इजरायलको अनुभव


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस १३, २०७४

    • भगवति बस्नेत

    इजरायल भूमध्य सागरको पूर्वी किनारमा अवस्थित देश हो । यसको उत्तरमा लेबनन, पूर्वमा सीरिया र जोर्डन तथा दक्षिण पश्चिममा मिश्र पर्दछ । इजरायल चारैतिर अरवी राष्ट्रहरुले घेरिएको संसारको एक मात्र यहूदी राष्ट्र हो । १४ मे १९४८ मा स्थापना भएको इजरायल एक सार्वभौम गणतन्त्र भएको देश हो ।

    यस देशले आफ्नो स्थापनाको ६८ बर्ष मात्र पार गरेको छ । इजरायलको जनसंख्या ९० लाखको हाराहारीमा मात्र छ । इजराइलको कुल क्षेत्रफल २०,७०० वर्ग किलोमिटर छ । इजरायल संसारको त्यस्तो नवौ देशभित्र पर्छ जसको आफ्नै सेटलाइट सिस्टम छ । जसको प्रयोगले ड्रोन चलाइन्छ । इजरायलले आफ्नो सेटलाइट सिस्टम कसैसाग पनि शेयर गर्दैन । इजरायलले आफ्नो देशलाई आवश्यक पर्ने ९३ प्रतिशत खाद्य पदार्थ आफै उत्पादन गर्ने गर्छन् । इजरायल खाद्यान्नमा लगभग आत्मनिर्भर छन् । इजरायलको मुख्य भाषा हिब्रु हो ।

    यहाको मुद्रालाई न्यु सेकल भनिन्छ । इजरायली बैंकद्वारा जारी गरेको नोट दृष्टिहीनहरुले पनि पहिचान गर्न सक्छन् किनभने यसमा ब्रेल लिपिको प्रयोग गरिएको हुन्छ । इजरायललका केटा वा केटिहरु हाई स्कूलको पढाई पूरा गरेपछि अनिवार्य रूपमा सैनिक सेवामा जानुपर्छ । केटाले ३ बर्षसम्म सैनिक सेवा दिनुपर्छ भने केटिले २ बर्ष सेवा दिनुपर्छ । इजरायलको वायुसेना संसारमा चौथो नम्बरको वायुसेना भित्र पर्छ । यहाँका सेनाहरु कुनै पनि हमला हुँदा त्यसको जवाफ दिने मात्र होइन । कुनै पनि दुश्मनलिई क्षणभरमा तहस नहस पार्ने क्षमता राख्छन् । अमेरिका, रूस र चीन मात्र यो देशभन्दा अगाडि छन् ।

     

    इजरायल संसारको एक त्यस्तो देश हो, जसले आफ्ना देशको बिभिन्न ठाउमा शत्रुहरुले हानेका मिसाइल र बिभिन्न क्षेप्यास्त्रहरुलाई आकाशमा नै नष्ट पार्ने मिसाइल आइरन ड्रोम रक्षा प्रणालीसँग सुसज्जित छ । इजराइलले कहिले पनि कुनै पनि देश या सङ्गठनलाई मेरो देशमा आतंकवादी घटना या हमला नगर भन्ने गर्दैन तर इजरायलले यो भन्ने गर्छ ‘यदि कोहिले मेरो देशको एक नागरिक मर्‍र्यो भने तिम्रो देशमा पसेर एक हजार नागरिक मारिदिन्छु ।’

     

    एक दशक भन्दा बढी इजरायलमा बिताउँदा धेरै अनुभव अनुभूति बटुलियो । मैले इजरायलमा आएर सिकेको सबैभन्दा राम्रो कुरा कामको सम्मान हो गर्न हो । जस्तोसुकै काम होस् कामको सम्मान गरिनुपर्छ । इजरायलमा बैदेशिक रोजगारमा आउने नेपालीहरुले गर्ने काम भनेको कृषि र केयरगिभरको क्षेत्रमा हो । अहिले मैले यहा गरिरहेको काम केयरगिभर हो । केयरगिभर पनि लिभ इन र लिभ आउट् दुई प्रकारको काम हुन्छ । लिभ आउट् केयर गिभर गर्नेहरुले बिहान काममा गएर बेलुका आफ्नो अपार्टमेन्टमा फर्किन सक्छन् । लिभिङ केयरगिभरहरुले आफ्नो तोकिएको काम सकेर कोठामा फर्कन पाइादैन । जुन घरमा काम छ त्यही घरमा खाने, बस्ने, सुत्ने व्यवस्था हुन्छ । केयर गिभरको काम एक प्रकारले अस्पतालका नर्सहरूको जस्तै हो । घरको सरसफाइ गर्ने, खाना बनाउने, आफूले हेरविचार गरिरहेका व्यक्तिहरूलाई बिहान–बेलुका घर बाहिर घुमाउन लाने यी सामान्य कुरा केयर गिभरले गर्नुपर्ने काम हुन् ।

     

    इजरायलमा रहँदा बस्दा धेरै अनुभवहरु बटुलियो । इजरायल नेपालभन्दा धेरै सानो राष्ट्र त्यसमा पनि चारैतिरबाट दुश्मन देशहरूले घेरिएको छ । यस्तो अवस्थामा पनि यस देशले आफूलाई सुरक्षित राखी विकास र प्रविधिमा उत्कृष्टता देखाएको पाइन्छ । त्यस्तै देशभक्तिको पाठ पनि सिकियो । यहाका जनताले आफ्नै मेहनत र परिश्रमले मरुभूमिलाई हरियाली बनाएका छन् । हाम्रो देश नेपाल जहाको उर्बर भूमिमा मेहनत र परिश्रम रोप्ने हो भने सुन फल्छ भन्ने कुरा इजरायलको कृषि क्षेत्रको घुमघामबाट मैले अनुभव गरे । इजरायलीहरू आपसमा लडाँइ–झगडा गर्दैनन् र कानुनको अक्षरस पालना गर्छन् । परेको बेलामा देशका लागि एकजुट हुन्छन् ।

     

    आफ्नो देशबाट बाहिर आएपछि आफ्नो देशको भाषा, संस्कृति, कला, साहित्यप्रति अझ बढी जागरुक भएर लागियो । संसार बुझ्नलाई एकपल्ट सबैले आफ्नो देश छोड्न पर्ने  रैछ भन्ने लाग्यो । इजरायल महिलाहरूका लागि सुरक्षित र आकर्षक गन्तव्य हो । आम्दानीको हिसाबले पनि यहाको कमाइ राम्रो छ । इजरायल महिलाहरुको लागि सुरक्षित छ । र, यहा महिलाहरू हिंसा अनि शोषणमा पर्ने गरेका छैनन् ।कामदारहरुलाई राम्रो तलब, बोनस अनि बिदाका सुविधाहरु छन् । बर्षमा १२ दिन बिदा पाइन्छ, नेपाली चाडको ९ दिन बिदा पाइन्छ । बिदामा ननिस्किदा बिदाको सट्टा पैसा पाइन्छ । समग्रमा इजरायलको रोजगारी राम्रो छ । इजरायलमा खासगरी अहिले पनि थुप्रै नेपाली कृषि प्रशिक्षार्थी कामदारका रूपमा विभिन्न किसिमका कृषि तालिम लिइरहेका छन् । इजरायलमा विशेष गरेर कृषि विषय पढ्न आउन चाहनेहरूका लागि राम्रो छ ।

    इजरायलीहरु बेला–बेलामा भन्ने गर्छन् ‘इजरायलसँग पहिले केही थिएन, न खानी थियो न पानी । हामीले धेरै दु:ख कष्ट झेल्यौं । हामीसँग केही थियो केहि मेहनती मानिस थिए । आजको इजरायल कुनै स्रोतसाधनले बनाएको होइन, मानिसले बनाएको हो ।’ साँच्चै नै यहि इजरायलको भुमिमा उभिएर आजको इजरायललाई हेर्दा, पानीसम्म नभएको देश इजरायलमा कृषिप्रधान मुलुकका विज्ञहरू आधुनिक कृषि प्रणाली सिक्न आइरहेका छन् ।

    इजरायलको सामथ्र्य यति माथि पुगिसकेको छ जहा आज नेपाली युवा युवतीहरु इजरायलीका वृद्धबृद्धा, वालवालिका स्याहार सुसार गर्न कृषि काम गर्न ‘वैदेशिक रोजगारी’ मा लागिरहेका छौं । यदि हामीसँग पनि यो देशका मानिसको जस्तो मेहनत लगन, देश बनाउने देशभक्ति, राम्रो नियम कानुन भएको भए, आफ्नै देशमा रोजगार पाएको भए आज हाम्रा देशका युवा शक्ति दिन दिनै घरखेत बन्दगी राखेर ऋण खोजेर विदेश लाग्नु पर्दैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार