मुगुदेखि स्पेनसम्म


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ ८, २०७६

  • नरेन्द्र रौले

    काठमाडौँ — असार अन्तिम साता उपराष्ट्रपति कार्यालयको मिटिङ हलमा उपराष्ट्रपति नन्दकिशोर पुनले सोधे, ‘स्पेन कस्तो लाग्यो त ?’‘हामी त भाग्यमानी रहेछौं । १४ वर्षको उमेरमै स्पेन घुम्न पायौं ।

    ठूलो समुद्र, जमिनमुनि गुड्ने रेल देख्न पाइयो,’ मुगुको रारा छायानाथ नगरपालिका ५ की १४ वर्षीया रिता रोकायाले भनिन्, ‘स्पेनमा मेस्सीले फुटबल खेलेको ग्रान्ड नोउ फुटबल स्टेडियम र सुनको जुत्ता देख्दा त कम्ती खुसी लागेन ।’

    सोही नगरपालिका १ छत्यालबाडाका विपना मल्ललाई स्पेन पुगिएला भन्ने सपनामा पनि लागेको थिएन । गाउँमा मानिस भन्थे, ‘तिमीहरूलाई कहाँ विदेश लग्छन् ? बरु बेच्न लग्छन् ।’

    पासपोर्टमा भिसा लागेपछि गाउँका सबै जना छक्क परे । ‘हामीलाई पनि ए, साँच्चै पो रैछ भन्ने लाग्यो,’ विपनाले सुनाइन्, ‘त्यसपछि पनि गाउँमा कतिले विश्वास गरेकै थिएनन् ।’ सुनमति बूढाको घरमा त भिसा लागेपछि पनि धामी, झाँक्री देखाइयो । देउताले ‘राम्रो हुन्छ जाऊ’ भनेपछि मात्र उनी स्पेन जान राजी भइन् ।

    मुगुकी रिता रोकाया र विपनासहित १७ किशोरीले हालै मुगुदेखि स्पेनसम्मको यात्रा गरे । फर्केपछि उनीहरूले एउटा भेटघाटमा उपराष्ट्रपतिलाई आ–आफ्नो अनुभव सुनाए ।

    मुलुककै विकटमध्येको जिल्लाका यी किशोरीले जीवनमै पहिलोपल्ट गाडी चढे । पहिलोचोटि विमान चढे । उनीहरू सबैले अचम्मको अनुभव बटुले । मुगुदेखि नेपालगन्ज आउँदा रितालाई डर लागिरहयो । ‘पहिलोचोटि प्लेन चढ्दा कुन खोलामा खसिने हो कि भन्ने लागिरहयो,’ उनले भनिन्, ‘जहाज चढ्नुअघि झाँक्रीले दिएको चामल पनि छर्कियौं ।’ जहाज चढेपछि सबैजना चिच्याए । कतिले त बान्ता पनि गरे । कतिले पछिसम्मै कान दुखेको सुनाए ।

    काठमाडौंबाट टर्कीको राजधानी इस्तानबुल पुग्न ८ घण्टा लाग्यो । टर्कीदेखि स्पेनको बार्सिलोना साढे ३ घण्टामै पुगियो । जहाजमा खानेकुरा दिइँदो रहेछ भन्ने कुरा उनीहरूले पहिलोपल्ट थाहा पाए । तर रिंगटा चलेर कसैलाई खानै मन लागेन । ‘दुई दिनसम्म भोकै बस्यौं,’ अर्की छात्रा सत्यलक्ष्मी बूढाले भनिन्, ‘बरु जुस मात्रै पियौं ।’

    मुलुककै विकटमध्येको जिल्ला हो मुगु । हिउँमा फुटबल खेल्ने बानी परेका किशोरीले सुरु गरेको क्लबको नाम हो, टिम रारा । उनीहरूले फुटबल खेल्न थालेको धेरै भएको छैन । ६ महिनाअघि मुगुको एउटा एफएम रेडियोमा सूचना बज्यो । १४ वर्षमुनिका छात्राहरूको फुटबल प्रतियोगिता हुँदै छ । जिल्ला स्तरमा छनोट हुनेले स्पेनमा हुने फुटबल प्रतियोगितामा भाग लिन पाउनेछन् । यो सूचना धेरै किशोरीका कानमा पर्‍यो । तर सुरुमै विश्वास लागेको थिएन । धेरै किशोरीका अभिभावकले फुटबल खेल्नै दिएनन् । ‘फुटबल नखेल, छोरी मान्छे बिग्रन्छ भन्थे,’ महाकाली मावि, रोबामा कक्षा ६ मा पढ्ने रोशनी कामीले भनिन् ।

    तर जसले जे भने पनि मुगुका यी किशोरीले हिम्मत हारेनन् । उनीहरू स्कुल र घरबाट भागेर फुटबल खेल्न जान्थे । मुगुमा ६ महिनाअघि भएको फुटबल प्रतियोगितामा जिल्लाभरिबाट १० टिमका १ सय ४० जनाले भाग लिए । त्यसमध्ये सुरुमा ३१ जना छानिए । त्यसबाट पनि अन्त्यमा स्पेन जानका लागि १७ जना टनौटमा परे । उनीहरूलाई स्पेनमा आयोजित ‘डोनास्टिक कप फुटबल’ प्रतियोगितामा भाग लिने बन्दोबस्त ‘सुनाकली’ डकुमेन्ट्रीका निर्माता पत्रकार भोजराज भाटले मिलाएका हुन् ।

    मुगुमा फुटबल मैदान छैन । भिरालो जमिनमा, जाडोयाममा हिउँमै उनीहरू फुटबल खेल्छन् । काठमाडौं आउनुअघि उनीहरूले मुगुकी फुटबलर सुनाकलीलाई मात्र चिन्थे । यता आएपछि मेस्सी, रोनाल्डो, नेयमारका बारेमा थाहा पाए । टेलिभिजनमा हालैको विश्वकप फुटबल हेरे । त्यसपछि त खेलमा झन् चासो बढ्न थाल्यो ।

    गएको असारमा स्पेनमा आयोजित ‘डोनास्टिक कप’ प्रतियोगितामा उनीहरूले भाग लिए । त्यहाँ विश्वका ३४ देशका ६ सय ३० टिमबाट ७ सय खेलाडी सहभागी थिए । नेपालका १७ किशोरीमध्ये संगीता थापा र विपना मल्ल किपर हुन् भने बाँकी सबै खेलाडी । उनीहरूले ४ टिमसँग खेले । जित हात पार्न नसके पनि उनीहरू अर्को पटक जित्ने हिम्मत बटुलेर फर्किए ।

    स्पेनमा पुगेका बेला सबैले समुद्र किनारमा पौडी खेले । नुनिलो पानी चाखे । ‘समुद्रको छालले हुत्याउँदा निकै डर लाग्यो,’ रिताले सुनाइन्, ‘पौडी खेल्न भने रहर लाग्छ ।’ उनीहरूले मेस्सी र रोनाल्डोले फुटबल खेलेको ग्रान्ड नोउ फुटबल स्टेडियम र खेलाडीले लगाउने गोल्डेन बुट, जर्सी आदि देखे । पुराना चर्च पनि देखे । स्पेन पुग्दा पनि रारा घुमेको र हिउँमा खेलेको सम्झिए ।

    स्पेन यात्राले मुगुका किशोरीलाई धेरै कुरा सिकाएको छ । अरू मानिससँग बोल्न, व्यवहार गर्न, आफ्नो कामप्रति जिम्मेवार बन्न र असल नागरिक बन्न सिकाएको छ । ‘घर पुगेर स्पेनमा देखेका, बुझेका कुराहरू सुनाउन आतुर छु,’ सुनमतिले आफ्नो इच्छा सुनाइन् । मुगु फर्केर गर्नै पर्ने धेरै योजना छन्, यी किशोरीका । जस्तो कि गाउँघरमा बालविवाह अझै छ ।

    ‘सडक नाटक र खेलकुदमार्फत पनि यस्तो कुरीति हटाउन जनचेतना जगाउनेछौं,’ उनीहरूले भने, ‘अब त हामी पनि बाठा भइसक्यौं ।’ मुगुका यी सबै किशोरीको मुहारमा पहिलाभन्दा अझ उज्यालिएको छ । मनमा पनि आत्मविश्वास बढेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट