राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन ४, २०७८

  • राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो।

    त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता सेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ९४ हजार ५०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लघुवित्तको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २६ करोड रुपैयाँ र चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ८ करोड ५० रुपैयाँ बराबरको आइपिओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ। लघुवित्तको आइपिओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आइपिओमा फागुन ४ गतेदेखि फागुन १३ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे फागुन १८ गतेसम्म म्याद थप हुनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था २०७५ असोज १४ गते कम्पनी राजिष्टारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो। कम्पनीले २०७५ माघ १६ गते नेपाल राष्ट्र बैंकबाट  ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी कारोबार गर्न अनुमति पाएको थियो।

    काभ्रेको बनेपा १३, साँगामा मुख्य कार्यालय रहेको लघुवित्तले २०७५ फागुन ८ गतेदेखि औपचारीक रुपमा वित्तीय कारोबार शुरु गरेको हो। लघुवित्तले हाल ३६ जिल्लामा ८८ वटा शाखा कार्यालयहरू मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। लघुवित्तको आइपिओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार न्युनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्ने परेको लघुवित्तले जनाएको छ। त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३२.६९ प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेर चुक्ता पूँजी २६ करोड रुपैयाँ पुर्याउन लागेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार