क्यान्सर लागेपछि अध्यात्मप्रति आकर्षित भएँ- सुजाता कोइराला, नेतृ, नेपाली कांग्रेस एबं भूतपूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री


  • Frontline Nepal

सुजाता कोइराला नेपाली कांग्रेसकी नेतृ एबं भूतपूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री हुन् । भूतपूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला तथा सुष्मा कोइरालाकी एक मात्र सन्तान सुजाताले पार्टीको विदेश बिभाग प्रमुखका रुपमा पनि जिम्मेवारी सम्हाल्नु भएको छ । क्यान्सर लागेपछि सुजाता कोइरालाको चर्चा चुलियो । उहाँले नेपाल सरकारसँग उपचार खर्च माग गरेपछि चौतर्फी आलोचना पनि खेप्नुपर्‍यो । यतिबेला उपचारपछि आफ्नै निवास महाराजगञ्जमा आराम गरिरहनु भएकी कोइरालासँग गरिएको कुराकानी :

 

अहिले तपाईंको स्वास्थ्य स्थिती कस्तो छ ?

स्वास्थ्यमा सुधार भईसक्यो । क्यान्सर निको भईसक्यो । अब मैले डराउनु पर्दैन ।

 

औषधि लिईरहनु भएको छ कि ?

मैले अहिले औषधि लिएको छैन ।

 

तपाईंको उपचार कहाँ भयो ?

मलेसियाको सन्वे मेडिकल सेन्टरमा दुईचोटी भयो । पहिला स्तनको, पछि डिम्बासयको अप्रेसन भयो । उपचारका क्रममा पहिलो चोटी म ७ दिन बसें । दोस्रो पटक १२ दिन जति बसें । एक महिनामा दुइवटा अप्रेसन भए । स्तन क्यान्सर पत्ता लागेको एक महिनामै मेरो डिम्बाशयमा पनि क्यान्सर देखियो ।

 

अब सार्बजनिक कार्यक्रममा कहिलेदेखी हिंड्नुहुुन्छ ?

अप्रेसन गरेको साढे तीन महिना जति भयो । बल्ल मिडियामा जान थालेको छु । अब बिस्तारै राजनीतिक कार्यक्रममा पनि भाग लिन्छु ।

 

तपाईंको दैनिकी कस्तो छ ?

बिहान ५, ६ बजेतिर ब्यँुझिन्छु । एक घण्टा जति हिंड्छु । त्यसपछि मेडिटेसन गर्छु । कपालभाती, अनुलोम–विलोम, स्वास फ्याँक्ने बिधीहरु अपनाउँछु । त्यससँगै म्युजिक थेरापि गर्छु । पुस्तकहरु पनि पढ्ने गर्छु ।

 

यतिबेला कुन पुस्तक पढिरहनु भएको छ ?

यतिबेला म सि चिनफिङ : द गर्भनेन्स अफ चाइना  पुस्तक पढ्दैछु । यस पुस्तकमा सिको राजनीतिक धारणा, सिल्क रोड, वान बेल्ट, वान रोडबारे बिस्तृतमा लेखिएको छ । मलाई यि विषयवस्तुहरुबारे बुझ्न सघायो । त्यस्तै ओशोका पुस्तक र उहाँका स्पिचहरु पनि उत्तिकै सुन्ने गर्छु ।

 

खानपानमा कत्तिको ध्यान दिईरहनु भएको छ ?

एकदमै अर्गानिक खानेकुरामा जोड दिईरहेको छु । गाउँबाट रातो चामल, गेडागुडी, दाल मगाउँछु । बिराटनगरबाट अमलाको रस आउँछ । दुधमा हल्दी, काली मिर्चा, सिनामेन, पाउडर हालेर बिहान–बिहान पिउने गर्छु । मेरो खानपानमा सिलाजित छुट्दैन । अब त क्यान्सर हुन्न मलाई । गुलियो खान्न । पोखरीमा उम्रिने स्प्रुलिना, इनर्जि फुड्, तरकारी बढी खाने गर्छु । क्यान्सरका सेलहरु बढ्न नदिने खानेकुराको मात्रा बढाएको छु ।

 

स्वास्थ्य र खानपानमा त एकदमै सचेत पो हुनु भएछ ?

म त एकदमै सचेत छु । युट्युबमा पनि समय बिताउँछु । खानपानबारे अध्ययन गर्छु । दुइ दुई घण्टाको ग्यापमा बेकिङ सोडा लिन्छु । एप्पल भेनेगर पनि नियमित सेबन गर्छु । सिजनेबल भेजेटेबल प्राय छुटाउँदिन । सागलाई नुन र भेनेगरमा भिजाउछु । जसले गर्दा यसमा भएको विष निस्किन्छ ।

मेरो खान्कीमा फापर, कोदो, सातु छुट्दैन । रोटी बनाउँछु । नेपालकै हिमालयन पिंकसाल्ट खान्छु । मेडिटेसन गर्दा हिमालयन पिंक साल्ट ल्याम्प बाल्छु । यसले गर्दा हावालाई शुद्ध पार्छु । नेपालमा सबै प्रकारका हर्बलहरु नेपालमै पाइन्छ । गरिबहरुलाई सिकाउन, थाह दिन जरुरी छ ।

 

खानेकुराको छनौट कसरी गर्नुहुन्छ ?

क्यान्सर रोगसँग लडिरहेका ब्यक्तिहरुसँग सल्लाह गरेर, इन्टरनेटमा हेरेर । कति इनर्जि फुडहरु नेपाल बाहिरबाट मगाइयो । तर, हामीले नेपालका बनस्पति, अमूल्य जडिबुटिहरु चिन्नै नसकेका रहेछौं । विदेसीहरुले नेपालबाट कच्चा पदार्थ लिएर महंगो मूल्यमा बेचिरहेका छन् ।

 

खानपानले स्वास्थ्यमा कत्तिको असर गर्दो रहेछ ?

बिरामी हुनु भन्दा पहिला नै खाएको भए मानिस बिरामी हुने अबस्था नै आउदैन ।

 

क्यान्सरलाई कुन–कुन खानेकुराले फाइदा पुर्‍याउँदो रहेछ ?

सागपात, गाजर, हरियो सलादले फाइदा गर्छ । कम पैसामा स्वस्थ रहन सकिन्छ । हर्बलहरुका आफ्नै खेती पनि गर्न सकिन्छ ।

 

आफूलाई क्यान्सर भएको थाह पाएपछि कस्तो महशुष गर्नु भएको थियो ?

मलाई एकदमै डिप्रेसन भयो । मेरो ब्रेस्टमा क्यान्सर भएको रहेछ । सिंगापुरमा पेटको स्क्यान गराए । डाक्टरकहाँ गए । एकदमै नरमाइलो लाग्यो । डाक्टरले बुझिहाले । सूरुमा एकदमै डर लाग्यो । अप्रेसनपछि डाक्टरले नाओ, यु आर क्यान्सर फ्री भनेपछि ढुक्क भए ।

 

क्यान्सरबिरुद्ध सचेतना फैलाउन केही अभियान सूरु गर्ने योजना छ ?

मिडियाबाट अभियान चलाउनुपर्‍यो । गाउँगाउँमा चलाउनुपर्‍यो । ब्यक्तिगत रुपमा त्यस्तो केही सोचिसकेको छैन । तर कुनै न कूनै रुपमा मैले सहयोग गर्छु । मेडिटेसन एकदमै जरुरी रहेछ । यसले डर, चिन्ता, भय एकदमै दुर गर्छ । औषधिले डिपेन्डेन्सी बढाउछ । हर्मोन असन्तुलित गर्छ ।

 

हिजोआज त आध्यात्मिक बन्नु भएको हो ?

क्यान्सर लागेपछि अध्यात्मप्रति आकर्षित भएँ । जीवनको सार नै अध्यात्म रहेछ । बाँकी त सबै भ्रम रहेछन् ।

 

राजनीतिमा कहिलेबाट सक्रिय बन्नुहुन्छ ?

राजनीति पनि गर्छु । अबको एक महिनापछि संसदको बैठकमा जान्छु । स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा रहेछ । पहिला आफू निरोगी, सुखी बन्नुपर्‍यो । सकारात्मक सोच हुनुपर्‍यो । आधा रोग त्यसै निको हुन्छ । मन मस्तिष्क राम्रो भएपछि सबै कुरा राम्रो हुन्छ ।

 

कांग्रेसभित्र गुट–उपगुटहरु मौलाएका छन् । कसरी अन्त्य गर्ने ?

कांग्रेस पनि क्यान्सरले ग्रसित छ । उपचार गर्ने बेला भएको छ । संगठन निमार्णमा जोड दिनुपर्ने बेला आएको छ । भाषणले मात्र संगठन निमार्ण हुँदैन । कार्यकर्ताको भावना बुझ्नुपर्‍यो । नत्र संगठन बन्दैन । सबैलाई पार्टीमा अपनत्व हुनैपर्‍यो । गुटबन्दि समाप्त गरेपछि मात्र हामी बलियो बन्न सक्छौं ।

 

तपाईं विदेश बिभाग प्रमुख हुँदा भएका उपलब्धिहरु के–के हुन् ?

चीनसँग पुल, बाटो बनाउने सम्झौता भयो । भारतका परराष्ट्र मन्त्री आउनु भएको थियो । उहासंग हुलाकी सडक बनाउने सम्झौता भयो । सबैसित राम्रो समबन्ध बनाउने कोशिष गरें । अरु मुलुकहरु पनि पुगें । धेरै ठाउबाट निम्ता पाएँ । शान्ति प्रक्रिया चलिरहँदा अनमिनलाई समापन गराएर बिदा गर्‍यौं ।

 

आगामि बैशाखमा चुनाब हुनेमा विश्वस्त हुनुहुन्छ ?

चुनाबले गती लिन्छ । सबैको भाबना पनि समेटिन्छ । यसले सबैलाई अबसर दिन्छ । चुनाबपछि देश स्थिर हुन्छ । देशी, विदेसी सबैले लगानी गर्ने बातावरण बन्छ ।

 

इन्टरनेश्नल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आइक्याप) को सह–अध्यक्षमा निर्बाचित हुनुभयो । यसमा तपाईको जिम्मेवारी के रहन्छ ?

कन्फेरेन्स गराउने, महिलालाई आर्थिक, शैक्षिक हिसाबमा कसरी अघि बढाउने त्यतातिर जोड दिने । महिला शसक्तिकरणका लागी क्रियाशिल हुने । बहस, भाषण गर्ने, पोलिसी बनाउने ।

 

विदेसमा बस्ने एनआरएनहरुलाई कस्तो सुबिधा दिदा उचित होला ?

हाम्रो बिधानमा स्पष्ट रुपमा उल्लेख हुनुपर्‍यो । एनआरएनमाथी अन्याय, अत्याचार हुनु भएन । कम्तिमा ५ वर्ष भिसा पाउनुपर्‍यो । उनीहरुलाई अधिकतम सुबिधा दिनुपर्छ ।

 

नेपाल बाहिर बस्नेहरुको सीप, क्षमता कसरी स्वदेशको हितमा सदुपयोग गर्न सकिएला ?

नेपाल बाहिर गएकाहरुले राम्रो गरिरहेका छन् । होटल, रेस्टुराँ लगायत अन्य क्षेत्रको उच्च ओहदामा छन् । तिनलाई हाम्रो देशमा अबसर दिनुपर्‍यो ।

 

हङकङ कति पटक पुग्नुभयो ?

धेरै पटक । सायद तीन पटक होला ।

 

हङकङमा जनजाती महाबाणिज्यदुतको माग भईरहेको छ । यसमा तपाईको के धारणा छ ?

राजनीतिक कुरा अहिले नगरौं ।

 

विदेशमा नेपालीहरु शरणार्थी बन्ने क्रम बढ्दो छ । कसरी नियन्त्रण गर्ने होला ?

मुख्य कुरा नेपालमा राजनीतिक स्थिरता भएन । हाम्रो अबस्था राम्रो भएन । विदेसमा राम्रो जीवन जीउन सकिन्छ कि भनेर शरणार्थी बन्ने क्रम बढ्दो छ । तर, उनीहरुलाई पनि विदेशमा कठिन नै छ । अबैधानिक भएर बस्न र काम गर्न बाध्य छन् । हामीले नेपालको राजनीति ‘सेटल’ गर्नुपर्‍यो । संक्रमणकाल अन्त्य गरेर देशको विकासमा लाग्नुपर्‍यो ।

 

विदेशमा बस्ने नेपालीहरुको सीप, क्षमता, विज्ञतालाई कसरी सदुपयोग गर्न सकिएला ?

नेपालमा लगानी गर्ने वातावरण बनाउनुपर्‍यो । नेपाल बाहिर धेरै नेपालीहरु उच्च ओहदामा पुगेका छन् । हामीले तिनको सीप, क्षमता स्वदेशको हितमा लगाउनुपर्छ । यहाँ अबसर दिनुपर्‍यो ।

 

स्थानिय तहको चुनाब हुन्छ ?

हुन्छ । चुनाबले सबैको भाबना समेट्छ । सबैलाई अबसर पनि प्रदान गर्छ । त्यसपछि लगानीको वातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार