अविस्मरणीय दिन माघ १६


  • Frontline Nepal

पुरुषोत्तम बस्नेत

एकतन्त्रीय राणाशासनको विरोधमा नेपाल प्रजापरिषद्ले अति गोप्य रूपमा चौथो पर्चा पनि ल्यायो । त्यसले राणाहरू हतप्रभ भए । सबैतिर उनीहरूको कडा निगरानी रहेकोे, उनीहरूको पूर्ण नियन्त्रित भूमि नेपालको राजधानीमा नै पर्चा कसरी छरियो ? राणाहरूले यसलाई गम्भीर रूपमा लिए र कडा छानबिन सुरु गरे । वि.सं. १९९७ को कात्तिक २ गतेदेखि व्यापक धरपकड प्रारम्भ गरियो । पक्राउ गरिएका सबैलाई सेनाको कडा नियन्त्रणमा सिंहदरबारको सैनिक ब्यारेकमा राखियो । सबैलाई कठोर यातना दिइयो । तीमध्ये पनि प्रजापरिषद्सित सम्बद्धहरूलाई अनेकौँ दिनसम्म मर्माहत यातना दिइयो । राणाहरूले खडा गरेको तथाकथित विशेष अदालतले १९९७ को माघ ६ मा फैसला सुनायो । त्यसमा पाँचजना– शुक्रराज शास्त्री जोशी, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल र पूर्णनारायण प्रधानलाई मृत्युदण्ड दिइने, अरू धेरैलाई अंश सर्वस्वसहित आजीवन कैदको, १८ वर्ष, १२ वर्ष कैद र अरू अनेक सजाय गरिएको थियो ।

यो फैसला सुनाएको चार दिनपछि शुक्रराज शास्त्री जोशीलाई १९९७ को माघ ९ र १० बीचको मध्यरातमा टेकुनिर पचलीको सडक छेउको रुखमा झुण्ड्याइयो । माघ १३ गते राति धर्मभक्त माथेमालाई सिफलको सडक उत्तरको रुखमा झुण्ड्याइयो । दशरथ चन्द र गङ्गालाललाई माघ १५ र १६ को बीचको मध्यरातमा शोभाभगवती मन्दिरअगाडि विष्णुमतीको किनारमा गोली हानेर मारियो । पूर्णनारायण प्रधानलाई दिइएको मृत्युदण्डलाई केही पछि आजीवन कैदमा परिणत गरियो ।

यी सपुुतलाई मुत्युदण्डको सजाय सुनाउँदा बी.पी. कोइराला भारतको पटनामा हुनुहुन्थ्यो र नेपालको यो कठोर दमनलाई उहाँ गम्भीरतासाथ हेरिहनुभएको थियो । मृत्युदण्डको सजाय दिएको थाहा पाएपछि यसको विरोधमा नेपालीहरूलाई सचेत गराउन उहाँ दार्जिलिङ आउनुभयो । त्यहीँ नै उहाँले चारजनालाई मृत्युदण्ड दिइएको समाचार सुन्नुभयो । त्यसको विरोधमा उहाँले धेरै नेपालीलाई भेट्नुभयो । उहाँकै विशेष प्रयत्नमा सन् १९४१ को फेब्रुअरी ८ मा राष्ट्रिय जागरणका कवि धरणीधर कोइराला बस्ने स्थान, दार्जिलिङको करमाइकल होस्टेलमा नेपालीहरूको एक भेलाको आयोजना गरियो ।

त्यो भेलामा धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, हरिप्रसाद प्रधान, रूपनारायण सिन्हा, शिवकुमार राई, ल्हाक्पा छिरिङ शेर्पा, महानन्द सापकोटा, मायादेवी क्षेत्री आदि कतिपय दार्जिलिङ, खस्र्याङ र कालिम्पोङका जागरुक नेपालीको उपस्थिति थियो । त्यही भेलामा बी.पी.कोइरालाले सबै नेपालीलाई राणाहरूको निरङ्कुशताको विरोधमा सचेत भएर रहन आग्रह गर्नुभएको थियो । त्यही भेलामा उहाँले मृत्युदण्ड दिइएका ती चारजनालाई हाम्रा अमर शहीद भनेर सम्मान व्यक्त गर्नुभएको थियो । उहाँहरूको सपना साकार पार्ने सङ्कल्प गर्नुभएको थियो र सबैको रिहाइको माग गर्नुभएको थियो । त्यहाँ एकत्रित नेपालीहरूले आफ्नो देशप्रतिको दायित्वको महसुस गर्दै एकतन्त्रीय शासनको विरोधलाई सक्रिय पार्ने अठोट गरेका थिए ।

त्यही अठोटमा तिनै चेतनशील नेपालीहरूको देशप्रतिको समर्पण भाव, त्याग र बलिदानले, २००७ मा नेपालमा प्रजातन्त्रको स्थापना भयो तर त्यसको केही पछि नै राणातन्त्रले भन्दा पनि अझ कठोर राजतन्त्रको निरङ्कुशतालाई नेपाली जनताले बेहोर्नुप¥यो । त्यसको विरोधमा आएका जनतालाई राणातन्त्रले भन्दा पनि राजतन्त्रले कठोर दमन ग¥यो । राणाले जस्तै राजा महेन्द्रले खडा गरेको तथाकथित विशेष अदालतले दुर्गानन्द झालाई २०१९ को भदौमा मृत्युदण्डको सजाय सुनायो । त्यसलाई सर्वोच्च अदालत र राजा महेन्द्रको स्वीकृतिपछि २०२० को माघ १५ को राति, सेन्ट्रल जेलको गोलघरबाट लगेर दुर्गानन्द झालाई सेन्ट्रल जेल र जनना जेलको बीचभागमा उभ्याएर गोली हानेर मारियो ।

त्यसैगरी राजा वीरेन्द्रले गठन गरेको तथाकथित दुई बेग्लाबेग्लै विशेष अदालतले भीमनारायण श्रेष्ठलाई २०३१ को मङ्सिर २१ मा तथा त्यस्तै अर्को विशेष अदालतले कप्तान यज्ञबहादुर थापालाई २०३२ को कात्तिक ३० मा मृत्युदण्डको सजाय सुनायो । २०३५ को माघ २४ गते राति उहाँहरू दुवैलाई सेन्ट्रल जेलको गोलघरबाट झिकेर सेनाको जङ्गी अड्डामा राखियो । २६ गते राति भीमनारायण श्रेष्ठलाई सप्तकोशीको टप्पुमा पु¥याएर गोली हानेर मारियो । कप्तान यज्ञबहादुर थापालाई पनि माघ २६ कै राति कमला नदीको किनारमा गोली हानियो । त्यसैले प्रत्येक वर्ष माघ महिनाले यी अमर शहीदको शहादतलाई सम्झाउँछ, राणातन्त्रको र राजतन्त्रको कठोर निरङ्कुशतालाई सम्झाउँछ ।

राजतन्त्रको कठोर निरङ्कुशकालमा धेरैलाई पक्राउ गरिसकेपछि गोली हानेर हत्या गरियो । अनेकौँलाई सैनिक हिरासतबाट लगेर जिउँदै खाडलमा हालेर पुरियो । जेल सार्दा भाग्न खोजेकाले गोली हान्नुपरेको भन्ने नितान्त झुट्टा भनाइमा अनेकौँलाई मारियो । देशको राजधानी काठमाडौँको जेलबाट झिकेर पनि त्यहीँ भाग्न खोजेको भन्ने निर्लज्ज भनाइमा २०३१ को असोजमा सेन्ट्रल र भद्रगोल जेलबाट झिकेर चारजना– लीलानाथ दाहाल, ठगी दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्कीलाई अति निर्ममताका साथ गोली हानेर मारियो । सरकारबाट सञ्चालित हत्यारा जत्थाबाटै २०२८ को चैतमा योगेन्द्रमान शेरचन र २०२९ को साउनमा दिवानसिंह राईसमेत कतिको देशभित्रै हत्या गरियो । त्यस्तै हत्यारा जत्थाबाट २०२२ को चैत २८ गते नेपाली काँग्रेसका निर्वासित नेता तेजबहादुर अमात्यलाई भारतको रक्सौलमा तथा सरोजप्रसाद कोइरालालाई २०३० को कात्तिक २ गते भारतको मधुवनीमा गोली हानेर हत्या गरियो । उहाँको हत्या गर्न, ज्यान मार्ने र डाका गर्नेको अपराधमा जनकपुर जेलमा राखिएका अपराधीहरूलाई तथा सरोजप्रसाद कोइरालासँगै रहने केही व्यक्तिलाई प्रयोग गरिएको थियो । तत्कालीन जनकपुर अञ्चलका अञ्चलाधीश लीलाराज विष्टले जेलबाट भागेको बहानामा, जेलमा रहेका अपराधीलाई निकालेर, पैसा र प्रलोभन दिएर सरोजप्रसाद कोइरालाको हत्या गर्न पठाएका थिए । राजतन्त्रको निरङ्कुशकालमा विरोधी पक्षको यसरी हत्या गराउने एउटा विशेष समूह परिचालित थियो ।
राणातन्त्रको १०४ वर्षको कार्यकालमा कोतपर्व, भण्डारखाल पर्व, १९३८ को पर्व तथा अरू यस्ता कतिपय पर्वमा भन्दा पनि सङ्ख्यात्मक रूपमा राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको निरङ्कुशकालमा धेरै बढी नेपालीको हत्या भएको थियो । २०१७ को अन्त्यदेखि २०२१ सम्म विभिन्न जिल्लामा अनेकौँ हत्या गरियो । अनेकौँलाई अनेक ठाउँमा जीवित स्थितिमा नै ठूलो खाडलमा हालेर पुरियो । गुल्मीका शम्शेरबहादुर खत्रीलगायत कतिको टाउको काटियो र काटिएको टाउकोलाई बाँसको लिङ्गोमा झुण्ड्याएर केही दिनसम्म प्रदर्शन गरियो । वर्षौंसम्म पनि यस्ता बर्बर र बीभत्स हत्याकाण्ड रोकिएनन् । २०२७–२८ देखि जनदमनका अरू अझ क्रूर अध्याय थपिँदै गए । निर्दलीय निरङ्कुशताको ‘सबै पञ्च नेपाली र सबै नेपाली पञ्च’ भन्ने दम्भले सबै नेपालीको तेजोवध गर्न खोजियो । यी सबैको विरोधको लामो र अनवरत सङ्घर्ष २०४६ मा जनआन्दोलन भएर आयो । सम्पूर्ण नेपाली जनता आफूलाई उत्सर्ग गर्न तयार भएर यो आन्दोलनमा समाहित भए ।
यो जनआन्दोलनलाई अत्यन्त क्रूर तवरले दमन गर्न खोजियो । धेरैलाई गोली हानेर हत्या गरियो । कठोर दमनले यसलाई निस्तेज पार्न सकिन्छ भन्ने निरङ्कुश राजतन्त्रको सोचाइ थियो । जेल सार्दा भाग्न खोजेको भन्ने सर्वथा झुट्टा बहानालाई फेरि ब्युँझाएर हत्या गर्न, जनआन्दोलनमा थुनामा राखिएका केहीलाई काठमाडौँबाट चौतारा र रसुवाको जेलमा सारियो । जनआन्दोलन प्रभावकारी हुन नसकेको भए उनीहरूलाई जेलबाट झिकेर मारिने थियो ।
देशभरि जनआन्दोलन व्याप्त भयो । राजधानी उपत्यकाभन्दा पनि बाहिरको आन्दोलनलाई अरू नृशंस रूपमा दमन गरियो । कीर्तिपुरको जनआन्दोलनमा होमिएका जनतामाथि हेलिकप्टरबाट गोली बर्षाइयो । त्यसमा अनेकौँ मारिए, अनेकौँ घाइते भए तर आन्दोलन रोकिएन । आन्दोलन सबैतिर अझ सशक्तरूपले अघि बढ्यो । सम्पूर्ण जनता उद्वेलित भएर उठेपछि जीत अन्ततः जनताकै हुन्छ भन्ने यथार्थलाई २०४६ को जनआन्दोलनले प्रमाणित ग¥यो । नेपाली जनताको यस्तै साहस, समर्पण र बलिदानले नेपालमा लोकतन्त्रको पुनःस्थापना ग¥यो ।
एक सन्दिग्ध परिस्थितिमा राजा हुन आएका राजा ज्ञानेन्द्रको निरङ्कुशताले जनताको लामो सङ्घर्ष र बलिदानबाट स्थापित लोकतन्त्रलाई अपदस्थ ग¥यो । आम नेपाली जनता फेरि अर्को बलिदानपूर्ण जनआन्दोलनमा होमिए । यो जनआन्दोलनलाई पनि त्यस्तै कठोरताका साथ दमन गर्न खोजियो । कतिपय ठाउँमा आन्दोलित जनतालाई घरको कौशी–कौशीबाट अन्धाधुन्ध गोली वर्र्षाएर हत्या गरियो तर जनता मर्न तयार भए, पछि हट्न किमार्थ तयार भएनन् । नेपाली जनता आफूलाई बलिदान दिएर पनि जनआन्दोलनलाई एक निर्णायक मोडमा पु¥याउन चाहन्थे । उनीहरू राजतन्त्रको निरङ्कुशतासित यसरी पटकपटक नेपाली जनताले सङ्घर्ष गरिरहन नपरोस् भन्ने चाहन्थे । राजतन्त्रलाई सधैँका निमित्त समाप्त पारेर जनआन्दोलनलाई उचित गन्तव्यमा पु¥याउन चाहन्थे । नेपाली जनताको यही दृढ अठोट र बलिदानको सुखद परिणाम थियो लोकतान्त्रिक गणतन्त्र ।
नेपालको लामो र बलिदानपूर्ण सङ्घर्षमा आफूलाई बलिदान दिने ती कति देशभक्त वीर सपुतको मूल्याङ्कन अझै भएको छैन । उनीहरू कसले, कहिले, कहाँ शहादत प्राप्त गरे, त्यसको उचित छानबिन भएको छैन । २०६२÷६३ को जन–आन्दोलनमा पनि धेरैको हत्या गरियो । २०६२ को चैत २७ गते बनेपाको सङ्घर्षमा टाउकामा गोली लागेर अहिलेसम्म अचेत स्थितिमा रहेका मुकेश कायस्थको अवस्थाले लोकतान्त्रिक गणतन्त्रसित धेरै प्रश्न गरिरहेको छ । मुकेश कायस्थ २०६२÷६३ का एक जीवित शहीद हुनुहुन्छ ।

वि.सं. २०१० देखि सरकारले त्यसबेलासम्मका शहीदको सम्मान गर्दै माघ १० देखि शहीद सप्ताह र १६ का दिन शहीद दिवस मनाउन थालेको हो । पञ्चायतकालमा यो दिवस मनाउने जिम्मा काठमाडौँ नगरपालिकालाई दिइयो । यसलाई सरकारले नै शहीदहरूका बारेमा धेरै शोध र सन्धान गरेर एक ऐतिहासिक दिवसका रूपमा महìवका साथ मनाउनुपर्छ । वास्तवमा माघ १६ अनेकौँ शहीदले देश र जनताको हितमा आफूलाई बलिदान गरेको एक ऐतिहासिक र अविस्मरणीय दिन हो ।
(लेखक नेपाली काँग्रेसका नेता हुनुहुन्छ ।)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट