कलेजो प्रत्यारोपणका लागि करिब रु १४ लाख सहयोग


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस १४, २०७७

  • म्याग्दी, १४ पुस । म्याग्दीका एक व्यक्तिलाई कलेजो प्रत्यारोपणका लागि करिब रु १४ लाख सहयोग जुटेको छ । कलेजोको समस्याले थलिएका धवलागिरि गाउँपालिका–७ धारापानीका ५३ वर्षीय खड्कबहादुर थापाको उपचारका लागि सोमबार रु १३ लाख ९६ हजार ३९६ सहयोग गरिएको हो । काठमाडौँ–धारापानी सम्पर्क समाजले स्वदेश तथा विदेशमा रहेकाहरुबाट सो रकम सङ्कलन गरेर थापाको कलेजो प्रत्यारोपणका लागि सहयोग गरेको जनाएको छ ।

    अभियानको नेतृत्व गर्नुभएका समाजका अध्यक्ष क्याप्टेन भरतबहादुर थापाले सङ्कलित रकम थापालाई उपलब्ध गराइएको जानकारी दिनुभयो । “नामावली र ठेगानासहितको विवरण सोमबार सार्वजनिक गर्दै समाजले सहयोगदातालाई धन्यवाद ज्ञापन गरेको छ”, उहाँले भन्नुभयो, “सहयोग जुटाउन फलियागाउँ–काठमाडौँ समाजले पनि सघाएको थियो ।”

    नवलपुरको बेल्डीयाबाट केशरबहादुर थापा र डम्मरबहादुर थापाको संयोजकत्वमा रु ६८ हजार ५०५, कोरियाबाट कृष्णबहादुर थापाको संयोजकत्वमा रु ६९ हजार, जापानबाट काजी थापा, जीतबहादुर खत्री र अमृत थापाको पहलमा रु एक लाख ८८ हजार १९०, अष्टे«लियाबाट किसान पुन मगर, चक्रबहादुर थापा, भूपेन्द्र थापा, सन्तोष थापा र चन्द्रप्रकाश थापाको अगुवाइमा रु एक लाख ८७ हजार सङ्कलन भएको थियो । बेनीमा बस्दै आउनुभएका ५३ वर्षीय थापाको उपचारको क्रममा अर्थाभावपछि परिवारले सहयोगको अपिल गरेको थियो ।

    ओमकुमारी शान्ति कोषले पनि थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । बेनीको न्यूरोडका व्यवसायी र थापाका आफन्त एवं धारापानीका बासिन्दाले पनि सहयोग गरेका थिए । निर्माणसम्बन्धी काम गरेर जीविकोपार्जन गर्दै आउनुभएका थापाको हाल भारतको मुम्बईस्थित नायर अस्पतालमा उपचार भइरहेको छ । थापाकी श्रीमती यामुले आवश्यक आर्थिक स्रोत जुटेपछि शल्यक्रिया गरेर कलेजो प्रत्यारोपणको तयारी भएको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार