रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ ८, २०७७

  • राँझा, ८ भदौ । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका बाँकेका १४ हजार नागरिकलाई माइती नेपालले खाना खुवाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका जमुनहा, गायत्रीनगर सुकुम्वासी बस्ती, कोहलपुर नगरपालिकाको शम्शेरगञ्ज, अकलघरुवालगायत स्थानका नागरिकलाई खाना खुवाइएको छ । गत असार १६ गतेदेिख शुरु भएको खाना खुवाउने अभियानअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका–१२ का बेलासपुर, भेरी प्राविधिक शिक्षालय चोक र नयाँबस्ती, वडा नं १३ का घसियारनटोल, मसानघाट र बुलबुलिया, वडा नं १९ को आलानगर र मोहनपुर, वडा नं. २० का गायत्रीनगर तथा वडा नं. ९ का खट्कनपुर्वाका गरिब तथा निमुखा परिवारलाई खाना वितरण गरिएको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

    यस्तै नेपालगञ्ज क्वारेन्टिनमा बस्ने तथा नीलसागर वृद्धाश्रममा रहेका असहाय र अशक्त व्यक्तिलाई पनि अभियानमा समेटिएको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण दैनिक ज्यालादारी मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिलाई थोरै भए पनि राहत प्रदान गर्न खाना खुवाउने अभियान थालिएको उहाँको भनाइ छ । विद्यमान असहज परिस्थितिमा महिला तथा बालबालिकालाई पौष्टिकयुक्त खाना खुवाएर उनीहरुको दैनिक जीवनलाई थोरै भए पनि सहयोग पु¥याउने अभियानको प्रमुख उद्देश्य रहेको कोइरालाले बताउनुभयो ।

    “गाउँपालिका र नगरपालिकासँग समन्वय गरेर वडा कार्यालयको प्रत्यक्ष निगरानीमा आवश्यकताका आधारमा खाना खुवाउने कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “वडा कार्यालयले उपलब्ध गराउने आधिकारिक तथ्याङ्कअनुसारका मानिस र वास्तविक पीडित परिवारलाई खाना खुवाउने गरिएको छ ।” कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले माइती नेपालले सञ्चालन गरेको खाना खुवाउने अभियान प्रशंसनीय रहेको बताउनुभयो । काम गरी खाने मजदूरले काम गर्न नपाइरहेको अहिलेको विषम परिस्थितिमा घरघरमै पुगेर तयारी खाना वितरण हुँदा नागरिक खुशी भएको उहाँकाे भनाइ छ ।

    नेपालगञ्ज —२० का वडाध्यक्ष कृष्ण कार्कीले माइती नेपालले गायत्रीनगरस्थित सुकुम्बासी टोलमा पाँच दिनसम्म तयारी खाना खुवाएर उदाहरणीय काम गरेको बताउनुभयो । कोरोना महामारीका कारण रोजगारी गुमाएका गायत्रीनगरका करीब तीन सय जनालाई पाँच दिनसम्म वडा कार्यालयसँगको समन्वयमा खाना खुवाउँदा स्थानीयवासी हर्षित भएको उहाँको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार