समाजसेवामा विद्यार्थीहरु


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर ३, २०७४

  • गत वर्षको होलीमा अरु अबिरले रंगिरहँदा सामाखुसीस्थित लिंकन कलेजमा अध्ययनरत स्नातक तह तेस्रो वर्षमा अध्ययनरत सोसल वर्कका विद्यार्थीहरु भने गोरखातिर हुँइकिदै थिएँ । कच्ची बाटोको यात्रा पार गर्दै गर्दा उनीहरु रहरले बढी रंगिएका थिए । हिलाम्मे बाटोमा डेढ घन्टा गाडी फस्दा पनि उनीहरु आत्तिएनन् । बरु गोरखाका स्कुलहरुमा स्वंयसेवा गर्न हिंडेका उनीहरु उत्साहित थिए ।

    ‘त्यहाँ पुगेपछि बडो रमाइलो भयो ।’ स्नातक तेस्रो वर्षमा अध्ययनरत उदयपुर, गाईघाटका रसिक रुचाल र हेटौंडाका सुदन घिमिरेले सुनाए ‘हामीले सहयोग पुयाएका विद्यार्थीहरुको ओठमा मुस्कान देख्दा बाटोमा पाएको सबै दु:ख भुल्यौं ।’ गोरखाको नाम्जुङस्थित तीन वटा सरकारी स्कुल कालिका निमाबि, भिमसेन निमाबि र जलदेवी निबाबिमा स्टेशनरी सामानहरु बितरण गरे । भिमसेन निमाबिलाई ७ सय भन्दा बढी पुस्तकहरु प्रदान गरेर पुस्तकालय स्थापना गर्न सहयोग पुर्‍याए । गोरखामा सहयोग प्रदान गर्न ‘सोसल वर्क डे’ को अबसर पारेर सामाजिक सञ्जाल, कलेज र सहयोगी मानिसहरुबाट उनीहरुले यो सहयोग जुटाएका हुन् । त्यस्तै पानीपुरी, चट्पटे बेचेर, फुटसल प्रतियोगिताको आयोजना गरेर बटुलेको रकमबाट यो काम सम्भब भएको हो ।

    ‘जति सक्छौं त्यति गरौं विपत्तिमा साथ दिन हामी लागी परौं’ भन्ने नारा दिएर ०७२ सालमा सूरु गरिएको डोकोनाम्लो राजधानीमा मात्र सिमित छैन । उपत्यका बाहिर गएर पनि उनीहरुले समाजसेवा गरेका छन् । यि तन्नेरीहरु कलेज बिदा भएपछि हरेक दिनजसो क्यान्टिनमा बसेर छलफलमा जुट्छन् । समय कटाउनका लागी हैन बरु रचनात्मक काम गरेर समयको सदुपयोग गर्छन् । उस्तै उमेर, उस्तै रुचि भएका लिंकन कलेजका यि विद्यार्थीहरु अरु भन्दा फरक काम गर्न अग्रसर हुन्छन् । भुकम्पपछि उनीहरुले उद्धार, राहत वितरण, घर, टहरा निर्माण, र पिडितहरुलाई विभिन्न संघसँस्थासंग मिलेर काम गरे । सामाखुसीस्थित लिंकन कलेजमा अध्ययनरत स्नातक तेस्रो वर्षका विद्यार्थीहरु रसिक रुचाल, सुदन घिमिरे, अस्मिता दवाडी, प्रनिसा कटुवाल, सागरसिंह धामी र सफला कुमाल । उनीहरु नै मिलेर खोलिएको हो, ‘डोकोनाम्लो’ । यसको फेसबुक पेजमा अहिले सम्म १४ हजार ५ सय ३७ लाइक्स पुगिसकेको छ ।

    उनीहरुले काम गर्दै जाँदा तिता र नमिठा अनुभबहरु बटुलेका छन् । ल्होसार चाडका बेला भूकम्प प्रभाबितहरुका लागी राहत संकलन गर्न टुँडिखेल पुग्दा उनीहरुले त्यहाँबाट लखेटिए । ‘भूकम्प पीडितका नाम पैसा उठाएर खाने भन्दै हामीलाई अपमानित भएर निकालियो ।’ झापा, बिर्तामोडकि प्रनिशा कटुवाल सम्झिन्छिन् । यस्ता हण्डर, ठक्करले उनीहरुलाई बिचलित बनाएको छैन । बरु सक्रियता अझै बढेको छ । कर्णाली क्षेत्रका स्कुलमा पुस्तकालय स्थापनाका उनीहरु त्यस क्षेत्रतिर जाँदैछन् । कालिकोटको एक स्थानिय संस्थासँग मिलेर उनीहरु त्यहाँका सरकारी विद्यालयमा पुस्तक बाँड्ने योजनामा छन् । ‘कोर्सका पुस्तकसंगै कोर्स बाहिरका पुस्तकहरुले पक्कै त्यहाँका विद्यार्थीहरुलाई ज्ञान आर्जन गर्न सघाउ पुग्नेछ ।’ रसिक सुनाउँछन् ।

    प्राकृतिक बिपत्ति, आपतबिपत र समस्यामा परेका थुपै्र व्यक्तिहरुलाई उनीहरुले सामाजिक सञ्जालका माध्यमबाट सहयोग जुटाउने गरेका छन् । पाल्पाका यादब पाठकलाई ह्वीचियर बाँड्नेदेखी रसुवाका भुकम्प पिडित सोनाम लामालाई अस्पताल पुर्‍याएर उपचार गराउने सम्मको सहयोग गरेर उदाहरण काम गरेका छन् । ‘समाजका लागी धेरथोर योगदान दिन हामी जुट्यौं ।’ डोकोनाम्लो नाम जुराउने ‘साइको सरकार’ नामले परिचित सुदन घिमिरेले भने । ‘हामीले सक्दो प्रयास पनि गरिरहेका छौं ।’ गत वर्ष तराइमा बाढी आएपछि त्यस क्षेत्रका प्रभाबितहरुलाई औषधि, खाद्यान्न सहयोग जुटाएका थिए ।

    कलेज बिदा भएपछि क्याटिनमा बसेर उनीहरु कहाँ के सहयोग पुर्‍याउने भनेर छलफल गरिरहेका हुन्छन् । कामको बाँडफाँडको तयारी गरिरहेका हुन्छन् । गत वर्ष भूकम्पले भौतिक संरचनाहरु तहसनहस बनायो । दिनानुदिन भुकम्प पिडितहरु जाडोले गर्दा मरेको खबर आई रहेको थियो । पिडितहरुले अझ कष्टकर जीवन बिताइ रहेका थिए । उता थुप्रै गाउहरु राहत कुरिरहेका थिए । यस्तो अबस्थामा डोकोनाम्लो समुहमा आबद्ध यि तन्नेरीहरु चुप लागेर बस्न सकेनन् । उनीहरुले आपसमा सल्लाह गरे । सबैलाई लाग्यो, तत्काल घटनास्थल पुगेर केही सहयोग गर्नुपर्छ । मन भएपछि बाँकी कुरा आफै जुट्ने रहेछ । भुकम्प पिडितहरुका लागी उनीहरुले ‘न्यानो लुगा संकलन’ अभियान नै चलाए । महाभूकम्पपछि समस्यामा परेका दोलखा, लापिलाङका १ सय ५३ घरधुरीलाई ब्लांकेट र लत्ता, कपडा बाँड्न पुगे । ‘मन भएपछि जे पनि गर्न सकिदो रैछ ।’ भानु २ तनहुँकी अस्मिता दवाडी भन्छिन् । ‘हामीले करिब ८ लाख रुपैंयाँ बराबरको राहत संकलन गर्‍यौं ।’ त्यसबेला तीस जना विद्यार्थीहरुले दुई हप्तामै करिब आठ लाख रुपैंयाँ बराबरको राहत संकलन गर्न सफल भएका थिए ।

    राहत संकलन गर्न जाँदा यि तन्नेरीहरुले नमिठो अनुभव बटुलेका छन् । ‘कोहि यस्ता व्यक्ति पनि भेटिए, सहयोग गर्छु भनेर घरमा बोलाउने अनि घरवाट बाहिर ननिक्लने ।’ रसिकले अनुभब बाँडे, ‘केहि राम्रा व्यक्तिहरु छन् । देश–विदेशवाट सहयोग गरेर हाम्रो अभियानलाई सफल बनाइदिनेहरु पनि भेटिए । समाजमा हुने गरेका विकृति विसङ्गति, प्राकृतिक प्रकोपबाट पिडित, असहायहरुको सेवा गर्नुपर्दा उनीहरु अघि सरिहाल्छन् ।

    लिंकन कलेजका यि विद्यार्थीहरु अन्य युवाहरु भन्दा फरक सोच राख्छन् । उदयपुरको गाइघाट पुगेर त्यहाँका करिव सात सय युवालाई योग, ध्यान र क्षमता अभिविद्धिबारे तीन दिने तालिमको ब्यबस्था गरे । कसरी मानसिक तनाब हटाउने, कसरि माइन्ड पावर बढाउने र कसरी ब्यक्तिगत क्षमता अभिवृद्धि गर्ने विषयमा युवाहरु लाभान्वित बने ।

    उतिसारो मिडियामा नछाएको ‘डोकोनाम्लो समुह’ ले सोसल मिडियामा भने धेरैको ध्यान खिच्न सफल भईरहेको छ । मानसिक सन्तुलन गुमाएर लामो समयदेखी काठमाडौंमा अलपत्र परेका एक रसियन पर्यटक मागेरै दिन गुर्जाथे । राती सडकमा कुकुरहरुसंग निदाउँथे । उनलाई स्वदेश फर्काउन महत्वपूर्ण भूमिका खेलेपछि डोकोनाम्लोको प्रयासलाई धेरैले प्रशंसा गरे ।

    पटक–पटक रसियन दुताबास र प्रहरी चौकी धाएपछि यतिबेला अध्यागमन बिभागले अनुसन्धानपछि स्वदेश फर्काउने तयारी गरिरहेको छ । पर्यटन प्रहरी इकाइ, भृकुटिमण्डपको रेकर्ड अनुसार राजधानीमा अलपत्र परेका, साथै मानसिक सन्तुलन गुमाएका विदेसी नागरिकहरुको संख्या एक दर्जन भन्दा बढी छ । तिमध्ये अधिकांस अमानबिय क्रियाकलापमा संलग्न भएको र सर्बसाधारणहरुलाई दु:ख दिईरहेको प्रहरी तथ्यांक भेटिएको छ । ‘यस समस्याको समाधानमा सरकार, राजदुताबास र सम्बन्धित निकायले त्यति चाँसो नदेखाएको पाईयो ।’ डोकोनाम्लो अभियानमा क्रियाशिल मध्येका एक रसिकले सुनाए, ‘नेपाल र अरु अन्य देशको इज्जतको कुरा पनि आउँछ ।’

    बिभिन्न कारण स्वदेश फर्काउने नसकिएका तिनै पर्यटकहरुलाई आफ्नो देश फर्काउने अभियानमा तिब्रताका साथ लागिरहेका छन् । स्नातक तहको अध्ययन पूरा गरेपछि जागिर भन्दा सामाजिक सेवामै संलग्न हुने सोच राखेका छन्, यि तन्नेरीहरुले । ‘त्यस्तो काम गरौं जसका माध्यमबाट सामाजिक सेवामै समर्पित हुन पाईयोस् ।’ अस्मिता सुनाउँछिन्, ‘सामाजिक सेवासँगै हाम्रो खर्च पनि चलोस् ।’ आफूहरुले सूरुवात गरेको डोकोनाम्लो अभियानलाई अझ शसक्त रुपमा अघि बढाउन चाहन्छन् । सामाजिक कार्यमा सरिक भईरहँदा आर्थिक अभाबले सधैँ सताईरहन्छ । घरबाट जागिर गर्न उत्तिकै दवाव आईरहन्छ । ‘आर्थिक गाली खुब खाईयो ।’ सुदन भन्छन्, ‘हामीले फजुल खर्च गरेका पनि छैनौं ।’ बिभिन्न ठाउबाट जागिरका लागी प्रस्ताबहरु नआएका पनि होईनन् । तर, जागिरले आकर्षित गर्न सकेन । बरु आफूले मनैदेखी चाहेको काममा समर्पित भएर उनीहरु अघि बढे । समाज परिबर्तन हुने, अरुको भलाई हुने काम गर्नमा उत्साहित छन् यि तन्नेरीहरु ।

    लिंकन कलेजका यि विद्यार्थीहरु जस्तो चलचित्र हेर्न हल सम्म धाएका छैनन् । न त नाटक हेर्न कुनै थियटर नै पुगेका छन् । ‘जान त मन लाग्छ नि ।’ अस्मिता सुनाउँछिन्, ‘तर त्यसमा खर्च गर्ने पैसाले कुनै राम्रो काम गर्न पाए लाग्छ ।’ पैसाकै अभाबमा उनीहरु कहिलेकाहिं हिंडेरै टाढा टाढा पुग्छन् । राहत संकलन गर्ने क्रममा उपत्यकाका तीनै जिल्ला हिंडेको अनुभब छ उनीहरुसंग । ‘खाजा खान र गाडी चढ्न पैसै भएन ।’ रसिकले सुनाए ‘बिहान घरबाट निस्किएपछि एकैचोटी राती ९ बजे कोठा पुगिन्थ्यो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार