ राज्यसत्ता संचालन गरिराखेको छ । तपाईं बिश्वस्त हुनुस्, हामी अर्को चुनाबबाट फेरि बैकल्पिक शक्तिको रुपमा उदाउने निश्चित छ ।

    राप्रपालाई आफुलाई बदल्न नसकेको आरोप र पुराना पन्चेको पार्टी, पन्चेहरु अवसरबादी भएर जनताले चुनावमामा पत्याएनन् भनिन्छ नि ?
    तपाईंले भनेको कुरा सरासर निराधार हो । हिजो २००७ सालमा प्रजातान्त्र आयो । र, काङ्ग्रेसले सरकार चलायो । तर, देश अस्थिर र असफल हुँदै गयो तब २०१७ सालमा देश डुब्नबाट बचाउन श्री ५ महेन्द्रले निर्दलिय ब्यबस्था ल्याइबक्सेको हो । र, जनताले पनि स्वीकार गरेकै हुन् ।

    निर्दलिय ब्यबस्था हुँदा सबै पन्चायति नै थिए । अहिलेको ठुला भनिएका पार्टी र नेताले पनि कतै न कतै पन्चायती ब्यबस्थालाई स्वीकार गरेकै थिए । त्यो ब्यबस्थाका चुनाब लगायत विविध कुरामा भाग लिएकै थिए । हिजो पन्चायती ब्यबस्था थियो, २०४६ सालपछी बहुदल आयो । हामीले पनि बहुदललाई मानेर राष्ट्रिय राजनीतिमा भाग लियौं । र, अहिलेको नयाँ ब्यबस्थासम्म पनि पार्टी राष्ट्रिय राजनीति गरिराखेकै छ ।

    त्यस्तै हिजो कोहि कम्युनिस्टलाई नक्सालबादी भन्थे । माओवादीलाई आतंककारी भन्थे । आज राज्य सत्ता उनिहरुले नै चलाई राखेका छन् । के उनीहरुलाइ पुर्ब नक्सालबादी, पुर्ब आतंककारी भन्न मिल्छ ? अनि हामीलाई पुर्ब पन्च किन ? निश्चय पनि पन्चायती ब्यबस्थामा हाम्रा केही शीर्ष नेताहरू शीर्ष तहमा थिए होलान् । तर हामि पछिल्ला ब्यबस्थामा पनि सहभागी छौं । पन्चे मात्रै भनिराख्नु सरासर गलत हो । अझ पार्टीका दोस्रो पुस्ताका नेताहरू सबै २०४६ सालपछि राजनीतिमा लागेका हरु छन् । कति त २०४६ पछि जन्मेकाहरु छौं ।

    हामी कसरी पन्चे भयौं अर्को कुरा तपाइले हाम्रा नेतालाई अवसरबादी भन्नुभयो तपाईंले सरकारमा सहभागी भएको कुरालाई भन्न खोज्नु भएको होला । त्यो बाध्यात्मक परिस्थिति थियो । र, राष्ट्रप्रतिको जिम्मेवारी पनि पहिलो चोटि सरकार मा जाँदा देश अस्तब्यस्त थियो । देशमा नाकाबन्दि थियो । त्यसलाई समाधान गर्न जनतालाई राहत दिनका लागी पार्टी सरकारमा गएको हो । र, हाम्रो नेतृत्वको प्रयासले देशको नाकाबन्दि हटेको हो । यस लगायत पारवहन सम्झौता लगायत राष्ट्रिय हितका धेरै कामहरु गर्न हाम्रो नेतृत्व सफल हुनुभएको हो ।

    दोस्रो पटक सरकारमा जाँदा हामी थपिएका मात्र हौं । तत्कालिन राप्रपा सरकारमै थियो । दुईजना मन्त्रीहरु सरकार मै हुनुहुन्थ्यो । पछि तत्कालीन राप्रपा र राप्रपा नेपाल पार्टी एकता हुँदा हामी सत्ता पक्ष भयौं । तत्कालीन प्रचण्ड सरकार कमजोर बन्ने अवस्था आउँदा बाध्यात्मक रुपमा सरकारलाई बलियो बनाउन अध्यक्ष ज्यु लगायत सरकारमा थपिनु भएको हो ।

    तेस्रो पटक सरकारमा जाँदा हाम्रो पार्टी लोकतान्त्रिक विधि र पद्धतिलाई मान्ने पार्टी हुँदा उक्त समयमा देशमा निर्वाचन हुँदै थियो । नेपाली जनतामा चुनाब हुँदैन की भन्ने आशंका थियो । उक्त निर्वाचनलाई सम्पन्न गर्न सरकारमा गएको हो । र, सफल पनि भयौं । विषम परिस्थितिमा सरकारमा गएका हुनाले सोचे अनुरुप काम भएन होला । तर, सरकारमा जाँदा धेरै महत्वपूर्ण कामहरु हाम्रो नेतृत्वले गर्नुभएको छ ।

    त्यो जनताले पनि बुझेका छन् । अनि हामी कसरी अवसरबादि भयौं ? मैले अघि भनें हारको कारण भनेको बाम गठबन्धन हुनु, चुनावको मुखमा पार्टी बिभाजन हुनु, चुनावी रणनीति तथा सांगठनिक संरचना बलियो नहुनु लगायतका कारणले चुनाबी परिणाम राम्रो नआएको हो । अवसरबादी भएर जनताले पत्याएनन् भन्नू बिल्कुल गलत हो ।

    प्रसङ्ग बदलौ, अब तपाईंको संगठनको भेला नजिकिदै छ । के कस्तो तयारी हुँदैछ ?
    निश्चय पनि हामी राष्ट्रिय भेलाको तयारीमा छौं । संगठनको केही समयदेखि हुन नसकेको महाधिबेसन वा भेलालाइ चिर्दै, अन्यौलतालाई अन्त्य गर्दै राष्ट्रिय भेलाको तयारीमा छौं । सिङ्गो संगठन तयारीमा जुटिराखेको छ । ७७ वटै जिल्लाबाट तथा देशभरिका प्रत्येक क्याम्पस इकाइबाट प्रतिनिधित्व हुँदैछ । यसै बिचमा जिल्ला भेला, अधिबेशन, क्याम्पस इकाई गठन तथा पुर्न:गठन तिब्रता बढिराखेको छ । कतिपय क्याम्पस तथा जिल्लाबाट प्रतिनिधिको नाम लिस्ट आइसकेको छ । र, आउने क्रम जारी छ । त्यस्तै भेलाको लागि बिभिन्न समिति र उपसमिति बनाएर काम कारबाही तीब्र रुपमा बढाइराखेको छौं ।

    संगठनको संरचनामा फेरबदलको सम्भावना कत्तिको छ ?
    यो राष्ट्रिय भेला हो । आबस्यकता अनुसार केही कुरा परिवर्तन हुन सक्दछन् । देशभरबाट प्रतिनिधि आउने हुँदा प्रतिनिधिहरुको आवश्यकता तथा सुझाबका आधारमा संरचनामा परिवर्तन हुन सक्दछ । सामान्यतया सांगठनिक सुदृढीकरणका लागि भाबि कार्ययोजना, रणनीति लगायत पक्ष परिमार्जन तथा परिवर्तन हुन सक्छन् ।

    नेतृत्व परिवर्तन हुन्छ कि यथावत रहन्छ ?
    हामी अहिले महाधिवेशन वा भेला आयोजक समितिमा छौं । परिवर्तन नहुने भन्ने केहिपनि छैन, संगठनको आवश्यकता अनुसार नेतृत्व परिवर्तन हुन सक्छ ।

    यो भेलाबाट संगठनको पूर्ण कार्यसमिति बन्छ कि महाधिवेशन सम्पन्न गर्ने तदर्थ समिती ?

    यो भेला आयोजना हुने भनेको महाधिवेशन सम्पन्न गर्न प्रतिनिधिबाट चयन हुने समिती बनाउनका लागि हो । यो भेलाबाट महाधिवेशन सम्पन्न गर्ने तदर्थ समिति बन्ने छ ।

    नेतृत्वकालाई आकांक्षि पनि होलान् । प्रतिस्पर्धा हुने सम्भावना कत्तिको छ ?
    निश्चय पनि, स्वभाबिक रुपमा प्रजातान्त्रिक पद्धतिमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । स्वछ प्रतिस्पर्धा नै प्रजातन्त्रको सुन्दर पक्ष हो ।

    तपाईं अहिले संगठनको संयोजक हुनुहुन्छ । फेरि अध्यक्षको लागी तपाईंको चाहना छ ?
    हेर्नुस् विषम परिस्थितिमा २०६४ र २०६५ बाट संगठनमा आबद्ध भईयो । उक्त समयमा संगठनको कुनै पनि गतिविधि गर्नेसम्म अवस्था नहुँदा संगठनमा होमियो । निरन्तरको संघर्ष र सक्रियतासाथ हामी अगाडी बढ्यौं । संगठनलाई बैकल्पिक शक्ति तथा प्रतिष्पर्धि संगठनको रुपमा स्थापित गर्न निरन्तर लागिपरेका छौं । यसरी एकाइ तहदेखि सुरु गरेको विद्यार्थी राजनैतिक यात्रामा केही समयदेखि संगठनको नेतृत्व गरिराखेको छु । संगठनलाई कसरी मजबुत बनाउने प्रमुख विद्यार्थी संगठन को रुपमा हाम्रो संगठनलाई कसरी स्थापित गर्ने भन्नेमा म दृढ एबं दत्तचित्त भएर काम गरिराखेको छु ।

    एउटा राजनितीकर्मिले नेतृत्व गर्ने आशा राख्नु स्वभाबिक पनि हो । तर, फेरि म दोहोरिने (अध्यक्ष) बन्ने भन्ने कुरा संगठनको आवश्यकता प्रतिनिधि साथिहरु र समयमा भर पर्छ ।
    भोलिको समग्र राष्ट्रको मार्गचित्र कोर्ने अहिलेका विद्यार्थी बर्ग नै हुन् । र, ती राष्ट्रबादी विद्यार्थीहरुको प्रतिनिधित्व गर्ने संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन हो । यो भेलाले उर्जाशिल राष्ट्रबादी क्षमतावान् बैकल्पिक शक्तिको रुपमा उदयिमान संगठन बन्नेछ भन्नेमा बिस्वस्त छु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट