विकलसँग बिताएका पल


  • Frontline Nepal

नरेन्द्र रौले

मङ्सिर महिनाको मध्यान्ह छ । चिसो मौसम । आरुबारीको रौनक बेग्लै छ । बाँसका रूख हल्लिरहेका छन् । केही पर हरियो जङ्गल । एउटा बूढो पीपलको रूख नजिकै रहेको घर । त्यसैको छतमा बसेर पारिलो घाममा जिउ तताइरहनु भएको थियो वरिष्ठ साहित्यकार रमेश विकल, जो यतिखेर हामीमाझ हुनुहुन्न ।

 

कान्तिपुर दैनिकका कोसेलीका फिचर सम्पादक दीपक अधिकारीको अनुमतिले रमेश विकलको अन्तर्वार्ता लिन मङ्सिरको पहिलो हप्ता आरुबारीस्थित उहाँको निवासमा पुगेको थिएँ । जुन अन्तर्वार्ता प्रकाशित भएको हप्ता दिन नबित्दै उहाँ सधैँका लागि बिदा हुनुभयो । सम्भवतः उहाँलाई भेेटेर मैले लिएको अन्तर्वार्ता नै अन्तिम होला । त्यसपछि केही दिनमा उहाँ बिरामी भएर अस्पताल भर्ना हुनुभयो ।

 

उमेरले चार बीस काटेर बुढ्यौली लागे पनि साहित्य सिर्जनालाई निरन्तरता दिन्छु भन्नुभएको थियो । ओछ्यानमा पल्टेर उहाँ केही लेखिरहनुभएको थियो । म त्यहाँ पुग्ने बित्तिकै छतबाट तल उहाँको आफ्नै कोठामा बस्याँै, जहाँ उहाँले बनाएका पोर्टेटले एकोहोरो हामीतिर नियालिरहेका थिए जसरी सम्झनाको एल्बमबाट अहिले विकलको तस्बिरले मलाईं चियाइरहेको छ ।

चालीसे गाउँ आरुबारीबाट सुरु भएको उहाँको बाल्यकालदेखि जीवनको अन्तिम क्षणसम्मको सिर्जना यात्राबारे चियाको चुस्की लिँदै हामी झण्डै दुई घण्टा गफियौँ । अझै कति गफिन मन थियो । सचेत भएर २० वर्षको उमेरदेखि लेख्न थालेका विकलले बाल्यकाल सम्झदै- ”गाउँमा बूढापाकाहरूले रमाइला कथा सुनाउँथे । हजुरआमाले पनि घरमा कथा सुनाउनुहुन्थ्यो । म आफ्ना साथीहरू बटुलेर तिनै कथाहरूमा नयाँ कुरा मिसाएर फरक पारामा सुनाउँथे, पछि तिनै कथाहरूलाई निगालाको कलमले रूखबाट बनाएको मसीमा चोबेर लेख्थँे ।”

हिजोका तिनै कथाहरूको प्रतिफल हो अहिलेको अजर अमर रमेश विकल, जो नेपाली साहित्यको आकाशबाट कहिल्यै नअस्ताउने नक्षत्र बन्यो । आख्यान जगत्मा प्रसिद्धि कमाएका यी सर्जकसँग पत्तै भएन समय बितेको । समय बलवान् छ । त्यो क्षण उहाँलाई कतै हतार भएको थियो, फेरि भेट्ने वाचा गर्दै उहाँले भन्नुभयो- “नरेन्द्रजी आज मलाई अन्त जानु छ । अर्को दिन मौका पारेर आउनुहोस् न । दिनभरि बसेर गफ गरौला नि ।” दिनभरि सँगै बसौँला भनेर बिदा गर्नुभएका विकलसँग एक पल पनि बस्न नपाई सधँैका लागि छोडेर टाढा हुनुभयो । बुधबार मध्यान्ह अचानक एफएममा उहाँको निधन भएको खबरले मलाई स्तब्ध बनायो । म झसङ्ग भएँ ।

 

पत्याउन सकिनँ । उहाँले फेरि भेटौँला भन्ने त्यो वाचा पूरा होला भन्ने लागेको थियो । एउटा इमानदार लेखकले आफ्नो वाचा पूरा गर्न पाउनुभएन । कालको अगाडि हार्नुपर्‍यो । उहाँको दुःखद मृत्युको खबर आइरहँदा नपत्याइरहन सकिएन । त्यस बेला अन्तर्वार्ता लिएको सम्झना मीठो याद बनेर पलपलमा आइरहृयो । सँगै बसेर खिचिएको फोटो घरीघरी हेरिरहेँ । लाग्यो, विकल मेरो सामुन्ने बोलिरहनु भएको छ । म उहाँसँग मनका कुराहरू साटिरहेको छु । निरन्तर प्रश्नहरू तेस्र्याइरहेको छु तर अब मेरो सम्झनामा मात्रै सीमित भए विकल । जोसँग केबल कल्पनामा बाहेक कहिल्यै भेट्न सकिने छैन अब ।

 

विकलले साहित्यलाई कहिल्यै पेशाका रूपमा लिनु भएन । साहित्य पेशा बन्न सक्दैन भन्ने धारणा राख्न उहाँ देशको राजनीतिक, आर्थिक समस्याले पिरोलिइरहनुहुन्थ्यो । समाजका विकृति, विसङ्गति हटाउन र समाजको जागरणका लागि आफूले लेख्ने गरेको बताउने उहाँलाई साहित्य पेशा बनाउन खोज्नेलाई तपाईंको सल्लाह के छ भनेर सोद्धा उहाँले भन्नुभएको थियो- “साहित्य पेशा हुँदै होइन, यो त सेवा हो । साधना हो । कसैले पैसा कमाउने उद्देश्य राखेर लेख्न खोज्छ भने म उसलाई सल्लाह दिन्छु, साहित्य साधना गर्न छोडेर उसले भ्रष्टाचार गरोस्, तस्करी गरोस् ।” विकलको लेखनमा सधँै गरिब र निम्न वर्गका पात्रहरूले स्थान पाउँथे । मधुमालती, लुखुरे, सडक बढार्ने न्हुछेमाया, चटरी पसल्नी, काइलि अजि, द्वारे बा, घमाने, खलाल, रामवीरे, मन्दिर अगाडि उभिएर फूल दिने प्रतिमा सबै उहाँका कथाका प्रमुख पात्रहरू हुन् । राम्रो साहित्य सिर्जना गर्न विषयवस्तुको ज्ञान, छनोट, भावना, प्रतिभा, साधना र सीपको आवश्यकता हुनुपर्छ भन्ने उहाँको ठम्याई थियो । विशेष गरी कथा लेखनमा प्रसिद्धि कमाएका विकलले उपन्यास, नाटक, नियात्रा र बाल साहित्यमा पनि कलम चलाउनु भयो ।

उसो त रमेश विकलका उत्कृष्ट कथाहरूलाई ‘अ लिफ इन बेगिङ् बोल’ का नाममा लेखिका मञ्जुश्री थापाले अङ्ग्रेजी अनुवाद गरेकी छन् । पछिल्लोपटक उहाँले मेरी शेलि -पिबी शेलीकी श्रीमती)को विज्ञान उपन्यास प|mयाङ्कस्टेइनलाई नेपालीमा भष्मासुर नाम दिएर अनुवाद गर्दै हुनुहुन्थ्यो । आफ्नो आत्मकथाको दोस्रो भाग पनि अगाडि बढाउँदै हुनुहुन्थ्यो । निरन्तर आफ्नो जीवनमा लेख्न चाहनेको अचानक लेखनको गति रोकियो । मृत्युले उहाँको बाटो छेकेर आफूसँगै लिएर गयो । उहाँ लेखिरहँदा मैले सोधेँ,’संसार छाड्नुअघि के गरेर जान पाए हुन्थ्यो जस्तो लाग्छ ?’ उहाँले भन्नुभयो- “साहित्य सिर्जना गर्दागर्दै जान पाए हुन्थ्यो जस्तो लाग्छ । साथै मलाई समाज र देशको अति माया लाग्छ । यसैको उन्नति, प्रगति हुने कार्य गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।”

 

बाल्यकालका सम्झनाहरू एकपछि अर्को गर्दै उहाँको स्मृतिमा नाँचिरहेका थिए । बिर्सनै नसकेको क्षण सम्भिmन पनि भल्नुभएन । एक दिन घर नजिकैको कुलोमा माछा मार्न जानुभएछ । खेतका हिले माछा मारेर घरमा ल्याई पोल्दा माछाहरू निकै छट्पटाउँदा ज्यादै ग्लानि भएछ । सम्झदै- ”ममा निकै पश्चाताप भयो, ठूलो पाप गरेछु भन्ने लाग्यो । आफ्नो टाउको भित्तामा ठोक्दै निकै बेर रोइरहेँ ।”

 

रङ्गीचङ्गी माटोले पोतिएका औंलामा गन्न सकिने काँचो इँटाका घरहरू, परालले छाएका छानाहरू अब आरुबारीमा छैनन् । जताततै घरैघर छन्, ढोका अगाडि गाडी मोटर गुडिरहेका छन् तर अझै गाउँले परिवेश भेटिन्छ आरुबारीमा । फर्केर आउँदा जिज्ञासा राखेको थिएँ- ‘अर्को जुनीमा के बन्ने रहर छ ?’ विकलले- ”अर्को जुनीको कुनै निश्चित छैन । यो त आत्माको रूपान्तर मात्र हो । भोलि म रमेश विकल नै भएर कहाँ जन्मन्छु र ? भन्नुभयो- अर्को जुनीमा के बन्ने त्यो निश्चित नभए पनि विकलले संसार छोडेर जाने निश्चित छ । साँच्चै विकल अर्को जुनीमा के बन्लान् त्यो चाहिँ कसैलाई थाहा छैन । मलाई भने पलपलमा उहाँसँग भएको अधुरो भेटको सम्झना आइरहन्छ । उहाँलाई भेट्ने मेरो चाहना कहिले पूरा होला ? कहिलेकाहीँ फेरि भेट हुन्छ कि जस्तो लाग्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार