सुरुवात गरौं – जसको नीति, उसैको नेतृत्व


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, कार्तिक २८, २०७८

  • किरण तिम्सेना

    वर्षौंदेखि बोलिदै आएको एउटा महान झूठ यो हो कि, एकदिन समाज आफैं बदलिन्छ । अहँ, अब परिवर्तन ल्याउनुपर्छ । पुत्ला जलाएर, ढुङ्गा हानेर झ्यालको सिसा फोरेर, रेलिङ्ग भाँचेरै समस्याको समाधान खोज्ने गलत परिपाटीलाई अझैँ शानका साथ अंगाल्ने या नयाँ सोच्ने ? समस्याको जडसम्म पुगेर समाधानका तरिका खोज्ने या ठोकठाके प्रवृत्ति जिवित नै राख्ने ? ३० बर्षे पञ्चायत र १० वर्षे माओवादी युद्ध र बेलाबखत भैराखेका राजनीतिक परिवर्तनले जनतालाई सरकार भनेको बिपक्षी र बिरोधी संस्था हो भन्ने चिन्तन विकास गरायो । नेपाली जनता राजनीतिक क्रान्तिको धङ्धङीबाट अझैँ बाहिर आउन सकेका छैनन् । केही समय लाग्छ । राजनीतिक क्रान्तिपछि हर दिन निर्वाचन झैँ राजनीतिक बहस हैन, विकास र समृद्धिका बहस आवश्यक हुन्छ । मुलुक नबने त्यस्ता देशका जनताले जति सम्पत्ति थुपारे पनि त्यो खोस्टो बराबर हुन्छ । हामीले प्रणालीको निरन्तरता र संस्थागत गर्ने कुरामा ध्यान दिनु जरुरी छ ।

    समस्या हाम्रो समाजका दलाल हुन समस्याको जड दलाल पुँजि हो । दलाली गरेरै पुँजि उत्पादन हुने । र, त्यो पुँजि उत्पादन र उपभोगको कुनै सीमा नहुनु नै हामीले भोग्दै गरेको मुल्यबृद्धि, बेथिति, अबसरबाद र दण्डहीनताको असली कारक हो । चेतनशील बनौं । कारक पहिचान गरौं । समाधानका मार्गहरु बैज्ञानिक ढंगले खोजौं । सत्तादेखि सत्तासम्मको आरोह–अबरोहलाई सघाउने दलाल पुँजीवादी विचारधारा, त्यो विचारधारा अंगाल्ने शोषक वर्ग । र, त्यो विचारधाराद्वारा शोषित हुने सर्वहारा वर्ग मध्य तपाई हामि उभिने कित्ता सर्वहारा वर्गको हुनुपर्छ भनेर सिकाउनेहरुले नै बाटो बिराएपछि समाजका अनेकन समस्याहरू आईलाग्छन् । हो, विचार र व्यक्ति फेरिन सक्छन्, उभिने कित्ता फेरिन सक्छ । तर, गास, बास, कपास, शिक्षा, स्वास्थ, रोजगारी, सुरक्षा जस्ता आधारभुत आबश्यकताका चिजहरुलाई चरम ब्यापारीकरण गरेरै पुँजि उत्पादन गर्ने र त्यही पुँजि प्रयोग गरेरै सत्ता प्राप्तिको मार्गमा अगाडी बढ्ने घातक प्रवृत्तिको सिकार हुनुपर्ने बाध्यतालाई चिर्न कै निम्ति समाजमा पटकपटक संघर्ष भएका छन् । हरेक संघर्षले नेता जन्मायो । हरेक आन्दोलनले व्यबस्था परिवर्तन गरायो । हरेक वादले नागरिकको बैचारिक स्तर बढायो । आलोचनात्मक चेतको विकास गर्‍यो ।

    बिडम्बना, जहाँ नेता, ब्यबस्था, वाद, चेतना सबैको विकास हुँदाहुँदै पनि भुइँमान्छेको अवस्थामा परिवर्तन आउँदैन या गरिखाने वर्गले गरिखाने वातावरण भेट्टाउनै मुस्किल पर्छ भने हरेकपटक भैआएका संघर्ष यायावर भैदिन्छन् । र, भएका छन् । निती ठूलो कुरो हो । नेता त आउछन्, जान्छन् । दुइ, चार थान गलत मनसाय भएका नालायक नेता कार्यकर्तालाइ देखाउँदै समग्र कम्युनिस्ट आन्दोलन गलत हो अनि सबै कम्युनिस्ट गलत हुन् भन्ने नकारात्मक मानसिकतामा परिवर्तन ल्याउने कि ? हामी नीतिनिर्माता हुने कि नेता निर्माता हुने ? हाम्रो लडाइ वर्गसंघर्षको हुने या कुर्सी संघर्षको हुने ? हामी अरुले बनाएको नितीमा हो मा हो मिलाउने या निती निर्माणमा जोडबल गर्ने ?

    हजारौं पुँजीवादी अबसरहरुलाइ लत्याउँदै समाजवाद स्थापनार्थ कम्युनिस्ट आन्दोलनमा होमिएका लाखौं कमरेडहरुले अब विचार गर्ने उपयुक्त समय आएको छ । नेता उभ्याउने कि नीति उभ्याउने ? कार्यकर्ताको फौज बोकेर बेरोजगार समाजलाई चिल्ला भाषण चुट्ने पुत्ला उभ्याउने या समाजलाइ उत्पादनतर्फ जोड्न सक्ने नीति उभ्याउने ? कुनैपनि राष्ट्र उचित नीति बिना अग्रगामी मार्गमा हिंडेको उदाहरण छैन । हरेक नागरिकलाई उत्पादनसँग जोड्न सक्ने, नागरिकमा भौतिकवादी चिन्तनको विकास गर्ने, कृषि, पर्यटन , विज्ञान प्रविधीमा नौलो खोज गर्ने, युवाहरूलाई सबल र सक्षम बनाउन उल्लेख्य भुमिका खेल्ने र विकासको उच्चतम गतीमा दौडिरहेको आजको ग्लोबल भिलेजमा आफ्ना सन्ततिलाई होस्टेमा हैंसै मिलाउन सक्ने बनाउन उचित नितीको खाँचो पर्दछ ।

    हामी निकै लामो समयदेखि दलाल पुँजीवाद विरुद्धको लडाइ लड्दै आएका छौं । दलाल पुँजीवादले हाम्रो समाजलाइ निकै नमज्जाले घेरेको छ । हाम्रो जीवनको हरेक मिनेटको मूल्य लगाइदिएको छ दलाल पुजीवादले । हाम्रो हरेक पाइलाको नाप लिएको छ दलाल पुजीवादले । हाम्रो हरेक अबसरको बाधक बनेको छ दलाल पुजीवाद । हाम्रो स्वतन्त्रताको भक्षक बनेको छ दलाल पुँजीवाद ।

    जताततै दलाल पँुजीवाद हावी हुनु नै हाम्रो समाजको सबैभन्दा ठुलो बिडम्बना हो । यो लडाइँ सहज छैन । यो मुक्ति सहज छैन । पाइला आज चालांै, ढिलै भएपनि सहि एकदिन गन्तव्यमा पुगिन्छ । त्यसैले अब हाम्रो नेतृत्व कस्तो हुने, कसले गर्ने, कसरी गर्ने र नेतृत्वले कस्तो नीति दिने भन्ने कुरामा हामी सतर्क हुनुपर्छ । अबको युग दलाल पुँजि र दलाल पुँजीवाद विरुद्ध लड्ने नीति कस्तो हुनुपर्छ भन्नेमा बहस चलाउनेहरुको युग हो ।

    दलाल पुँजीवादविरुद्ध नीति बनाउनेहरुको युग हो । त्यसैले जसको नीति उत्कृष्ट उसैको नेतृत्व समाजले स्विकार्ने हो । सुरुवात गरौं– जसको नीति, उसैको नेतृत्व ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार