समृद्ध गैँडाकोटका लागि १३ आधार प्रस्तुत


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार १८, २०७७

  • नवलपुर, १८ असार ।  नवलपरासी(बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले समृद्ध नगर निर्माणका लागि १३ प्रमुख आधार अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख छत्रराज पौडेलले गरिबीमुक्त गैँडाकोटसहित आधार अघि सार्नुभएको हो । नगर प्रमुख पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कोभिड १९ को जोखिम र यसबाट सिर्जित स्वास्थ्य समस्या न्यूनीकरण गर्नु पहिलो उद्देश्य भएको बताइएको छ ।

    त्यस्तै कालीगण्डकी करिडोर, बिपी अन्तरराष्ट्रिय खेलग्राम, मनमोहन रङ्गशाला, स्मार्ट गैँडाकोट, शैक्षिक हब, निजी क्षेत्रको लगानीमा मौलाकालिका केबुलकार निर्माणलगायत प्रमुख आधार अघि सारिएको छ । “बाँझो जग्गारहित नगर” नारा दिएर खेतीयोग्य जमीलाई प्लटिङ गर्न पूर्ण रुपमा निरुत्साहन गरिने, “गैँडाकोटको पहिचानः स्वादिलो मकै” नारालाई व्यापकता प्रदान गर्ने तथा स्थानीयवासीको उत्पादन प्रवद्र्धन गरी रोजगारी बढाउन गैँडाकोट–३ का हर्दी र ढोडेनी तथा वडा नम्बर १२ र १८ मा घरबास सञ्चालन गर्न प्रोत्साहनसहित बजेट छुट्याइएको छ ।

    बजेट रु ७१ करोड गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ७१ करोड ३२ लाख ४९७ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ का लागि प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्ष २०७६÷०७७ भन्दा रु ६ करोड ६३ लाख २७ हजार बढी छ । नगर उपप्रमुख विष्णुकुमारी कँडेलले आगामी वर्षका लागि आयतर्फको आन्तरिक स्रोतमा रु नौ करोड ४० लाख ५० हजार तथा सङ्घ र प्रदेशबाट अनुदान रु ६१ करोड ९१ लाख ५० हजार ४९७ प्राप्त हुने बताउनुभयो ।

    आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि चालु खर्चतर्फ रु ११ करोड ६५ बजेट विनियोन गरिएको कँडेलले बताउनुभयो । त्यस्तै गैँडाकोट नगरपालिका वडानम्वर ३, १४ र १८ का लागि प्रतिवडा रु ८० लाखका दरले रु दुई करोड ४० लाख तथा बाँकी १५ वटा वडाका लागि प्रतिवडा रु ७० लाखका दरले रु १० करोड ५० लाख गरी कुल रु १२ करोड ९० लाख बजेट विनियोजन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार