उपत्यकामा ४३१ सहित एक हजार २०१ सङ्क्रमित


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २७, २०७७

  • काठमाडौँ, २७ भदौ । काठमाडौँ उपत्यकामा थप ४३१ सहित एक हजार दुई सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार दुई सय ६० रहेको जानकारी दिए । हालसम्म नेपालमा जम्मा संक्रमित ५३ हजार २२० छन् ।

    आज विभिन्न जिल्लामा गरी ८५२ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३७ हजार ५२४ छ । नेपालमा जम्मा संक्रमितमध्ये निको हुने ७०.६ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १७६ नमूना परीक्षण भएका थिए । हालसम्म आठ लाख ३१ हजार ३६१ नमूना परीक्षण भइसकेका छन् । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या छ हजार ३५४ छ । देशभरमा सक्रिय सङ्क्रमितमध्ये नौ हजार १०७ संस्थागत आइसोलेशन र छ हजार १५३ होम आइसोलेशनमा छन् । देशभर १६० सङ्क्रमित सघन उपचार कक्षमा उपचाररत छन् भने २४ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

    आजसम्म सात जिल्लामा सङ्क्रमित छ सयभन्दा बढी छन् भने सात जिल्ला शून्य छन् । पाँच सय भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, म्याग्दी र हुम्ला छन् ।

    काठमाडौँ उपत्यकामा पाँचसहित पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका पाँच जनाको मृत्यु भएको छ । काठमाडौँका ५१ र ५४ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला र भक्तपुरका ३८ तथा ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार