फिटनेश ट्रेनर सुरेश देवा : जो नेपाललाई विश्वसामु चिनाउन चाहन्छन्


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ २१, २०७८

  • पूजा काफ्ले
    काठमाडौं, २१ जेठ । चर्चित सेलिब्रेटी फिटनेश ट्रेनरका रुपमा परिचित छन्, देवराज पराजुली अर्थात् सुरेश देवा । ३४ वर्षअघि खोटाङमा जन्मिएका सुरेशको बाल्यकाल अन्य बालबालिकाभन्दा फरक रह्यो । सानो छँदा उनलाई हिंड्न असजिलो हुन्थ्यो । कारण, उनमा घुँडाहरु जोडिने समस्या थियो । जसले गर्दा स्कुलमा आयोजना हुने खेलकुदका क्रियाकलापमा भाग लिदैनथे । त्यतापट्टी उनको ध्यान नै पुगेन ।

    जब कामको सिलसिलामा सुरेश लेबनान पुगे, उनको भेट मिष्टर लेवनानसँग भयो । मिष्टर लेवनान तिनै थिए, जो शारीरिक सुगठनका नामी खेलाडी थिए । उनैसंगको संगतले शारीरिक सुगठन खेल र खेलाडीहरुका जीवनशैलीका सुरेशले प्रशस्त जानकारी बटुले । लेवनानमा बस्दा उनले अर्को उपलब्धि पनि हासिल गरे । उनले शारीरिक सुगठन खेलमा ट्रेलरको सर्टिफिकेट समेत लिएका थिए । हलिउडका चर्चित अभिनेता अर्नोड श्वार्जनेगरको जीवनीले त उनलाई मोहनि लगाईहाल्यो । अर्नोडको जीवनबाट उनी असाध्यै प्रभावित भए । व्यायामबाट सिंगो जीवनमा कायापलट गर्न सकिन्छ भन्ने कुरा अर्नोडकै जीवन कहानी पढेपछि उनले थाहा पाए ।

    ‘उनको कथा पढेपछि म एकदमै प्रभावित बनें ।’ हालैको एक कुराकानीमा सुरेशले सुनाए ‘उनी मेरो आइडियल पर्सन हुन् ।’ सुरुवातमा सुरेस शारीरिक सुगठन खेलमा लागे । बिस्तारै उनी पुरुष फिजिक्स बिधाति तानिए । २०७२ मा हिमालय किङ्गडम नेपाली फेडरेसन अफ बडीबिल्डिङद्वारा आयोजित प्रथम राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहमा चौथो स्थान हात पारेका सुरेशको संघर्ष कम्ति रोचक छैन । २०७२ मै राष्ट्रिय खेलकुद परिषदको आयोजनामा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शारीरिक सुगठन खेलमा ७० केजी तौल समूहमा उनले पाँचौ स्थान हात पारे ।

    सुरेश निरन्तर खेलकुदका क्षेत्रमा खटिरहे । ०७२ मै भएको एलाइनेट जिम धरानको आयोजनामा सातौं मिष्ट्रर पूर्वाञ्चल प्रतियोगितामा उनी ६५ केजी तौल समूहतर्फ रजत पदक हात पार्न सफल भए ।
    त्यसपछि त उनले सफलताको शिखर चुमिरहे । २०७५ मा सम्पन्न दोस्रो मिस्टर एभरेष्ट्र राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा १७० सि एम भन्दा तलको स्पर्धामा उनले स्वर्ण पदक प्राप्त गर्न सफल भए । जुन नेप्लिज फेडेरेशन अफ बडीबिल्डिङले आयोजना गरेको थियो । सन् २०१६ मा हङकङमा आयोजित अर्नोड क्लासिक एशियामा सुरेश पुरुष फिजिक्स प्रतियोगितातर्फ उत्कृष्ट १० मा पर्न सफल भए ।

    बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन बिभिन्न देश पुगिसकेका छन् । सन् २०१६ मा उनी भियतनाम पुगे । पाँचौ एशियाली विच गेम्स दानाङ्ग भियतनाममा उनले पुरुष फिजिक्स प्रतियोगितातर्फ पाचौ स्थान हात पारे । यस्तै सन् २०१६ मा ओलम्पिक एमेच्यार एशिया हङकङमा उनी पुरुष फिजिक्स प्रतियोगितातर्फ सहभागिता जनाउदै उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए ।
    सन् २०१७ मंगोलियाको उलनबट्टारमा आयोजित ५१ औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा प्रतियोगितामा उनी पुरुष फिजिक्स प्रतियोगिता १७० सि एम भन्दा तलको स्पर्धामा छैटौं स्थान हात पारे । यस्तै सन् २०१९ मा फुरजहा साउदी अरबमा आयोजित विश्व शारीरिक सुगठन प्रतियोगितामा उनी सहभागि बनेका थिए । अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भएको सफलता दर्साउन पुरुष फिजिक्स बिधा तर्फ सन् २०१७ मा शारीरिक सुगठनको महासंघ आइएफबिबिको विश्व र्‍याङकिङमा विश्वका खेलाडीहरु मध्ये ५८ औं स्थानमा उक्लिन उनी सफल भएका थिए ।

    काठमाण्डौंको सुन्धारास्थित फिटनेश पार्कका मास्टर ट्रेनर देवा कैयौं सेलिब्रिटीका पनि फिटनेश ट्रेनर हुन् । लकडाउन अगाडी उनले प्रत्येक दिन २ सय ५० जनालाई ट्रेनिङ दिन्थे । जहा बिभिन्न पेशाका जागिरे देखि नेपालका चर्चित सेलिब्रेटी, उद्योगी, खेलाडी, राजनितीज्ञहरु समेतले ट्रेनिङ लिइरहेका लिन्थे । अहिले लकडाउनले गर्दा त्यो क्रम छुटेको छ । लकडाउनमा उनी संगीत सुन्ने, युट्युवमा फिल्म, किताब पढ्ने, संगीत सुन्ने गर्छन् । अनलाइनबाटै क्लास लिन्छन् । र, सेलिब्रिटीहरुलाई गाइड गर्छन् ।

    फिट्नेस सेन्टर ज्वाइन गर्ने जो कोहीलाई पनि सुरुमा कार्डियोसँगै वेट ट्रेनिङमा कम तौल उठाउन लगाएर बिस्तारै तौल बढाउदै लैजानुपर्छ । फिजिकल अभ्यास गराउनुपर्छ । फिटनेश के का लागी ? देवा थप्छन्, ‘यो लाइफस्टायल हो । यसमा कति र कहिलेसम्म गर्ने भन्ने छैन ।’ शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउने उनको भनाई छ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिादैन भन्ने बुझ्न जरुरी छ, उनले भने, ‘लागुऔषधमा फसेका युवाहरुलाई समेत फिटनेशसम्वन्धी उत्प्रेरित गराएर यसबाट मुक्त गराउन सकिन्छ । यसले शरीर, मन र दिमाग स्वस्थ राख्न समेत मद्दत पुग्छ ।’

    उनी नेपाललाई विश्वसामु शारीरिक सुगठन प्रतियोगितामार्फत चिनाउन चाहन्छन् । धेरै देश पुगे पनि अझै उनको धोको पूरा भएको छैन । ‘हो, म शारीरिक सुगठन प्रतियोगितामा धेरै भन्दा धेरै अवार्ड जितेर संसारसामु नेपाललाई चिनाउन चाहन्छु ।’ उनी भन्छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार