जापान गएका छोरीले किन टन्न पैसो कमाउँछन् ?


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ ३०, २०७८

  •                                                                                                                                                    

    सबिना रेग्मी 

    जापान आएको दुई वर्ष पछि छुट्टीमा नेपाल गएकी थिएँ । छिमेकी दाइले घुमाउरो पारामा भन्नु भयो, ‘जापान गएका छोरी चेलीले चाँडै नै प्रगति गर्छन् । टन्न पैसो कमाउछन् । तर, केटा मान्छेले किन सक्दैनन् ?’

    उहाँको आशय त के थियो तर जसको दृष्टिकोण जस्तो छ त्यस्तै नै देख्ने हो । यहाँको वास्तविकता यहाँ हुनेलाई थाहा हुन्छ । भन्न त मन थियो पितृसत्तात्मक सोच बोकेर पुरुष हुनुको अहंकार देखाएर घरमा आमा ,दिदीबहिनी र श्रीमतीलाई ठगे झै ,नुहाएर आफ्नो भित्री कपडा समेत बाथरूममा छोडेर हिडे झैँ ,खाएको थालमा चुठे झैँ सहज छैन जापान ,यो परिश्रमीहरूको देश हो ।

    यो देश यहाँ हामीले आफ्नो देशमा भन्दा सुरक्षित हुन पाउँछौँ आधा रातसम्म काम गरेर एक्लै निर्धक्क रूममा फर्कन सक्छौँ । यहाँ महिला भएकै कारण सँगैकाम गरेर पनि पुरुषलेभन्दा कम ज्याला लिनु पर्दैन ,यहाँ महिला भएकै कारण साँझ बिहान एक्लै हिडडूल गर्न असहज छैन, छोरी भएर जन्मिएकै कारण अकालमा ज्यान गुमाउनु पर्दैन, महिला भएकै कारण सार्वजनिक यात्रामा हिंसा भोग्नु पर्दैन।

    तर, केही पनि भनिन त्यहाँ बोल्नु समय फाल्नु मात्र हुन्थ्यो । किनकी उहाँले खोज्नु भएको प्रश्नको आशयसँग शायदै मेरो उत्तरले मेल खादैन थियो होला । महिला भएकै कारण आधा रातसम्म सँगै काम गरेपनि सहकर्मीबाट कहिलै अफ्ठेरो महसुस गर्न परेन । सोच्ने गर्छु- आफ्नै देशमा यसरी निर्धक्कसंग अबेरसम्म पुरुषसाथी सँगै बसेर काम गर्ने वातावरण कहिले होला ?

    फेरि सोंच्छु काम कै सिलसिलामा पनि पाइला पाइलामा हिंसा भोग्नु पर्ने ठाउँमा,आफ्नै दाजुभाइ घरगाउँमा पनि डराउनु पर्ने ठाउँमा के कल्पना गरेँ हूँला र ?

    मैले जति पनि कुरा गरेँ जापानी समुदायसँगको अब सुन्नुस् जापानमा नेपाली समुदाय भित्रको भोगाई :
    जापान आएको सुरुवाति दिनहरूमा काम पाउन मुस्किल पर्थ्यो । एकजना नेपाली बैनीको माध्यमबाट एउटा रेस्टुरेन्टमा काम मिल्यो त्यहाँ काम गर्ने धेरैजसो नेपाली दाजुभाइहरू हुनुहुन्थ्यो ,दिदीबैनीहरू कम देखिनुहुन्थ्यो । कामको सिलसिलामा पनि नेपाली भाषाकै प्रयोग सुनिन्थ्यो । यस्तो लाग्थ्यो नेपालकै कुनै रेस्टुरेन्टमा काम गर्दै छु । कामको सुरुकै दिनमा नेपालीहरूबाट त्यहाँ प्रयोग हुने शब्द र व्यवहारले असहज उकुसमुकुस भयो ।

    उहाँहरू महिला दिदीबहिनीहरूको प्रवाह नै नगरि अझ भनौँ उहाँहरूप्रति नै लक्षित गर्दै अपशब्द (रफवर्ड्ज युज) प्रयोग गर्नुहुन्थ्यो । तरपनि ती दिदीबैनीहरू मौन हुनुहुन्थ्यो। यो उहाँहरूको दैनिकी नै रहेछ विस्तारै उहाँहरूको यस्तो व्यवहार मलाई मन परेन र विरोध गरेँ । त्यसैले म उहाँहरूको नजरमा नराम्रो भएँ । किनकी अरूले झै मैलेपनि उहाँहरूको व्यवहारलाई सहस्र स्वीकार गरिदिनुपर्थ्यौ । सगैँ हाँसिदिनु पर्थ्यो, सहिदिनु पर्थ्यो । तर, मैले सकिन ।

    उहाँहरूको लागि रमाइलो र मजाक गर्ने वस्तु महिला र महिलामाथिको अपशब्द हुन्थ्यो । त्यै देखाउनु भयो पुरुषहुनुको अहंकार र हेपाह प्रवृति जो जेन्मेदेखि नै बोकेर आउनुभएको थियो। हामी विदेश आएर पनि सुध्रिएनौँ । सेवाका नाउँमा ठगीगर्ने प्रवृति उस्तै देखिन्छ । जुन आफैले पनि भोग्नु परेको कैयौँ घटना छन् । जापानमै पनि नेपाली र नेपाली कम्पनीहरूलाई झट्ट विश्वाश गर्न सकिदैन । जति जापानी र जापानिज कम्पनीहरूलाई गरिन्छ।

    हामी नै पाँच वर्षीय छोरीलाई आफूले खाएको भाँडा माझ्न सिकाइरहँदा १० वर्षें छोरोलाई थालमा चुठ्न सिकाउछौँ । उसले सानी बैनीलाई भन्छ म छोरो मान्छे हुँ घरको काम त तिम्ले मात्र गर्ने हो।जन्मनु अघि पेटमा अनि जन्मपश्चात पनि घर भित्रैबाट विभेद, द्वन्द्व र दमन सुरूहुन्छ । १० वर्षीय दाइको अघि ५ वर्षीय बैनी समझदारी र ठूली बनिदिनुपर्छ ।

    सधैँ श्रीमान र परिवारको सेवा गरेर ,कपडा धोएर बसेकी श्रीमती सुत्केरी हुँदा समेत उसको कपडा छुन नहुने हाम्रो संस्कार ! कुनै पुरुषले घरको काममा सहयोग गरेको देखे कुराकाट्ने हाम्रो परम्परा यी सबै समाजका ठूलावडा भनिने समाज परिवर्तनका कुरा गर्दै हिड्नेहरूले नै गरिदिन्छन्।

    किशोर अवस्थामा देखिने प्राकृतिक स्वभाविक शारीरिक परिवर्तन जुन पुरुषमा देखिने परिवर्तनको कुनै प्रवाह गर्दैनौ । तर, त्यस्तै महिलामा देखिने स्वभाविक परिवर्तनलाई लिएर छोरीलाई आफ्नै घर भित्रका वस्तुलाई छुने र नछुने भनेर सीमा तोक्न सुरू गर्छौँ । जानी नजानी घर भित्रैबाट कमजोर बनाइदिन्छौ । कुसंस्कार भन्ने थाहा हुनेले पनि तोड्न सक्दैनौँ । घर भित्रैदेखि छोरामा नगरिने विभेद छोरीमा सुरू गर्छौँ।

    छोरामा सानैदेखि घरमा दिदीबैनी भन्दा मेरो अधिकार धेरै छ भन्ने भ्रम पारिदिन्छौँ । यो भयो घरको कुरा अब महिनावारीको सन्दर्भमा स्कूलको भोगाई सुन्नुहोस् ,
    कक्षा ९ मा पढ्दा हाम्रै बेन्चमा बस्ने साथि मिन्स भइन् उनी पेट दुखेर घोप्टो परिरहिन् । सरको क्लास चलिरहेको थियो क्लास सकिएपछी नजिकै साथीको घरबाट हामीले प्याडको व्यवस्था त गर्यौँ तर ब्लड बेन्चमा लाग्न भ्याएछ । स्कूल सकिएपछी सफा गर्यौँ । काठको बेन्च हुनाले पुरैचै क्लियर भएनछ । भोलिपल्ट बस्ने ठाउको रोटेसन चल्ने हुनाले केटासाथीहरूले त्यो बेन्चमा बस्नुपर्ने भयो उनीहरूले त्यो कुरा थाहा पाएपछि केटी साथीतिर लक्षित गर्दै जनै देखाएर उफ्रन थाले । क्लासमा आउनुभएको मेडमले पनि केही भन्नु भएन उनीहरूलाई अर्को बेन्चमा सारिदिनु भयो ।जातीय छुवाछुतको अन्त्य हुनुपर्छ भनेर सिकाइने स्कूलमा महिनावारीको विषयमा किन असल शिक्षा दिन सकिएन ? के यो पनि एकप्रकारको छुवाछुत थिएन ?

    स्वास्थ्य शिक्षा पढाउने म्याडमले पनि हामीलाई हुने मानसिक पीडा बुझ्न सक्नुभएन विचरा साथी ३ दिनसम्म स्कूल आइनन् । महिनावारीका बेला स्कूल जानुपर्दा शारीरिक र मानसिक दुबै पीडा भोग्नुपर्थ्यो । के यो पनि एकप्रकारको दमन थिएन ? महिनावारीलाई घृणा गर्नेहरूले किन मभित्र पनि यै रगत बहिरहेको छ भन्ने कुरा भुलिदिन्छन् ?

    पितृ सत्तात्मक सोच ,पुरुषत्व र अहंकारको पराकाष्ठा घर समाजदेखि विद्यालय जस्तो पवित्र मन्दिरमा पनि देखियो । केही समयअघि काममा म्यानेजरको बिदा थियो । त्यसैले आफैँले स्टाफको इन्टरभ्यु लिनु पर्ने भयो । भोलिपल्ट म्यानेजर आएपछी सल्लाह भयो भाषा कस्तो थियो ? राम्रै थियो । कुन देशको ? नेपाल, महिला कि पुरुष ? पुरुष , त्यसो भए हुन्न । मैले भने किन ? तपाईसँग भन्न त नहुने हो । तरपनि नेपाली पुरुषहरू त्यति राम्रा हुदैनन् काम राम्रो गर्दैनन्, केही समयमा नै काम छोडीहाल्ने झगडा गर्ने गर्छन् ।

    पहिला पनि त्यस्तै भयो ,मैले भने सबै त त्यस्ता हुदैनन् नि , उसले भनी समग्रमा नेपाली पुरुषलाई राम्रो मानिदैन हाम्रो मिटिड० हुदा पनि यो कुरा चलेको थियो।मलाई लज्जा महसुस भो ,यो सुन्नमा आएको जापान आएपछि पहिलो पटक भने होइन त्यै पनि अर्काको देशको मान्छेले नेपाली पुरुष भन्दा कता कता दुख्दो रहेछ आफ्नै दाजुभाइ सम्झन पुगिदो रहेछ ।

    यसो भन्दैमा सबैजना त्यस्तै हुनुहुन्छ भन्न खोजेको हैन । धेरै मेहनत गर्ने दाजुभाइ पनि आफैले देखेकी छु । तर पनि जापनीजहरूमा एकचोटी नराम्रो छाप परेपछी त्यसलाई मेट्न भने गाह्रो हुन्छ । म्यानेजरमा परेको यो छाप कसरी मेट्ने भन्ने चिन्ता परिरह्यो।हाम्रो पितृ सत्ता र यसको असर देशबाहिर पनि देखियो । हामीले विचार गर्नुपर्ने छ कि हाम्रो संस्कार र शिक्षाले कस्तो प्रतिफल दिदैँछ तरुदेश बाहिर हाम्रो परिचय देशको नामबाट बन्ने रहेछ। हामीले गर्ने गैरजिम्मेवारीपूर्ण कामले पछिल्लो पुस्तालाई असर गर्ने रहेछ। आफ्नो देश छाडेर भविष्य खोज्दै अर्काको देशमा छौँ ।

    र, पनि किन इमान्दार बन्दैनौ ? हामीले अनुशासन, लगनशीलता, कामप्रतिको बफादार र सम्मान , इमान्दारिता, सहयोगिपना जस्ता गुणहरू यहाँका नागरिकबाट सिकेर फर्कियौँ भने जापान बसाईको अर्थ रहला । र, यसले नै हामीलाई जुनसुकै क्षेत्रमा पनि दीर्घकालीन रहन सहज होला कि ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार