महासङ्घ गण्डकीमा सदस्य र सल्लाकार चयन


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस १८, २०७७

  • गण्डकी, १८ पुस (रासस) : नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको पहिलो बैठकले कार्यसमिति सदस्य, सल्लाहकार चयन एवं विभिन्न उपसमिति गठन गरेको छ । महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा आज बागलुङमा सम्पन्न बैठकले उमन स्किल डेभलपमेण्टका रामकली खड्का, चरक मेमोरियल मेडिकेयर अस्पतालका रामचन्द्र रेग्मी, लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, भिरकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष भक्तबहादुर केसी तथा पोखरा भिलेज रिसोर्टका हरिप्रसाद गैरेलाई कार्यसमिति सदस्य पदमा मनोनित गरेको हो ।

    त्यस्तै बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासङ्घका एशोसिएट्स उपाध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वउपाध्यक्ष आजाद श्रेष्ठ, पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ, चन्द्रकृष्ण कर्माचार्य र होमनारायण श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरेको छ । महासङ्घ गण्डकीअन्तर्गत उपसमिति गठन गर्ने सिलसिलामा रोजगारदाता परिषद् सभापतिमा लक्ष्मीप्रसाद त्रिपाठी, महिला उद्यम विकास समितिको सभापतिमा रामकली खड्का, प्रशासन उपसमितिमा मोतिप्रसाद पौडेल, पर्यटन व्यवस्थापन उपसमितिमा सूर्यबहादुर भुजेल तथा विधान संशोधनका लागि गण्डकी प्रदेशस्तरीय मस्यौदा उपसमितिमा ओमप्रसाद पौडेल चयन हुनुभएको छ ।

    महासङ्घ गण्डकीको यही पुस ११ गते सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार