चेलीहरुकी आशा


  • Frontline Nepal

आशा लामा (अधिकारकर्मी)

बिहान ५ बजेपछि अधिकारकर्मी आशा लामाले ओछ्यान छोडिसक्छिन् । आर्ट अफ लिभिङको कोर्सले उनलाई फरक शैलीमा जिउन सिकाएको छ । लामो स्वास तान्ने प्रक्रियापछि योगा गरेर उनको दैनिकी सूरु हुन्छ । आफ्नै हातले बनाएको ग्रिन टि र ब्रेकफास्ट लिएर आमाको छेउ पुग्छिन् । ब्रेकफास्टमा रुपमा सुख्खा रोटी, सब्जि, दुध, चपाति लिन्छिन् । आशाको सबैभन्दा नजिकको साथी हुन्, ९४ वर्षिया उनकै आमा । बिहान ग्रिन टि र ब्रेकफास्ट लिदै दुई घण्टा आमासंग गफ गरेर बिताउँछिन् ।

स्वतन्त्र रुपमा जिउन रुचाउने आशाले जीवनमा विवाह गरिनन् । धर्मपुत्रका रुपमा दुई छोरा र दुई छोरीलाई भने पढाईरहेकी छिन् । उनी जनावर प्रेमी हुन् । घरमा चार वटा कुकुरहरु पालिरहेकी छिन् । ति पनि उनलाई आफ्नै सन्तान जत्तिकै प्यारा लाग्छन् । उनी प्राय: बिहान १० बजेतिर सामाखुसिस्थित आशा फाउन्डेसन अफिस निस्किन्छिन् । केही हप्ताअघि मध्यान्ह उनको कार्यालयमा पुग्दा रोजगारीका लागी विदेश जान लागेका चेलीहरुलाई सुझाब, सल्लाह प्रदान गरेर सतर्क गराउँदै थिईन्– कसैसंग बोल्दा नडराउनु, आत्मविश्वास लिएर काम गर्नु । अरुसंग कसरी ब्यबहार गर्ने, कोठा कसरी सजाउने यसबारे उनी ज्ञान बाँडिरहेकी थिईन् । एकछिनपछि उनी गफिन आईपुगिन् । ‘तल्लो तहका चेलीहरुलाई माथि उठाउन चाहन्छु ।’ बोल्दा बिचबिचमा अंग्रेजी शब्द घुसाइरहने आशाले सुनाइन्, ‘म आवाजबिहिनहरुको आवाज हो ।’

 

आशा परदेशमा बिचल्लीमा परेका चेलीहरुको उद्धारमा सक्रिय छिन् । पछिल्लो समय सिरियामा बिचल्ली परेकी रेनु मगरको उद्धार गर्न उनी सफल भईन् । उनले परदेशमा बिचल्ली परेका डेढ दर्जन भन्दा बढी चेलीहरुको उद्धार कार्य गरिन् । प्रत्यक्ष आफै पिडितहरुसम्म पुगेर उद्धार गरेर स्वदेश ल्याउने क्रममा कैयौं पटक दलालहरुले उनलाई धम्की दिए । डर देखाए । तर पनि उनी आफ्नो उद्देश्यबाट कत्ति पनि बिचलित भईनन् । परदेशमा कोही चेलीहरु पिडित हुन नपरोस् । सबैलाई न्याय मिलोस् भन्ने चाहनाले उनले त्यो लडाइ रोकेकी छैनन् । कैयौं विदेशीहरुको उनको सहयोगबाट परदेशमा बिचल्ली परेका, उद्धार गरिएका चेलीहरुबारे डकुमेन्ट्री

 

यो संगै विदेश पुग्दा उनले नेपाललाई चिनाउने थुप्रै गतिबिधीहरु गर्दै आईरहेकी छिन् । दुबइमा ‘नेपाल हाउस’ स्थापना गरेर उनले नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने कार्यक्रमहरुको आयोजना गरिन् । नेपाल हाउस मार्फत हस्तकलाका सामानहरु प्रदर्शन गर्ने, गीत, संगीत, नेपाली परिकार, यहाँको कला, संस्कृतिबारे जानकारी दिने काम गरिन् ।

 

आशा आफूलाई ब्राण्ड कन्सियस ठान्दिनन् । ब्राण्डले व्यक्तित्व निर्धारण गर्दैन भन्ने उनको ठम्याई छ । चोर, डाँकाहरुले महंगो ब्राण्डका सामानहरु प्रयोग गर्दैमा उनीहरुको व्यक्तित्व उचो हुने होईन । उनी तर्क गर्छिन् । संगीतप्रति उनको गहिरो अभिरुचि छ । मुड अनुसार उनी फरक–फरक खालका संगीत सुन्ने गर्छिन् । चलचित्र हेर्न भने उनी खासै रुचाउँदिनन् । पहिले पहिले भने हेर्ने गर्थिन् । अमिर खान, सल्मान खान, शाहरुख खान उनका मनपर्ने अभिनेता हुन् । बजरंगी भाइजान हेरेका मध्ये मन परेको चलचित्र हो । स्कुल, कलेज र विश्वविद्यालयमा पढ्दा उनी खुब पुस्तकहरु पढ्ने गर्थिन् । जीवनी, गैरआख्यान  स्वास्थ्यसंग सम्बन्धित पुस्तकहरु पढ्न उनलाई बिशेष अभिरुचि छ । समाचार, लेखहरु पढ्न अनलाइनकै सहारा लिन्छिन् । वैदेशिक रोजगार, महिला शसक्तिकरण, यस सम्बन्धि सरकारले ल्याएको निती नियम, अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले प्रकाशन गरेका रिपोर्टहरु खोजीखोजी पढ्छिन् ।

 

आशा घुमघाममा निकै रुचि राख्छिन् । संयुक्त अरब इमिरेट्स, मलेसिया, सिंगापुर, थाइल्याण्ड, पाकिस्तान, इटाली, फिलिपिन्स र श्रीलंका घुम्दा विदेशको कला, संस्कृति, जीवनशैली नजिकबाट सिक्ने मौका पाइन् । मानिसहरुसंग जोडिन, नयाँ कुरा सिक्न उनलाई एकदमै मनपर्छ । यसरी घुम्ने क्रमममा नया मानिसहरु भेटिदा उनीहरुको घर, परिवारदेखी स्थानिय कला, संस्कृति, चालचलनबारे बुझ्न खोज्छिन् । २, ३ बजेतिर उनको खाना खाने समय हुन्छ । उनलाई एकदम सादा खाना मनपर्छ । अफिसको किचेनमा दाल, भात, तरकारी पाक्छ । ल्याम्प चप्स (खसीको मासुको चप) उनको प्रिय परिकार हो ।

 

आशालाई सादा पहिरनमा हिंड्न मनपर्छ । सारी उनको सबैभन्दा मनपर्ने पहिरन हो । दुबै हातमा औंठीहरु लगाएकी उनी अरु बेला सल्वार, कुर्ता लगाएपनि विशेष कार्यक्रम र पार्टीहरुमा जाँदा उनी सारीमा सजिएर हिंड्छिन् । आशा भगवानमा विश्वास गर्छिन् । यो अबस्था सम्म आइपुग्नुमा उनी भगवानकै ‘आर्शिबाद’ रहेको महशुष गर्छिन् । भगवानमा आस्था राखेपनि मन्दिर भने त्यति जाँदिनन् । भाग्यमा भन्दा उनी कर्ममा विश्वास गर्छिन् । उनलाई लाग्छ, सफलता पाउन भाग्य पनि चाहिन्छ । कति वर्ष बाँचियो उनका लागी त्यसले खासै अर्थ राख्दैन । ‘अर्काका लागी बाँच्न सक्नुपर्छ ।’ उनले भनिन्, ‘प्रत्येक क्षण म जीवन बाँच्नुको आनन्द लिईरहेकी छु ।’

 

आशा घर फर्किदा साँझको ६ बजिसक्छ । घर पुग्दा सूरुमै उनी आमाको कोठामा पस्छिन् । आमालाई कसरी खुसी बनाउने अनेक प्रयत्न गरिरहन्छिन् । उमेर जति पुगेपनि आमाको अगाडी उनी आफूलाई बच्चा नै ठान्छिन् । आमाबिना आफू खुसी हुन सक्दिन जस्तो लाग्छ । आमा पनि उनलाई हिरामोती जत्तिकै ठान्छिन् रे । ‘उहाँको खुसी नै मेरो खुसी हो ।’ मुस्कुराउँदै उनी बोलिन्, ‘नाँचेर, गाएर, हाँसेर जसरी हुन्छ म आमालाई खुसी बनाउँछु ।’ उनलाई खासै एक्लोपनको महशुष हुँदैन । आफू भन्दा अरुका लागी बढी काम गर्ने हुनाले उनीसंग फुर्सदको समय नै हुँदैन । कुनैबेला त उनी आफू ‘आनि’ बन्नुपर्ने जस्तो लाग्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट