युट्युबबाट चम्किएकाहरु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख २१, २०७६

  • पाटनमा जन्मिएकी प्रतिज्ञा तामाङले अमेरिका पुगेपछि आफ्नो नाम फेरिन् र राखिन्–प्रोमिस तामाङ । उनको नाम मात्र फेरिएन बिस्तारै संसारभर उनको पहिचान पनि फेरियो । अमेरिकाको क्यालिफोर्निया तथा लसएन्जल्सलाई कर्मथलो बनाएकी प्रोमिस मेकअप आर्टिस्ट तथा मेकअप गुरुका रूपमा परिचित छिन् । अंग्रेजी भाषाका उनका दुईवटा युट्युब एकाउन्ट छन्–प्रोमिस फान तथा डोप २१११ । पहिलो एकाउन्टमा १२ लाख १५ हजार ६ सय ४० तथा दोस्रोमा ५० लाख ९५ हजार ८ सय २२ फलोअर्स छन् ।

    प्रोमिस घरमै कसरी मेकअप गर्ने, कसरी सेलिब्रेटीहरूकै जस्तो रूप बनाउने जस्ता कुरा समेटिएका भिडियो अपलोड गर्छिन् । त्यसबाहेक बेलाबेला रमाइला भिडियोहरू पनि राख्छिन् । उनले चर्चित सेलिब्रेटीहरूको मेकअप समेत गर्दै आएकी छिन् । १५ वर्षकै उमेरमा अमेरिका गएकी तामाङले सोखका रूपमा सन् २००९ मा आफ्नै युट्युब खोलिन् । आमाबाट मेकअपका विधिहरू सिकिन् ।

    उनी यतिबेला अन्तर्राष्ट्रिय सेलिब्रेटीका रूपमा चर्चित भैसकेकी छिन् । प्रोमिस तामाङ संसारभरका लाखौं मानिसलाई मेकअप गर्न सिकाउँछिन् र आफ्ना भिडियोबाट अरूलाई मनोरञ्जन प्रदान गर्छिन् । बेलायत, अमेरिका, जर्मनी, भारत, फ्रान्स आदिका प्रख्यात मिडियाहरूले उनका बारेमा कभरेज गरेका छन् । प्रोमिसले बनाएका भिडियोहरूले झन्डै करोड भ्युज पाएका छन् भने तिनमा हजारौं कमेन्टको वर्षा हुन्छ । बेलाबेलामा उनी आफ्ना श्रीमान् स्टिभसँग भिडियोमा देखा पर्छिन् । प्रोमिसले सुरुमा नेपाली गीतमा नृत्य गरेको भिडियोसमेत पोस्ट गरिन् । त्यसपछि भने मेकअपसम्बन्धी भिडियोहरू अपलोड गर्न थालिन् ।

    दमक, झापाकी सोजना लोहार ०६५ सालदेखि मिडियामा सक्रिय छिन् । स्टेज प्रोगाम, एफएम, टिभी हँुदै उनी युट्युबसम्म पुगेकी हुन् । झापाको सप्तरंगी एफएम तथा हिमशिखर टेलिभिजनमा ३–३ वर्ष काम गरेपछि उनी युट्युबतर्फ आकर्षित भइन् । काठमाडौंको एउटा एनजिओमा काम गर्दागर्दै झ्याउ लागेपछि उनलाई ठ्याक्कै एक वर्षअघि मज्जाको टिभी युट्युब च्यानलमा काम गर्ने अवसर जुर्‍यो । त्यतिबेला मज्जाको टिभीको एकदमै चर्चा थियो । झन्डै ७ महिना काम गरेपछि घरायसी कारणले उनले मज्जाको टिभी छोडिन् । थोरै समय दिए पनि राम्रो पारिश्रमिक आउने भएकाले अहिले उनी युट्युबको फिल्मी फन्डा च्यानलमा ‘मन्डे मस्ती’ शीर्षकको कार्यक्रम चलाउँछिन् भने फिल्मी फन्डा डटकमका लागि समाचारसमेत लेख्छिन् ।

    ‘युट्युबमा के मजा छ ?’ सोजना भन्छिन्–‘युट्युबमा काम गर्दा छिटो फिडब्याक आउँछ । आफ्ना कमी–कमजोरी चाँडै थाहा हुन्छ । थोरै समय दिए पनि राम्रो पारिश्रमिक पाइन्छ ।’ सोजनाका अनुसार युट्युबबाट पहिचान बनाउन पनि सजिलो हुन्छ । देश–विदेशमा चिन्नेहरूको ठूलो जमात हुन्छ । यस क्रममा उनका साथी नेपालमा भन्दा विदेशमा बढी भए । सोजनालाई म्यासेजदेखि चकलेटसम्म पठाउनेहरू थुपै्र छन् । कतिले मोबाइन फोन नै ल्याइदिन्छन् । कतिले विवाहको प्रस्तावसम्म राख्छन् । ‘अहिले पनि प्रस्ताव त धेरै नै आउँछन् ।’ लामो हाँसो हाँस्दै उनले भनिन् । ‘मलाई विदेश घुम्न जान मन छ तर बाहिर बस्न भने मन छैन ।’ सोजना भविष्यमा आफ्नै मिडिया कम्पनी चलाउने सोचमा छिन् । त्यसमा पनि युट्युबमा उनको रुचि बढी छ । सोजनाको अनुभवअनुसार टेलिभिजनमा भन्दा युट्युबमा बढी कमाइ हुन्छ । टिभीमा बढी खट्नुपर्छ, तलब कम हुन्छ तर युट्युबबाट तुलनात्मक रूपमा बढी पैसा आउँछ । टिभीको एउटै फाइदा छ, त्यहाँ बढी सिक्न पाइन्छ ।

    युट्युबमा आउन चाहनेहरूलाई केही सिकेर आउन उनी सुझाव दिन्छिन् । अहिले युट्युबको जमाना छ । मानिसहरू भ्युज बढाउन जे पनि गर्छन् । यद्यपि क्यामेरा, एडिटिङ एवं प्रस्तुतिका बारेमा केही सिकेर आउनु उपयुक्त हुन्छ अन्यथा अघि बढ्न गार्‍हो छ ।

    बेलायतबाट स्नातक पूरा गरेर फर्किएकी कृषा बज्राचार्य युट्युबमा खानेकुरा तथा घुमघामका भिडियोहरू अपलोड गर्छिन् । उनले आफ्नो किच्चीभ्लग्स युट्युब च्यानलमा ४० हजारभन्दा बढी सब्सक्राइब पुर्‍याइसकेकी छिन् । सुरुमा उनले काठमाडौंको जीवनशैली, देखे–भोगेका कुरा तथा आममानिसकै भिडियोहरू अपलोड गरिन् । दरबारमार्गस्थित दरबार रेस्टुराँकी सञ्चालक कृषाको भिडियो हेरेपछि बिदेसिएका धेरैलाई नेपालमै छु कि जस्तो लाग्न थाल्यो । उनका भिडियो नेपाली परिकार तथा काठमाडौं सहरको जीवनशैलीका लागि लोकप्रिय छन् । अप्रत्यक्ष रूपमा भिडियोमार्फत उनको रेस्टुराँको प्रचार–प्रसार पनि भैरहेको छ ।

    युट्युब यस्तो प्लेटफर्म भैसकेको छ, जहाँ तपार्इं आफ्नो प्रतिभा, क्षमता देखाउन सक्नुहुन्छ । आफ्नो प्रतिभा संसारसामु प्रदर्शन गर्न अब अर्को कुनै माध्यम खोजिरहनु पर्दैन । आफूसँग भएको मोबाइलले खिचेरै, मोबाइलमै भिडियो सम्पादन गरेर अपलोड गर्न सकिन्छ । त्यसका लागि ठूलो लगानी र धेरै स्रोत–साधन जुटाउनुपर्छ भन्ने छैन । आफूसँग स्मार्टफोन छ भने त्यसकै सदुपयोग गरेर पनि गुणस्तरीय भिडियो बनाउन सकिन्छ ।

    सन् २०११ देखि भ्लग गर्न थालेकी एन्जिला तामाङको युट्युबलाई ९० हजारभन्दा बढीले सब्सक्राइब गरिसकेका छन् । एन्जिला भिडियोमार्फत कसरी घरमै मेकअप गर्ने भन्ने कुरा सिकाउँछिन् र आफूले घुमेका ठाउँका बारेमा रमाइला भिडियोहरू अपलोड गर्छिन् । मेकअप आर्टिस्ट दीपा गुरुङ अंग्रेजी तथा नेपाली दुवै भाषामा भिडियो बनाउँछिन् । हङकङलाई कर्मथलो बनाएकी दीपा चिनीयाँ एवं हिन्दी भाषा पनि राम्रोसँग बोल्छिन् । उनको दि दीपा स्किन केयर, मेकअप एन्ड लाइफ स्टाइल च्यानललाई ३ लाख ४३ हजारभन्दा बढीले सस्क्राइब गरेका छन् ।

    धनुषा, जनकपुरकी वर्षा बस्नेत, २१ वर्षमै आफ्नो बेग्लै पहिचान बनाउन सफल युट्युबर हुन् । उनी मिडियामा लागेको मात्र चार वर्ष भएको छ । सुरुमा काठमाडौंको एउटा एफएममा काम गरेकी बस्नेतले पछि मिडिया एनपी च्यानलमा डेढ वर्ष काम गरिन् । त्यही अनुभवका आधारमा साथी आकाश खड्कासँग मिलेर संयुक्त लगानीमा उनले सिनेपाटी युट्युब सुरु गरिन् जसको सिनेपाटी डटकम नामक वेबसाइट समेत छ । उक्त च्यानलले एक वर्षमै राम्रो चर्चा कमाइसकेको छ ।

    पब्लिक युथ क्याम्पसबाट बिजनेस स्टडिजमा स्नातक पूरा गरेकी वर्षाले प्लस टु अध्ययन गर्दागर्दै मिडियामा काम थालेकी हुन् । ‘कत्तिको रमाइलो छ युट्युबमा काम गर्दा ?’ ‘रमाइलै लागिरहेको छ । त्यो सँगै चुनौती पनि छ ।’ वर्षा भन्छिन्–‘चुनौती नभई काम गरेको मजा पनि हँुदैन ।’ एफएममा काम गर्दा उनलाई मेडिटेसन गरेजस्तो लाग्थ्यो । अहिले युट्युबमा काम गर्दा मानिसहरूसँग अझ बढी अन्तक्र्रिया हुन्छ र उनीहरूलाई नजिकबाट चिन्न पाइन्छ ।

    वर्षा यसमा अझ बढी रमाइरहेकी छिन् । वर्षाको पहिचान पनि चाँडै बन्यो । वर्षा नेपालमा भ्लगर सिसन बानियाँका सबै भिडियो हेर्छिन् । युट्युबको मिस मालिनी च्यानल उनले सबैभन्दा बढी हेर्ने च्यानल हो जसमा मेकअप, फेसन, अन्तर्वार्ता आदि सामग्री राखिएका हुन्छन् । तिनै भिडियो हेरेर पनि धेरै कुरा सिकेको उनी बताउँछिन् । धेरै कुरा एउटै सानो भिडियोमा समेटिएका हुन्छन् । त्यसबाट आफूलाई सुधार्न समेत मद्दत मिल्छ । नेपालमा युट्युबको सम्भावना राम्रो भएको वर्षा बताउँछिन् । आफूले पनि ज्ञान–सीप हासिल गर्दै गयो भने यसबाट राम्रो कमाइ गर्न सकिन्छ ।

    युट्युबमा यस्तै भिडियो अपलोड गर्नुपर्छ भन्ने छैन । तपाईंलाई जेमा रुचि छ, ज्ञान छ त्यस्तै विषयका भिडियो अपलोड गर्न सक्नुहुन्छ । रूपसी बस्नेतको उदाहरण लिउँ न । ८० हजार सब्सक्राइब पुर्‍याउन सफल रूपसी अरूको अभिनय गरेर, आफ्नै रूप बदलेर, रमाइला संवादहरू समेटेर भिडियो अपलोड गर्छिन् । समसामयिक, जल्दाबल्दा, मानवीय अभिरुचिका विषयमा भिडियो तयार पार्ने रूपसी सन् २०१५ को अक्टोबरदेखि युट्युबमा सक्रिय भएकी हुन् । छोटो अवधिमै उनको लोकप्रियता निकै माथि पुग्यो । ५१ हजार सब्सक्राइब पुर्‍याउन सफल लखिल्या त्यस्तै अर्की उदाहरण हुन् । मेकअप टिप्स तथा घुमघाम तथा अन्य समसामयिक विषयमा रोचक भिडियोहरू अपलोड गर्ने लखिन्याका दर्शकहरूको संख्या क्रमश: बढिरहेको छ ।

    कसरी सुरु भयो युट्युब ?

    १३ वर्षअघि सुरुवात भएको युट्युबले छोटो समयमै चर्चा कमायो । सबैभन्दा बढी इन्टरनेट खपत गर्ने युट्युबको सुरुवात च्याड हर्ले, स्टिभ चेन तथा जावेद करिमले गरेका हुन् । नोभेम्बर २००६ मा गुगलले १ दशमलव ६५ बिलियन डलरमा खर्च गरेर यो साइटको स्वामित्व आफ्नो बनायो । अहिले विश्वका ८८ देशमा युट्युब प्रयोग हुन्छ । युट्युबमा ती देशहरूबाट ७६ भाषाका भिडियो अपलोड हुन्छन् । युट्युबमा हरेक मिनेट ४ सय घन्टाभन्दा बढीका भिडियो अपलोड हुन्छन् । युट्युबमा अपलोड भएकामध्ये डेस्पासिटो सबैभन्दा बढी पटक हेरिएको भिडियो हो । १२ जनवरी २०१७ मा अपलोड भएको उक्त भिडियो ५ अर्ब ६८ करोड ९ लाख ४५ हजार पटक भ्युज पाएर पछि ह्याक भयो ।

    २३ अप्रिल २००५ मा युट्युबमा पहिलो भिडियो अपलोड भएको थियो । युट्युबका सहसंस्थापक जावेद करिमले २३ अप्रिल २००५ मा ‘मी एट द जु’ शीर्षकको उक्त भिडियो अपलोड गरेका थिए । १८ सेकेन्डको उक्त छोटो भिडियो करिमका मित्र याकोव लापित्स्कीले खिचेका थिए । अहिलेसम्म ४८ लाखभन्दा धेरै पटक हेरिएको उक्त भिडियोमा जावेद सन डिएगो सहरको एउटा चिडियाखानामा हात्तीहरूका अगाडि उभिएर तिनीहरूका बारेमा कुरा गर्छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार