प्रविधिमैत्री बन्दै महानगरपालिकाः अनलाइन प्रणालीबाट राजस्व सङ्कलन


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज ५, २०७७

  • काठमाडौँ, ५ असोज । काठमाडौँ महानगरपालिकाले राजस्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमार्फत शुरु गरेपछि यसको प्रभावकारिता बढेको छ । कामपाले यही असोज एक गतेदेखि वडा नं २६ बाट अनलाइन प्रणालीमार्फत राजस्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको थियो । सोही दिन वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ मा पनि यो सेवा शुरु गरिएको थियो । यसको प्रभावकारिता बढेसँगै आजदेखि थप १० वटा वडामा यो सेवा विस्तार गरिएको बताइएको छ । कामपाले वडा नं ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ मा यो सेवा विस्तार गरेको जनाएको छ । विगत तीन दिनमा यो प्रणालीबाट २५७ जना करदाताबाट रु ३६ लाख राजस्व सङ्कलन भएको कामपाले जनाएको छ ।

    कामपा राजस्व विभागका निर्देशक शिवराज अधिकारीका अनुसार यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउनु हो । यो हप्ताको अन्त्यसम्ममा महानगरका सबै वडामा यो प्रणाली सञ्चालनमा आइसक्ने उहाँको भनाइ छ ।

    कोभिड– १९ को महामारीको यस समयमा सम्भावित सङ्क्रमणबाट बच्न व्यक्ति/व्यक्तिबीच भौतिक दूरी कायम राख्न पनि यो प्रविधिले ठूलो सहयोग पुग्ने कामपाको विश्वास छ ।

    सेवा कसरी लिने ?

    यो कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । यसलाई नेपाल सरकारले सञ्चालनमा ल्याउन लागेको नागरिक एपमा इन्टिग्रेसन गराइसकेको छ । अब महानगरवासीले आफूले महानगरलाई बुझाउनुपर्ने राजस्वका लागि वडा वा कार्यालयसम्म पुग्नु पर्दैन । कामपाको वेब पेज ठेगानालाई सब डोमेन इसर्भिस डट काठमाडौँ डट जिओभि डट एनपीमा लग इन गरेपछि राजस्व तिर्ने पब्लिक पोर्टलमा पुगिन्छ । यही पोटर्लको प्रयोग गरेर सबै प्रकारका कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न सकिन्छ ।

    पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सापास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक करको अङ्क प्राप्त गर्नेलगायत सुविधा लिन सक्छन् ।

    अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्नसक्ने सुविधा छ । करदातासँग सम्बन्धित र सोधिएका एंव माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ ।

    करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानून र दररेटका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली ९इसेवा, कनेक्टआइपिएस, खल्ती, फोनपे, आइएमइपे, प्रभु पेलगायत० बाट भुक्तानी गर्न सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार