अन्तर्मुखी ब्रेकअप


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ १६, २०७७

  • साक्षी पौडेल

    ‘समय संवेदनसिल हुन्छ कुसुम । तिमी किन यसरी बरालिन्छौ ?’ उसले एकै स्वासमा भनेर सक्यो । ‘कति हतार छ उसलाई । सम्झाउन पनि फुर्सद छैन । कता दौडिएको ? कहाँ पुग्नु छ ?’ उसलाई छिटै पुग्नु छ । अनि मेरो गन्तव्य नै छैन ।  एकपटक फोनको चिसो स्क्रीनमा प्रेमका न्याना शब्द साँट्दा मैले भनेकी थिएँ पहिलोपटक – ‘बादल, मलाई अन्टार्कटिका जानु छ । कोहि नभएको ठाउ । बस् । जहाँ हामी अनि हामी हुनुको आभास होस् । कतै पुग्न हतार नहोस् । छेउमा बलेको आगो होस्, चिसो छल्ने कपडा, खानलाई अन्न अनि पिउनलाई पानी । बस् ।’

    मेरो चार वटा लामा म्यासेजको प्रतिउत्तर उसले चार वटा अक्षर टाइप गर्न भ्याएको थियो । ‘हा, हा’।

    आजकल उसलाई केहि कुरामा रुची छैन भने उसले त्यहि चार अक्षर फालिदिन्छ । ‘हाहा’ । उसको आसय बुझे पनि मलाई अन्टार्कटिकाको रोमान्चक एक्लोपनदेखि बाहिर निस्किएर उसको गतिशील दुनियाँमा छिर्नु थिएन । ‘कति रमाईलो हुन्थ्यो होला है ?’ उसलाई पनि अन्टार्कटिका तान्ने मेरो अर्को कोसिस ।

    ‘कति इम्प्राक्टिकल कुरा गर्छेउ तिमी । तिमी आफैलाई थाहा छैन, तिमीलाई लाईफमा के गर्नु छ भन्ने ।’ ऊ बिच्कियो । ‘हा, हा’ मैले रिप्लाई गरें । उसले जस्तै ।

    कस्तो जटिल यो भर्चुअल दुनियाँ । त्यसपछि मैले त्यागि दिएँ, अन्टार्कटिकाको सपना होईन, सपनामा उसलाई पनि सामेल गराउने मेरो इच्छा । ऊ सहि थियो । मलाई थाहा थिएन जीवनसँग के चाहिएको छ भन्ने । अनवरत गुडिरहेका गाडीका पांग्रा, उही गन्तव्यका लागि रोबर्ट जस्तो चलिरहेको मानवजाति, स्कूलमा समय समयमा बज्ने घन्टी, मोबाइलको अलार्म । म यी मुलधार गतिविधिहरुले घेरिएर निसासिन्छु । यस्तो लाग्छ समयले वेग समात्न कोर्रा लगाइरहेको छ अनि कुदिरहेको छ, मान्छे ।

    मलाई ऊ औधी मन पर्छ । तर, उसको जीवनशैली पटक्कै मन पर्दैन । आहा ! म विकासवादी मानसिकताको विरोधी होइन । तर, त्यो धारमा मेरो जिन्दगी अडिन्छ भन्ने मलाई बाल्यकालदेखि नै विश्वास छैन । अन्तर्मुखी मान्छे एक हप्ता कल्पनामा नै दुनियाँको कुना कुना टहलिन्छ । अनि अर्को हप्ता कोठामा थुनिएर हातका औंलामा अटाउने उपन्यास सकाउँछु । म उसलाई एकदिन यो फिल्मी संसार कति झुटो छ भनेर सुनाउँछु । अनि अर्को दिन डेढ घन्टाको प्रेम चलचित्रले रसाएको आँखा लिएर फोन गर्छु ।

    कुनै दिन मलाई सिंगारिन मन लाग्छ । अनि कुनै दिन दाँत माझ्ने जाँगर सम्म हुँदैन । कहिले मलाई कपाल लामो बनाएर स्ट्रेट गर्न मन छ लाग्छ । कहिलेकाहि गूगल गरेर गोलो अनुहारलाई सुहाउने छोटो हेयरस्टाइल पठाउछु । रातिको तीन बजे कहिले म जिन्दगी देखि विरक्तिएर सबै त्याग्ने म्यासेज लेख्छु । दिउसो दुई बजे जिन्दगीका रंगमा रंगिएका कविता पठाउँछु ।
    ‘यो पारा ठिक होईन । स्थिरता भन्ने नै छैन तिम्रो जिन्दगीमा ।

    ‘आज ऊ मसँग अरू दिनभन्दा तीव्र वेगमा आफ्नो असन्तुष्टि पोख्दै छ । आज एउटा पढि नसक्दै अर्को म्यासेज आउँदैछ । यस्तो लाग्छ, सायद उसलाई आज कतै टाढै जाने बस समात्नु छ । र, त्यसैले दौडिएको छ । म खुसी छु कि उसँग आज केहि शब्द त छन् । ‘आ’ , ‘हो’ र ‘हा, हा’ देखि बाहेक । जिन्दगी कस्तो होस् जस्तो लाग्छ ? भनेर कसैले सोध्यो भने प्राय: सबैको जवाफ हुन्छ, ‘रमाईलो’ । मलाई रमाईलो जिन्दगी कस्तो हुन्छ थाहा नै छैन । मनभरी तर्क वितर्कको महासागर सोच्नेलाई जिन्दगीको रमाईलो महशुष हुँदैन ।

    त्यसैले होला जिन्दगी रमाईलो मात्र भो भने त्यहाँ लालसा हुन्छ जस्तो लाग्ने । पहिला डिग्रीको अनि जिग्रिको अनि घर गाडी विलास सुविस्ता । सबैसँगै भएकाहरूले स्वास फेर्ने कुना कहाँबाट फेला पार्छन् ? अनि त्यत्रो अभिलाषाले आफैलाई किच्दैन ? मेरो लागि त मेरो जिन्दगी स्वच्छन्द पन्छीको जस्तो होस् । वर्षात्मा हावाहुरीले बेघर बनाए पनि, त्यहि वर्षातमा रुझेपनि, कतै पानी चुहिंदै गरेका पातहरुबीच ओत मिलोस् । जिन्दगी सकियो भन्दै गर्दा फेरी वसन्त आओस् । अनि सकी नसकी परालका त्यान्द्रा च्यापेर आफ्नो गूँड आफैले बनाउने उर्जा पलाओस् । उडान पनि उस्तै होस् मानव वथान देखीमाथि कतै उच्च आकाशमा ।

    ‘कहिलेकाहीं त हाम्रो सम्बन्ध पनि तिम्रो मुड स्विङको नतिजा हो जस्तो लाग्छ । भावनामा अडिएर जिन्दगी कसरी चल्छ ?’ पछाडिको प्रश्न त उसले प्राय: फाल्थ्यो मतिर ।

    तर, अगाडिको नयाँ प्रतिक्रियाले कता–कता चसक्क भयो । मलाई याद छ, सन्चो नभएर अस्पतालको बिस्तारा च्याप्दा पनि उसले एकपटक के भयो भनेर सोध्नेसम्म फुर्सद पाएको थिएन । त्यो बेलामा मेरो मुड स्विंग भएको भए आज उसले यो प्रश्न गर्ने ठाउ रहने थिएन । रह्यो कुरा भावनामा जिन्दगी चलाउने, भावनाविना प्रेम हुँदैन । अनि प्रेम बिनाको जिन्दगी फुस्रो हुन्छ । हामीबीच कहिल्यै मेरो इच्छाको बारेमा छलफल भएन ।

    मेरो जिन्दगीको अनि हाम्रो सम्बन्धको हरेक निर्णय नितान्त उसको हुन्थ्यो । अब उसलाई मेरो सोच पनि उसको जस्तै चाहिएको थियो जुन सम्भव छैन । गएको आधा घण्टादेखि ऊ एक्लै फत्फताउदै छ । फोनको चिसो भित्तापारी उसको रिसमा फुल्ने नाकको छेउ र रातो हुने आँखा म महसुस गर्न सक्छु । ‘म सक्दिन तिमीसँग ।’

    तारन्तार म्यासेजपछिको यो म्यासेजसँगै म्यासेज आउन बन्द भो । अब मेरो पालो । मसँग माथिका सबै प्रश्नका प्रतिक्रिया लेख्ने जाँगर थिएन । न त्यसको अब केहि अर्थ थियो । उसको खाना खाने समय हो । खायो त होला नि । खानामा के खानु भो भनेर सोध्दा झिझिने ऊ ।

    त्यहि पनि लेखें ‘खानु भो खाना ?

    उसको प्रोफाईलको सानो फोटो मेरो म्यासेजको तल आएर बस्यो । उसले हेरेछ म्यासेज । ‘अँ’ उसले उत्तिखेरै पठायो ।
    के ? मैले पठाउन खोजें ।

    ‘You can not reply to this conversation’ उताबाट आयो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार