बलराम बानियाँ आफै मरे कि मर्न बाध्य बनाइए ?


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन ३१, २०७७

  • बलराम बानियाँ नेपालको सबैभन्दा ठूलो सञ्चार गृहमा काम गर्थे । यो देशमा उनको सबैतिर पहुँच पनि थियो । साथीभाई, मिडिया, नेता सबैलाई हार–गुहार गर्न सक्थे । समाजको लागी बाटो देखाउन सक्थे ।

    बानियाँको केस हेर्दा असुरक्षाको तह त्यो सम्म पुगेको हो । सबैतिरबाट आशा गुमाएको अबस्था छ ।

    धेरै पत्रकारहरुलाई यस घटनाले झस्काएको छ । हामी अर्काको समस्यामा कति संबेदनहिन भईसकेका छौं भन्ने यो गतिलो उदाहरण पनि हो ।

    कस्तो समाज हामी बनाउँदैछौ ? जुन संस्थामा हामी जीन्दगी बिताउँछौ, त्यहाँ भर पर्न नसक्ने अबस्था छ । मिडियामा पुर्न:संरचना गर्नु पर्ने बेला आएको छ । सञ्चारकर्मीहरुलाई किन मिडिया हाउसले सुरक्षा दिन सक्दैनन् ? यो गम्भिर प्रश्न खडा भएको छ ।

    जसरी राजनीतिक दल भित्र सिन्डिकेट छ, त्यसरी नै मिडियामा पनि सिन्डिकेट देखियो । मानिसले दु:ख परे कहाँ जाने ? सर्बसाधारणलाई समस्या पर्दा कहाँ जाने ? सञ्चारगृहले आफ्ना सहकर्मीको दु:खलाई बुझ्नु पर्ने हो । अर्को कुरा मिडियामा व्यवसायीकता भएन । यो संरचनागत समस्या हो । व्यक्तिगत समस्या होईन । पत्रकारितामा सुरक्षा छैन । बलरामले हाम फालेर मरे पनि जिउँदै मर्ने पत्रकारहरु धेरै छन् । धेरै बिचलित पनि छन् । कोडिभले धेरै असर गरेको क्षेत्र भनेको स्वास्थ्यकर्मी र मिडियाकर्मीलाई हो ।

    बलराम बानियाँ एक जनाको मृत्यु मात्र हैन । समाजले आदर्श ठानेको व्यक्ति गुमायो । यसले समाजलाई बढी निरासतातिर लैजान्छ । निरासता अहिले सबै तहमा पुगेको छ । यसमा राजनीति पनि जिम्मेवार छ । राजनीतिले हामी सबैलाई थकाउँदै लगेको छ । जनताहरु प्रश्न सोध्न पनि दिक्क भईसके । सबै समस्याको समाधान भनेको बाग्मतीमा गएर हेलिनु त होईन । बलरामले धेरै प्रश्नहरु हामी बाँचेकालाई छाडेर गएका छन् । हाम्रो राज्यको संरचना, मिडियाको संरचना फेरिनु जरुरी छ । मिडियाकर्मी आफै पनि सजग हुनुपर्छ । मिडिया हाउसले पनि आफ्ना सहकर्मीहरुका लागी गम्भिर भएर सहयोग गरिदिनु पर्छ ।

    मिडिया हाउसभित्र मेडिकल डाक्टर, काउन्सिलर पनि हुनु जरुरी छ । यो कुरा चाहिन्छ । डिप्रेसन, अल्कोहलिजमबाट बाहिर धेरै बाहिर आउथे । आर्थिक रुपमा सहयोग गर्ने माध्यम पनि चाहियो । इन्सुरेन्सको पनि व्यवस्था हुनु पर्छ । धेरै पत्रकारले तलब पाएका छैनन् । यसमा ठूलो प्रश्न भनेको धेरै पत्रकारले यो समयमा पैसा नपाई काम गरिरहेका छन् । कतिपय निकालिएका छन् । तर, किन आवाज उठाउँदैनन् ?

    कलमले हार्दा समाजमा कसले जित्छ ? सबैको हार हो नि । कलमले हार खानु भएन । निरासताको प्रतिबिम्ब हो । मानिसले आफ्नो दु:ख साँट्न पाएन भने खुसी हुन सक्दैन । मिडियाले पस्किने विषयवस्तुहरूमा पनि हेरफेर हुन जरुरी छ । मिडियामा आशा र उत्साहका समाचारहरु छैनन् । निरासा छाउने कुरा बढी देखिन्छन् । धेरै पत्रकारहरुमा बलराम बानियाँको जस्तो बिचलन छ । यो बलरामको मात्र समस्या हैन । यसले मिडिया, मिडियाकर्मी, पत्रकारिता पेशाका चुनौती उजागर गरेको छ । यी सबै कुरालाई बिर्सेर जाने हो भने बलरामप्रति अन्याय हुन्छ ।

    बानियाँले कसै न कसैलाई आफूमा भएको समस्या राख्नुपथ्र्यो । पोख्नु पथ्र्यो । हाम्रा कमजोरी, अफ्ठयारा छन् । पत्रकारका पेशागत संगठनले पनि जिम्मेवारी लिनुपर्छ । यीनिहरु पेशाका पक्षमा हैन, दलका पक्षमा छन् । बलरामको मृत्यु अभाबको मृत्यु हो । एक इमानदार पत्रकारले आर्थिक अभाब भएर मर्नु पर्ने अबस्था आयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार