अविरल विकल


  • Frontline Nepal

नरेन्द्र रौले

सहरी कोलाहलदेखि पर कुनाको आरुबारी टमस हार्डीको उपन्यास ‘फार फ्रम द म्याडिङ क्राउड’ झैं लाग्छ । सुन्दर गाउँदेखि अलि पर हरियो जंगल छ । बाँसका बाक्ला रूखहरु आफ्नै गतिमा हल्लिरहेका छन् । जाडोयाममा सबैका लागि प्यारो लाग्ने न्यानो घामले स्पर्श गर्छ । आरुबारी चोकैमा एउटा बूढो पीपलको रूख ठिंग उभिरहेको छ । त्यसको नजिकै एउटा घरको छतमा उमेरले ८० पुगेका वृद्घ केही लेखिरहेका छन् ।
आठ दशक पार गरसिक्दा पनि रोकिएको छैन रमेश विकलको साहित्य सिर्जना । नदी बगिरहेझैं निरन्तर छ -त्यसो त उनको एक उपन्यासको शीर्षकै छ, ‘अविरल बग्दछ इन्द्रावती’) । दिनहुँ केही न केही लेखिरहेका हुन्छन् उनी । फुटकर रचना कति लेखिए थाहा छैन । किताबका रूपमा भने झन्डै एक दर्जनजति प्रकाशित छन् ।
भर्खरै साझाबाट प्रकाशित उनको आत्मकथा ‘मेरो अबिरल जीवन गीत’ को दोस्रो खण्ड लेख्ने तयारीमा छन् हिजोआज । उनी नेपालीमा सिर्जनामात्र गर्दैनन्, अंग्रेजीका स्तरीय पुस्तकको अनुवादसमेत गर्छन् । अमेरकिी लेखक ज्याक लन्डनको ‘द सि उल्फ’ लाई ‘समुद्री हुँडार’ नाम दिएर नेपालीमा अनुवाद गरेका छन् । उनले अनुवाद गरेको मेरी सेली -कवि पर्सि बेसी सेलीकी पत्नी) द्वारा लिखित विज्ञान उपन्यास ‘प्याङ्केस्टाइन’ नेपालीमा ‘भष्मासुर’ शीर्षकमा चाँडै आउँदै छ । प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्म पढाइन्छन् र पढिन्छन् रमेश विकलका कथाहरू ।
बोर्डिङको पाठ्यक्रममा समेत राखिएका छन् पनि । उनले कसरी लेख्न सिके होलान् ? सम्झनाको एल्बममा पुराना हुँदै गएका दिनको स्मरण गर्छन्- ‘उ बेला आरुबारी सानो गाउँ थियो । त्यस्तै ६/७ घर थिए होलान् चालिसे गाउँमा ।
पराल, छ्वाली र जस्ताले छाएका घरहरू रातो, सेतो, पहेंलो माटाले पोतिएर रंगीचंगी देखिन्थे । गाउँघरमा बूढापाकाहरूले सधैंजसो कथा सुनाउँथे । राति घरमा हजुरआमाले पनि रमाइला कथाहरू सुनाउँथिन् ।
म आफ्ना साथीहरू बटुल्थें र तिनै कथाहरूमा नयाँ कुरा थपेर सुनाउँथे ।’ यसरी सुरु भयो उनको कथा-यात्रा । फरक शैली र प्रस्तुतिमा सुनाएका कथाहरू साथीभाइले बडो चाख मानेर सुन्दा उनलाई हौसला मिल्यो । त्यो बेला निगालाको कलमले रूखका पातबाट बनेको मसीमा चोबेर लेख्ने चलन थियो । ‘अहिले त लेख्नु भनेको भात खानुजस्तै लाग्छ,’ उनी भन्छन्- ‘नलेखी बस्नै सक्दिनँ ।’ तन्नेरी छँदा प्राय राति लेख्ने बानी थियो । हिजोआज बिहानै साढे ४ बजे उठिसक्छन् ।
नुवाइधुवाइ गरेपछि नियमित योग र व्यायाम गर्छन् । अनि सुरु हुन्छ उनको लेखन ।विकल सीमान्तकृत समुदायका प्रवक्ता हुन् भन्दा फरक पर्दैन । उनका कथामा गरबि र निम्न वर्गीय पात्रको बाहुल्य हुन्छ । सडक बढार्ने न्हुछेमाया, लाहुरी भैंसीका लुखुरे हुन् वा चटरी पसल्नी, काइँली अजी, द्वारे वा सबै विकलका कथामा अटाएका छन् ।
त्यसो हुनुमा उनको बाल्यकालको प्रभाव रहेछ । गाउँमा निम्न वर्गका किसान, ज्यामीका छोराछोरीसँग संगत हुनेगथ्र्यो । तिनैसँगको उठबस, हिँडडुल र तिनका दुःख पीडालाई उनले लेखनमा उतारे । घुमेका ठाउँ, भेटिएका पात्र, घटना र प्रसंग पनि मिसिन्छन् उनका लेखाइमा । लेख्नकै लागि भनेर उनी इन्द्रावती पुगेका छन् । त्यहाँको मण्डन गाउँमा एक महिना बसे । माझीहरूको बसोवास भएको गाउँमा तिनको चालचलन, रीतिरवाज, बसाइउठाइ नजिकबाट नियाले ।
तिनै कुराहरूलाई समेटेर उपन्यास लेखे, ‘अबिरल बग्छ इन्द्रावती’, जसको पछि नेपाल टेलिभिजनबाट टेलिशृंखलाका रूपमा समेत प्रसारण भयो । दर्शकहरूले त्यसलाई खुबै रुचाए । ‘लाहुरी भैंसी’ लेख्दाको पनि रमाइलो प्रसंग छ । दसैंमा टीका लगाउन ससुराली इन्द्रावती गएछन् । सासूले निकै माया गर्ने रहिछन् उनलाई ।
सधैं ससुरालीमै बसौंबसौं लाग्दो रहेछ । त्यहाँ आएका उनका साडुभाइले हप्काउँदै एकदिन भनेछन्, ‘ससुरालीमा धेरै दिन बस्नुहुन्न । पछि तिमीलाई हेला गर्छन् ।’ केटौले उमेरका विकलले उनको कुरा पत्याए । पछि दुवैजना सँगै घर र्फकंदा बाटोमा साडुले भैंसी किनेछन् । घरमा लगेर छोराछोरीभन्दा बढी यो भैंसीको स्याहार गरेछन् । सोही कहानीलाई कथा बनाए । मन्दिर जाँदा ‘फूल लिनोस् बाजे’ भन्ने केटीलाई लिएर ‘स्वाना बाज्या’ -फूल लिनोस् बाजे) कथा लेखे । नयाँ सडकको पेटीमा माग्ने केटाकेटी देखेपछि ‘फुटपाथ मिनिस्टर्स’ कथा लेखे ।
विकलले साहित्यलाई पेसाका रूपमा कहिल्यै अपनाएनन् । भन्छन्, ‘अहंकार नसम्भिmनुस्, मैले कहिल्यै पैसाको मुख हेरिन। जे लेखें समाजका लागि लेखें र त्यसैमा रमाएँ ।’ साहित्यलाई पेसा बनाउन सकिँदैन भन्नेमा उनी ढुक्क छन् । उनका किताबका मुख्य प्रकाशक प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन र केही ठूला दैनिकबाहेक अरूले रचनाको पारश्रिमिक नै दिँदैनन् ।
यदाकदा विदेशी साहित्य चोरेको आरोप झेलेका छन् विकलले । त्यसलाई उनी चोरेको नभई प्रभावका रूपमा लिन्छन् । भन्छन्, ‘मूल भाव एउटै र विषय एउटै हुन्छ तर शैली र दृष्टिकोण फरक हुन्छ । कसैले चोरी भन्छ भने म त्यसमा प्रतिवाद गर्न चाहन्नँ ।’कमैलाई मात्र थाहा होला, रमेश विकल चित्रकार पनि हुन् भनेर । उनका कोठामा बुबा, आमा, हजुरआमा र श्रीमतीका चित्र झुन्डिएका छन् । गन्यो भने झन्डै सयवटा पुग्लान् ।
महाकवि देवकोटा, युद्धप्रसाद मिश्र, गोपालप्रसाद रिमाल, नातिकाजीदेखि आइन्सटाइनसम्मका पेन्टिङ छन् । कतिले प्रदर्शनी गरौं पनि भनेका छन् रे । बुबाले बनाएको रेखाचित्र हेर्दाहेर्दै उनको ध्यान कथाबाट चित्रकलातिर मोडिएछ । ललितकलामा गएर चन्द्रमान मास्केसँग कला सिक्न भ्याएछन् । एकपटक उनमा गायक बन्ने धुन पनि चढेछ । २००८ सालमा स्वर परीक्षा दिन जाँदा फेल भएछन् । ‘कर्मचारीले हाहा, हुहु गरे, गिज्याए,’ उनले सो घटना सम्भि“mदै भने ।
इख लिएर उनी लेखनमै फर्किए । तर उनी वाद्यवादनमा भने उत्तिकै पोख्त छन् ।चन्द्रशेखरका एक्ला छोरा हुन् रमेश विकल । अमिनी जागिरे बुबाको कहिले विराटनगर त कहिले दार्चुला सरुवा हुन्थ्यो । बुबाकै पछिपछि लाग्दा स्कुलस्तरको पढाइ अस्तव्यस्त भयो । २०११ सालमा एसएलसी -प्राइभेट) पास गरे । स्वअध्ययनबाट कलेज अफ एजुकेसनबाट शिक्षा शास्त्रमा बीएड उत्तीर्ण गरे ।दिनहरू बिस्तारै ओरालो लागिरहेछन्, डाँडामा घाम अस्ताएझैं । विकललाई बाल्यकालको बिछट्टै याद आइरहेको छ । अर्को जुनि पाए उनी के बन्न चाहँदा हुन् ? ‘अर्को जुनिमा म कहाँ रमेश विकल हुन्छु र ? मान्छे भएर नै जन्मिइने हो कि होइन ?’ तर यस समयका उनी एक उत्कृष्ट कथाकार हुन् भन्नेमा चाहिँ विवाद छैन ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट