दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट खेलाडीको बिदाइ


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २०, २०८०

  • काठमाडौँ, २० पुस : दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ (उन्नाइस वर्षमुनि) विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले टोलीलाई सफलताको शुभकामना दिनुभयो । आगामी माघ ५ गतेदेखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा १६ राष्ट्रका खेलाडी सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् ।

    त्यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया छन् । प्रत्येक समूहका शीर्ष तीन टोली अर्को चरणमा प्रवेश गर्नेछन् ।

    नेपालले आइसिसी एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै विश्वकपको यात्रा तय गरेको थियो । नेपालले पहिलो खेल आगामी माघ ७ गते न्युजिल्यान्डसँग खेल्ने छ । दोस्रो खेल माघ १० गते पाकिस्तानसँग तथा तेस्रो खेल माघ १३ गते अफगानिस्तानसँग खेल्नेछ । त्यसअघि नेपालले यही पुस २८ गते स्कटल्यान्ड र माघ २ गते वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ ।

    क्यानले विश्वकपका लागि बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । नेपाली टोलीमा कप्तान खनालसहित गुल्सनकुमार झा, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशालविक्रम केसी, दीपक बोहरा, सुवास भण्डारी, दीपेशप्रसाद कँडेल, उत्तम थापा मगर, दीपक बोहरा, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार