इन्द्रदह मेला स्थगित, भक्तजन फर्काइँदै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ १७, २०७७

  • काठमाडौँ, १७ भदौ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए । मङ्गलबारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही भक्तजनलाई फर्काएको नगरपालिकाले जनाएको छ ।

    भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजन बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन थियो । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्थ्यो ।
    यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो । यहाँ गई बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । मेला रोकिए पनि नित्यरूपमा हुने पूजा आराधना भने जारी रहेको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाको इन्द्रदह र कालु पाण्डे समाधिस्थल क्षेत्रलाई सङ्घीय सरकारले दुई वर्षअघि १०० वटा गन्तव्य स्थलमा समावेश गरेको थियो । गन्तव्य स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माणका काम पनि भइरहेको नगर प्रमुख गिरीले बताए ।

    यसैगरी प्रत्येक पटक अधिकमासका बेला मेला लाग्ने नगरपालिकाको वडा नं ९ स्थित मच्छेनारायण क्षेत्रमा असोज २ गतेदेखिका सबै कार्यक्रम पनि स्थगन गरिएको उनले बताए । अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा अत्यधिक धार्मिक पर्यटक मच्छेनारायण पूजा आराधनाका लागि जाने गर्थे । मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवान्लाई गरिने विशेष पूजा आराधना भने गरिने नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार