सोविता सिम्खडाको पहिचान चलचित्र अभिनेत्रीका रुपमा सिमित थियो । उनले नेपाल टेलिभिजनबाट प्रशारित ‘नमस्ते कलिउड’ कार्यक्रम दुई वर्ष चलाईन् । त्यस्तै झण्डै डेढ वर्ष डान्स कम्पिटिसनमा आधारित ‘सरोबर कार्यक्रम’ पनि चलाईन् । त्यो पनि नेपाल टेलिभिजनबाटै बज्थ्यो । ‘नमस्ते कलिउड’ कार्यक्रम चलाउँदा-चलाउँदै चलचित्रमा अभिनय गर्न पुगेकी सोविता यतिबेला उपन्यासकारका रुपमा उदाउँदैछिन् । ओशोबाट प्रभाबित सोविताको जीवन निकै सरल छ । उनलाई भेट्दा अन्य सेलिब्रेटीहरु जस्तो चमकधमक पटक्कै देखिदैन । बरु उनको सरल र सुन्दर जीवनबाट जोकोही प्रभाबित हुन्छन् । सोवितासँग फ्रन्टलाईन नेपालको कुराकानी
‘वराङ्गना’ पुस्तकको नाम कसरी जुर्यो ?
वराङ्गनाको अर्थ हुन्छ- सुन्दर स्त्री । जुन मेरो कथाको मुख्य पात्र हुन् । उनको नाम हो, जुनकिरी । उ असाध्यै राम्री छे । बाहिरी आवरण, सोच, उसका क्रियाकलाप सबै राम्रा छन् । बुबा र मैले यो नाम जुरायौं । सूरुमा बुबाले शब्दकोश हेरेर मलाई सोध्नुभयो, वराङ्गना नाम कस्तो छ भनेर । मलाई त ‘जुनकिरी’ नै राखौं कि जस्तो लागेको थियो । पछि यही नाम फाइनल भयो ।
‘वराङ्गना’ के विषयमा केन्द्रित छ ?
खासगरी ‘वराङ्गना’ दलित समुदायबाट निस्केकी केटी (जुनकिरी) को संघर्ष, प्रेममा बारेमा केन्द्रित छ । उ कतै हराईरहेकी छे । कसैसँग प्रेम भएपछिको संघर्ष, खानाको अभाब, पढ्नका लागी उसले गरेको दु:ख, पछि गएर उ राजनीतिमा जोडिन्छ । यसकै वरिपरी पुस्तक घुमेको छ ।
यो उपन्यास लेख्न कति समय लाग्यो ?
तीन वर्ष लाग्यो । मैले ८/९ पटक पुर्नलेखन गरें । सूरुमा ड्राफ्ट तयार पारें, पछि पुर्नलेखन गर्दा भने अलि समय लाग्यो । मुख्य कथा सुँइसुँइ लेखिन्छ । त्यसपछि गहिरिएर सोच्दा, कतिपय ठाउमा चित्त बुझ्दैन । त्यस्तो ठाउमा मिलाउन समय लाग्यो ।
लेख्न बस्दाका रोचक क्षणहरु के–के छन् ?
एकदम धेरै छन् । मैले बाहुनको छोरी हुँ भन्ने कुरा पनि भुलें । त्यो पात्रमा म आफै डुबें । लेख्दा–लेख्दै कति ठाउमा बरर आँशु खसे । त्यस्तो बेला आँखा चिम्म गर्थें । राती १/२ बजे पनि ममा छट्पटि भईरहन्थ्यो । कहिलेकाहीं त एक महिनासम्म पनि नलेखी बसें । कलम र कापीको सहारामा जे जति लेखियो, असाध्यै मजा आयो । बढीजसो विहान फ्रेस भएर ध्यान, योगा गरेपछि लेख्थें । बाटोमा हिंडिरहँदा, खाना खाईरहँदा मनमा कथाका अनेक प्लट आउँथे । कुनैबेला मैले मोबाइलमा रेकर्ड गर्थें । पछि त्यसलाई डायरीमा उतार्थें । पुस्तक लेखिरहदा मैले अरु लेखकका किताब पढिनँ । त्यसको फ्लेबर आउला कि भन्ने डर भयो ।
तपाईंले चलचित्रमा पनि काम गर्नुभयो । अहिले लेखनमा हात हाल्नुभयो । यि दुई बिधाबिच के फरक पाउनुभयो ?
लेख्न बस्दा आफ्नै मुडमा काम गर्न पाईन्छ । आफूसँग कापी र कलम छ भने जतिखेरै लेखे पनि भयो । तर चलचित्रमा काम गर्दा अर्काको मुड, इच्छा अनुसार काम गर्नुपर्छ । फेरी चलत्रिचमा निर्देशक, अरु कलाकारहरु हुन्छन्, उनीहरुसँग मिलेर काम गर्नुपर्यो । तर लेखनमा भने सबैथोक आफै हो । आफैमा रमाउन सकिन्छ ।
‘वराङ्गना’ कस्तो परिबेशमा बसेर लेख्नुभयो ?
मैले ओशो तपोवनमा लेखें । खुल्ला वातावरण, ध्यान गर्न पाईने भएकाले मैले तपोवन नै रोजें । कि आश्रम, कि कुटीमा बस्न म बढी रुचाउँछु । शान्त ठाउ, हरियालीमा बस्न एकदम मनपर्छ । त्यहा बसिरहँदा मैले किताब लेख्दै छु भनेर कहिल्यै, कसैलाई पनि भनेको थिईनँ । एकैचोटी सामाजिक सञ्जालमा मैले किताब लेखेको कुरा जानकारी गराएपछि सबैले अचम्म माने ।
तपाईंका प्रिय पुस्तकहरुको लिस्टमा कुन–कुन नाम छन् ?
ओशोका पुस्तक बाहेक बिपी कोइरालाको ‘सुम्निमा’, अमर न्यौपानेको ‘सेतो धरती’, शारदा शर्माको ‘ताप’, बुद्धिसागरको ‘कर्नाली ब्लुज’, पारिजातको ‘शिरिषको फूल’ ।
पढाइ, लेखाईका लागी घरपरिवारमा कस्तो माहोलमा थियो ?
धादिङमा हाम्रो ओशो आश्रम थियो । अहिले पनि छ । ४०/५० जना ध्यान गर्नेहरु नियमित हुन्थे । म बढीजसो आश्रममै हुर्कें । बुबाले नया पुस्तक पढ्न हौसला दिनुहुन्थ्यो । म छुट्टै माहोलमा हुर्कें । घरका सबै सदस्यहरु ओशो सन्यासी थिए । बुबाको संगत, पढ्ने बानी, त्यो छाप ममा पनि बस्यो । गाउका मानिसहरु पुस्तक माग्न हामीकहाँ नै आउँथे । पुस्तकसँग सानैमा संगत भयो । जसले गर्दा अहिले लेखनमा आउन सहयोग पुग्यो ।
एक पटक पुस्तक किन्दा कति खर्चिनुहुन्छ ?
आबश्यकताअनुसार पुस्तक किन्छु । ३ सय रुपैंयाँदेखी ३ हजार रुपैंयाँ , अझ त्यो भन्दा बढी खर्च गरेको छु । पुस्तक किन्दा मलाई रमाईलो नै लाग्छ । पछुतो लाग्दैन ।
तपाईको रुचि के-के मा छ ?
जे मन लाग्छ, त्यो गरिहाल्छु । रहर थन्क्याएर राख्दा साधनामा असर गर्छ । मानिसका चाहनाहरु कहिल्यै सकिदैनन् । असिमित हुन्छन् । त्यो त घटाउँदै जाने हो । चाहनाले सधैं सताईरहन्छ । जीवनमा आफैमा हराउनु, आफैलाई जगाउनु, आफैलाई खोज्ने गर्नुपर्छ । र, अरुका लागी पनि बाँच्नुपर्छ । अरुलाई खुसी दिन सक्नुपर्यो । ममा त्यो मान्यता छ ।
जीवन के हो ?
जीवन असाध्यै सुन्दर छ । त्यो त हरेकको हेर्ने दृष्टिकोणमा फरक हुन्छ । म त आफूलाई एकदमै ‘लक्की गर्ल’ ठान्छु । असाध्यै खुसी छु । मैले माछामासु कहिल्यै खाएको छैन । डिस्को, डान्स, र बार पनि छिरेको छैन । वाइन पिउने बानी छैन । तैपनि म धेरै नै खुसी छु । मलाई यति धेरै खुसी दिएकोमा भगवानप्रति धन्य छु ।