सिंगापुर बोलाउँदा पारससँग रिसाए सन्दीप


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज ९, २०७६

  • काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले गत साल इन्डियन प्रिमियर लिग(आईपीएल) मा खेल्ने मौका पाएपछि सबैजसो ठूला विदेशी टी–२० लिगहरूमा खेल्ने मौका पाइरहेका छन्। उनी अहिले वेस्टइन्डिज क्रिकेट बोर्डले आयोजना गरेको क्याराबिन प्रिमियर लिग (सीपीएल) खेल्न क्याराबिन राष्ट्रहरूमा छन्।

    यसैबीच सन्दीप लामिछाने र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काबीच सम्बन्ध बिग्रिएको भन्ने चर्चा चलिरहेको छ। सिंगापुर र जिम्बाब्बेसँग टी–२० सिरिज खेल्न नेपाली टोली बुधबार नै सिंगापुर प्रस्थान गरेको छ।

    पारसले टी–२० सिरिज खेल्न सन्दीपलाई सिंगापुर बोलाएको र यस विषयमा सन्दीप रिसाएको भनी नेपालका केही सञ्चारमाध्यमले खबर दिएका थिए। सन्दीप लामिछानेले भने यसलाई इन्कार गरेका छन्।

    बिहीबार बिहान ट्‍विटरमा प्रतिक्रिया दिँदै सन्दीपले आफू पारस खड्कासँग रिसाएको भन्ने हल्ला निराधार रहेको दावी गरेका छन्। ट्‍विटरमा मिलन सापकोटा नाम गरेका व्यक्तिको ट्‍विटमा प्रतिक्रिया दिनेक्रममा सन्दीपले लेखेका छन् ‘सुन्ने कुरा धेरै हुन्छन् हजुर कस्को सुन्नु हुन्छ तपाईँले ? मानी हेरौं न कसले भनेको रैछ कि म सीपीएलबाट बोलाउँदा रिसाएँ  भनेर ?’ सन्दीप अगाडि लेख्छन्–‘सत्य कुरा नबुझी जे भन्न पनि सजिलो हुन्छ। कति सजिलै तपाईँले मलाई जज (मूल्यांकन) गर्नुभयो ?’

    उनलाई पैसाले मातिएको भनी आलोचना गरिएकोमा सन्दीपले भनेका छन्, ‘मन सफा हुनुपर्छ हजुर पैसा त आउने जाने कुरा हो ।’

    सन्दीपले पारसलाई ट्‍विटरमा अनफलो गरेको भनी उनलाई घमण्डी भनी आलोचना गरिएको छ। ट्‍विटरमा १ लाख ६२ हजारभन्दा बढी फलोअर्स रहेका सन्दीपले यो खबर तयार पार्दासम्म १८ जनालाई फलो गरेका छन्। आईसीसीको मुख्य ट्‍विटर ह्याण्ड, नेपाली टोलीका पूर्वप्रशिक्षक पुवुदु दसानायके, अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्वेल, अफगानिस्तानका लेग स्पीनर रसिद खान, जिम्बाब्बेका ब्याट्सम्यान सिकन्दर राजा, गायक राजुलामा लगायतलाई उनले फलो गरेका छन्।

    नेपाली क्रिकेट टोलीका अन्य खेलाडीलाई फलो गरेका सन्दीपले १ लाख ४६ हजारभन्दा बढी फलोअर्स रहेका पारस खड्कालाई भने फलो गरेका छैनन्। ३१५ जनलाई फलो गरेका पारसले भने सन्दीपलाई फलो गरेका छन्।

    सीपीएल यस सिजनको ६ खेलमा बलिङ गर्दा सन्दीपले ८ विकेट लिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार