स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस ३, २०७७

  • काठमाडौँ, ३ पुस । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग छलफल गरेपछि छानबिनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको हो ।

    समितिका सचिव डा रोजनाथ पाण्डेले स्वास्थ्य सामग्री खरीद प्रक्रिया नियमसङ्गत नभएको पाइएको र खरीद प्रक्रियामा संलग्न पदाधिकारी दोषी देखिने अवस्था आएकाले कानूनी कारवाहीका लागि आयोगलाई लेखी पठाउने निर्णय भएको जानकारी दिनुभयो । स्वास्थ्य सामग्री खरीद प्रकरणमा बजेटको स्रोत यकिन नगरी र लागत अनुमान तयार नगरी सीधै प्रस्ताव माग गरेर खरीद प्रक्रिया अघि बढाई सम्झौता गरिएपछि बजेट उपलब्ध गराउन मन्त्रालयमा लेखी पठाइएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

    यस्तै खरीदमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरीद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिको कुनै भूमिका नदेखिएको पाइएको समितिले जनाएको छ । विभागीय प्रमुखले आफू खरीद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको समितिले जनाएको छ ।

    बैठकमा स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सामग्री खरीदमा अनियमिता भएको देखिए आफू कारबाही भोग्न तयार रहेको बताउनुभएको थियो । “स्वास्थ्य सामग्री खरीदमा मेरो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार छु”, उहाँले भन्नुभयो । विश्वभर कोरोना महामारीको प्रभाव हुँदा स्वास्थ्य सामग्री खरीदमा केही महँगो परेको उहाँको प्रष्टोक्ति थियो ।

    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट