महाकाली अस्पतालमा आइसियु सेवा शुरु


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १५, २०७७

  • महेन्द्रनगर, १५ भदौ । कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष ‘आइसियु’ सेवा शुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिका सभापति निरु पालले सोमबार सो सेवाको उद्घाटन गर्दै नागरिक स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताइन् ।

    ‘केही महिनाभित्रै देखिने गरी अस्पतालको सेवामा सुधार ल्याउनु पर्दछ’, उनले भनिन् ‘यो अस्पताल अब रिफर अस्पताल रहनु हुँदैन ।’ अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहमा यहाँका जनप्रतिनिधि र राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन् ।
    सो अवसरमा उनले थाइराइड मेसिन र आधुनिक एम्बुलेन्स सेवाको पनि शुभारम्भ गरिन् ।

    महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले हाल ६ शय्याको आइसीयु सेवा सञ्चालनमा आएको जानकारी दिदैं निकट भविष्यमा दश शय्याको पुर्‍याइने बताए । उनले विगत एक महिनामा ४३ जना बिरामी आइसीयु उपचारपछि निको भएर घर फर्किएको जानकारी दिए ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताललाई प्रविधियुक्त बनाउनुपर्ने अहिलको आवश्यकतालाई ध्यानमा राखेर सोही अनुरुप कार्य भइरहेको बताए । ‘अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहका लागि सबैको सहयोग र समन्वय आवश्यक छ’, उनले भने ‘आइसीयु सञ्चालनले बिरामीलाई धेरै सहज हुनेछ ।’

    भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले अस्पतालको विकास र सुधारका लागि नगरपालिकाले अस्पतालसंग सहकार्य गर्न तयार रहेको बताए । ‘अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन हाडजोर्नी र स्त्रीरोग विशेषज्ञ चिकित्सक ल्याउन पहल भइरहेको छ’, उनले भने, ‘चिकित्सकको व्यवस्थापनका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न नगरपालिका तयार छ ।’

    कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ्ग, प्रदेशसभा सदस्यद्वय प्रकाश रावल र मानबहादुर सुनारलगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार