रामकाजी तिवारी ‘प्रयास’
सन १९५३ मइ २९ तारेखको दिन विश्व साहसिक पर्यटन क्षेत्रमा एक उर्जा थपिएको थियो । त्यस दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको दिन थियो । त्यस यता हरेक वर्ष सगरमाथा आरोहण हुँदै आएको छ । अपवाद कुनै कुनै वर्षमा प्राकृतिक प्रकोपको कारण ठुलो धनजनको क्षतिसँङ्गै आरोहण रद्द भएको इतिहास पनि हामीसँग छ । सगरमाथा मात्र होइन, अहिलेसम्म जुनसुकै हिमालको आरोहणको प्रमाण शिखरको तस्विरलाई मान्ने गरिन्छ । केही वर्ष पहिलासम्म तस्बिरलाई विश्वास गर्ने आधार थियो । तर, अहिले समय, परिस्थिति र प्रबिधि बदलिएको छ । समयको अन्तरालसँगै प्रबिधिको बिकास भयो । तस्बिरहरु जोडजाड गरेर चलाउने प्रविधि बिकास भयो । कतै सदुपयोग त कतै दुरुपयोग हुन थाल्यो ।
राम्रो कुराको प्रयोग कम हुन्छ, नराम्रोको बढी भने झै त्यस्तै हुन थाल्यो पर्वतारोहण क्षेत्रमा शिखरको तस्बिर पनि । त्यहि प्रविधिको दुरुपयोगको फाइदा सगरमाथा आरोहीहरुले पनि उठाइ रहेका छन् । यस्तो फाइदा उठाउनेहरुको पंक्तिमा बिदेशी अगाडि देखिन्छ ।
पर्वतारोहण पथप्रदर्शकहरुको भूमिका
पर्वतारोहण पथप्रदर्शकहरु हिमाल आरोहणको मार्ग निर्देशक हुन् । समग्र आरोहण दलको अभिभावक हुन् । सफलताको साथ शिखर चुम्ने अन्तिम लक्ष्य हुन्छ, जुन सफलताको निम्ति जीवनलाई धरापमा राखेर उकाली ओराली गरि रहन्छन् । यसरी जीवनको आहुती दिन तयार पर्वतारोहण पथप्रदर्शकहरुलाई नेपाल सरकारले सहयोगीको उपमा दिएको छ । नेपाली पथप्रदर्शकले बनाएको बाटोमा हिंड्ने बिदेशी आरोहीलाई आरोहण दलको नेता बनाउने गरिन्छ । यसरी सहयोगीको उपमा पाएकाहरुसँग के जिम्मेवारी हुन्छ र ? यस्ता जिम्मेवारबिहिन पर्वतारोहण पथप्रदर्शकहरुलाइ पर्वतारोहणको प्रमाणपत्रमा विवादमा मुछेर सरकार जोगिन खोज्नुको औचित्य के हुन्छ ?
पर्वतारोहणमा सम्पर्क अधिकृत
६,५०० मिटर भन्दा अग्ला हिमालहरुको आरोहणमा सम्पर्क अधिकृत अनिवार्य गरिएको छ । यसो हुँदा प्रत्येक आरोहण दलमा सम्पर्क अधिकृत नहुने कुरै भएन । अधिकांश सम्पर्क अधिकृतहरु मन्त्रालय र बिभागमा कार्यरत सरकारी सेवाका कर्मचारीहरु हुने गर्दछन् । एउटा सरकारी कर्मचारीले पर्वतारोहण दलको सम्पर्क अधिकृत बन्न कतिसम्मको पापड बेल्नु पर्छ भन्ने कुरा “सगरमाथाको आधार शिविरबाट“ नामक पुस्तकमा प्रतीक ढकालले स्पष्ट रूपमा उल्लेख गर्नु भएको छ ।
सम्पर्क अधिकृत भइ सकेपछि छुट्टै शान हुन्छ । नहोस् पनि कसरी मन्त्री सम्मको बल लगाएर सम्पर्क अधिकृत बनेका हुन्छन् । कानुनले समग्र पर्वतारोहण दलको प्रमुख नाइकेको जिम्मेवारी दिएको हुन्छ । जस्तै: आरोहण व्यवस्थित र सफल भए नभएको नियमन गर्ने, प्रतिवेदन बनाएर बिभागमा बुझाउने, प्रमाणपत्रको लागि सिफारिस गर्ने आदि । तर, यस्तो महत्वपूर्ण जिम्मेवारी बहन गरेर हिंडेकाहरु मध्यबाट मुस्किलले केही सम्पर्क अधिकृतहरु मात्र सम्बन्धित हिमालको आधार शिविरसम्म पुग्ने गर्दछन् । पुग्नु पनि कसरी जिन्दगी भरमा ३/४ हजार मिटरको उचाइ पुग्ने सुनौलो अवसर भनेको नै यसरी सम्पर्क अधिकृतको जिम्मेवारी पाउदा मात्र हो ।
यसरी बेला मौकामा पुगेको समयमा आधार शिविरमा बसेर समय बिताउनु भन्दा घुमेर पशुपतिको दर्शन, सिद्राको व्यापार गर्न माहिर हुनु पर्दो रहेछ ।
अहिले सम्पर्क अधिकृतले सम्बन्धित हिमालको आधार शिविरसम्म पुग्नै पर्ने नियम बनाको छ रे † पर्वतारोहण दलको महिनौं समय हुन्छ । सम्पर्क अधिकृतको पनि सोही बराबरको कार्यालय छुट्टि हुन्छ । तर, सम्पर्क अधिकृतले आधार शिविरमा बिताउने समय बढीमा एक हप्ताको हुन्छ । त्यो पनि ज्यानले खप्न नसक्ने गरि टाउको दुखाएर बिताउनु पर्ने हुन्छ । त्यो उचाइमा जाँदा चाहिने आवश्यक तयारी हुँदैन । कस्तो कपडा चाहिने हो ज्ञान हुँदैन । खाना, पानी स्वास्थ अवस्था र औषधिको पनि उचित ज्ञान हुँदैन । अब आफै सोच्नुस् त यस्ता प्रकारका सम्पर्क अधिकृतहरुले कस्तो नियमन गर्ने होला ? अनि किन बिबादास्पद नहोस् प्रमाणपत्र ?
आरोहणमा व्यवस्थापकको पापड
अस्वस्थ प्रतिस्पर्धात्मक बजारमा बिदेशी आरोहीहरुलाइ आफ्नो कम्पनीमा ल्याउन पापड बेल्नु पर्ने जिम्मा ट्रेकिङ्ग कम्पनीको हुन्छ । यो सानो चुनौतीपूर्ण जिम्मा हुँदै होइन । व्यवसायीहरु सकेसम्म सस्तोमा पर्वतारोहण बेचेर आरोहण दल ठूलो बनाउने सुरमा हुन्छन् । एकातिर सस्तोमा पर्वतारोहण बेच्नु पर्ने बाध्यता, अर्कोतिर आधार शिविरमा देखाउनु पर्ने सुबिधाजन्य तडकभडक । सस्तोमा बेच्न नसके व्यापार छैन, बेचिहाले पनि आधार शिविरमा देखिने तडकभडकमा सामेल हुन्छ ।
अहिलेका व्यवसायीहरु यसैमा केन्द्रित हुन्छन् । त्यसकारण तालीम प्राप्त, दक्ष कामदारहरुलाइ पर्वतारोहणमा काम दिन मुस्किल छ । यो विषयमा अध्ययन, अनुसन्धान गरेर अनुगमन, नियमन र नियन्त्रण गर्नु पर्ने जिम्मा सरकारको हो । अनुगमन र नियमनको जिम्मा पाएका सम्पर्क अधिकृतहरु अनविज्ञ नै हुन्छन् । त्यस कारण यी कुरा न त प्रतिवेदन उल्लेख हुन्छ, न त सुध्रिने आशा नै छ ।
मुख्य जिम्मेवार पक्ष को ?
पर्वतारोहण पथपर्दशकहरु (कामदारहरु), बिदेशी आरोही, व्यवस्थापक कम्पनी र सम्पर्क अधिकृत सबैको आ आफ्नै जिम्मेवारी त हुन्छन् । आरोहण दलको नेता बिदेशी आरोही हुने, सरकारले सहयोगी तोकेको कामदारलाई व्यवस्थापकले पर्वतारोहणको जिम्मा दिने, ती सहयोगीहरुले गरेको कामको रेखदेख र नियमन गर्ने सम्पर्क अधिकृत कार्यथलोमा नपुग्ने हुँदा मुख्य जिम्मेवार पक्ष को हो भनेर छुट्याउँन गाह्रो छ ।
लेखक रामकाजी नेपाल माउन्टेन लिडर, पर्वतारोहण पथप्रदर्शक तथा निटोगका अध्यक्ष समेत हुनु हुन्छ।)