आर्थिक अभावले रोगसँग जुध्दै राजी बालक


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, असार २०, २०७७

  • सुुर्खेत, २० असार । आर्थिक अभावले लोपोन्मुख राजी समुदायका एक बालक ओस्टेओमाइटिस अर्थात् हड्डी पाक्ने रोगसँग जुधिरहेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का १५ वर्षीय चन्द्र राजी अस्पतालबाटै सहयोगको याचना गरिरहेका छन् । अति विपन्न परिवारका राजीलाई परिवारले दुई साताअघि उपचारका लागि वीरेन्द्रनगर ल्याएको हो । एक हप्ता देउती अस्पतालमा उपचारपछि आर्थिक अभावका कारण उहाँलाई प्रदेश अस्पताल लगिएको थियो ।

     

    हाल दुवै खुट्टा पाकेको अवस्थामा प्रदेश अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उहाँको उपचार भइरहेको छ । बिरामीका दाजु पदमबहादुर राजीले अस्पतालले दुवै खुट्टा पूर्णरुपले कुहिएकाले उपचार महँगो पर्ने बताएपछि आफूहरु समस्यामा परेको बताउनुभयो । राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले विपन्न बिरामीको उपचारमा आर्थिक अभाव रहेकाले सहयोगका लागि आग्रह गर्नुभयो । “औषधि महँगो पर्ने भएकाले अस्पतालले पूरै उपचारमा धान्न नसक्ने बतायो, त्यही भएर राजी समाजको अगुवाइमा आर्थिक सङ्कलन अभियान शुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।

     

    समाजले सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ मा बचत गर्न आग्रह गरेको छ । राजी नेपालमै लोपोन्मुख आदिवासी जनजाति समुदायमा पर्दछ । उपचारमा संलग्न हाडजोर्नी विशेषज्ञ डाक्टर रुपक कँडेलले पहिला हड्डी पाक्ने र रगतबाट अन्य भागहरु मुटु, फोक्सो, मिर्गौलामा सरेर ती अङ्ग नष्ट गर्ने यो एक जटिल प्रकारको रोग भएको बताउनुभयो ।

     

    “यसको उपचार सम्भव छ, तर हड्डीमा पिप जमेको छ वा हड्डी नै नष्ट भएको छ भने त्यसको बारेमा पोष्टम्याटम गरेर शल्यक्रिया गर्नुपर्छ”, उहाँले भन्नुभयो, “साना दुई वटा शल्यक्रिया भइसकेको छ, यसको औषधिहरु पनि महँगो पर्दछ, आइसोलेसनमा राखेर उपचार गर्न कम्तीमा दुई महिना जति लाग्छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार